गुणस्तर परीक्षणका लागि लगिएको सुन विभागबाटै हरायो


२८ आश्विन २०७६, मंगलवार
banijya

काठमाडौं, २८ असोज । गुणस्तर परीक्षणका लागि भन्दै नमूना संकलन गरेर लगिएको सुन तत्कालीन वाणिज्य तथा आपूर्ति विभागबाटै हराएको छ ।

झण्डै सय वटा पसलबाट गुणस्तर परीक्षणका लागि भन्दै नमूना संकलन गरी लगिएको सुन गायव बनाइएको सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले जनाएका छन् ।
२०६९ सालदेखि उपत्यकाका ४० र उपत्यका बाहिरका करीव ६० वटा सुनचाँदी पसलबाट परीक्षणका लागि नमूना संकलन गरिएको तर, अहिले उक्त सुन गायव पारिएको शाक्यले आरोप लगाएका छन् ।

विभागका कर्मचारीले एउटा पसलबाट एकदेखि दुई तोलासम्म सुन गुणस्तर परीक्षणका लागि भन्दै लगेको जानकारी दिंदै शाक्यले भने, ‘परीक्षणपछि रिपोर्ट पनि आइसकेको तर, हाम्रो सुन सात वर्ष बितिसक्दा समेत फिर्ता भएन ।

यता वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले पनि सुन फिर्ता नगरिएको स्वीकारेका छन् । उनले उक्त समयमा आफू नरहेको र त्यसबारे छानविन गरिने बताए । उनले थपे, ‘अनुगमनमा गएका कर्मचारीले सुन ल्याएका हुन् । फिर्ता गरेका छैनन् भन्ने कुरा सत्य हो । क–कसको पालामा त्यस्तो भएको रहेछ म छानविन गर्छु ।’

महानिर्देशक गौतमले जसरी पनि सुन फिर्ता गरिने बताएका छन् । दुई वर्षअघि वाणिज्य तथा आपूर्ति विभागको नाम परिवर्तन गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग बनाइएको हो ।

तत्कालीन वाणिज्य तथा आपूर्ति विभागमा सुन उठाइएको समयमा गोकुलप्रसाद धिताल, कुमार दाहाल र नारायणप्रसाद विडारी महानिर्देशक थिए । यस्तै अनुगमन शाखामा निर्देशक लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्वासे थिए । श्रेष्ठ र बेल्वासेले विभागमा जानकारी नै नगराई उपत्यका बाहिर गएर नमूना संकलनका लागि भन्दै सुन पसलबाट सुन उठाएर ल्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७