विमानस्थलमा तोडफोड गर्ने सांसद साह विमानस्थलबाटै पक्राउ


२८ आश्विन २०७६, मंगलवार
sansad Pramod

काठमाडौं, २८ असोज । जनकपुर विमानस्थलमा सोमबार तोडफोड गरेका प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंबाट ओखलढुङ्गा जाँदै थिए ।

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा तोडफोड गरेका थिए । उनले विमानस्थलका कर्मचारीमाथि समेत अभद्र व्यवहार गरेका थिए ।

सांसद साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा मा मुद्दा दर्ता भएको थियो । मंगलबार विहान १० बजे जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएसँगै प्रहरीले पक्राउ गर्नका लागि काठमाडौस्थित प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । उनले सोमबार जनकपुरबाट काठमाडौँ उडान भर्ने क्रममा विहान ११ः४० मा आउनुपर्ने बुद्ध विमानले डिले गरेको भन्दै काउण्टर तोडफोड गरेका थिए ।

सो क्रममा बुद्ध एयर जनकपुरका व्यवस्थापक प्रमुख विजयप्रसाद सिंहले सांसद साहलाई कुनै पनि हालतमा उडान भर्न नदिने भने पनि पछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जान निर्देशन दिएका थिए ।
के छ कानूनमा कारवाहीको व्यवस्था ?

उडान ऐन २०१५ अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने कानूनी प्रावधान छ ।

त्यसैगरी विमानस्थल सुरक्षाविरुद्धको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्र भित्र वा बाहिर रहेका संचार तथा उपकरण सहायक, दृष्टिगत सहायक, मौसम तथा जलवायू सम्बन्धि उपकरण, अग्नी निवारण तथा जीवनोउद्धार, सेवा सम्बन्धी यन्त्र तथा उपकरण, सुरक्षा सम्बन्धी अन्य उपकरण तथा यन्त्र तथा हवाई उडानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धी अन्य यन्त्र उपकरण भवन, धावन मार्ग, धावन मार्ग तर्फ जाने टेक्सी वे, विसान, वायू यान राख्ने स्थान आदी वा सो सम्बन्धी मालसमान कुनै प्रकारले पूर्ण वा आंशिक रुपमा विगारे, भत्काए, क्षति पुर्‍याए, वा नष्ट गरेमा विमानस्थल सुरक्षा विरुद्धको अपराध मानिने उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७