प्रवासी नेपालीलाई देशसँग जोड्न एनआरएनएमा मेरो उम्मेदवारी : अर्जुनकुमार श्रेष्ठ


२८ आश्विन २०७६, मंगलवार
arjun kumar shrestha

हालको फलेवास नगरपालिका वडा नम्बर ८ पर्वतमा जन्मेका ४६ वर्षीय अर्जुनकुमार श्रेष्ठ प्रवासी नेपालीहरुबीच परिचित अनुहार हुन् । एनआरएनए अभियान र व्यवसायमा बेग्लै नाम बनाएका श्रेष्ठले बेल्जियमलाई कर्मभूमी बनाएर काम गरीरहेका छन् ।

स्नातकोत्तर पढ्दा पढदै केही गरेर बाँच्नु पर्छ भन्ने मान्यता राख्दै व्यवसायी बनेका श्रेष्ठले म्याग्दी र पर्वतमा चार वर्षकै मेहनतमा सफल उद्यमी र समाजसेवीको रुपमा आफूलाई स्थापित गरे ।

जनयुद्धको बेला थियो, व्यवसायमा पनि असर पुग्न थाल्यो । अनि उनले विदेश जानेबारे सोच्न थाले । त्यसपछि उनी युरोपको बेल्जियम हानिए । मेहनत र लगाव भए जहाँ गए पनि केही गर्न सकिन्छ भन्ने भनाइ उनले बेल्जियम गएर पनि प्रमाणित गरिदिए । १८ वर्षको बेल्जियम बसाइमा धेरैले चिन्ने गरी आफूलाई स्थापित गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय सदस्य, युरोप संयोजक र राष्ट्रिय सचिव समेत भइसकेका श्रेष्ठ मंगलबारबाट सुरु भएको महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । श्रेष्ठको व्यवसायिक जीवन र गैरआवासीय नेपाली संघको चुनावबारे गरिएको कुराकानीकोको सम्पादित अंश : 

नेपालदेखि युरोपसम्मको यात्रा फर्केर हेर्नुहोस् त ?

मैले ०५४ पुस १ गते म्याग्दीको बेनीमा युगल मेडिकल शुरु गरेको थिएँ । त्यसको ठिक एक वर्षपछि कुश्मामा त्यसैलाई विस्तार गरें । क्लिनिक पनि त्यसैमा थियो, २२ वटा कम्पनीका औषधि बेच्ने गरेको थिएँ । त्यतिबेला १० भारुको औषधि ४० नेपालीसम्ममा बेचिन्थ्यो । औषधि व्यवसायीहरुको निकै मोनोपोली थियो । हामीले भारुको नेपाली मूल्य अनुसार बेच्यौं । कतिले नक्कली बेच्यो पनि भनेका पनि थिए तर पछि उपभोक्ताले हामीलाई विश्वास गरे ।

त्यतिबेला मैले औषधि, निर्माण व्यवसायका साथसाथै पर्वत जेसिजको कार्यकारी उपाध्यक्षको रुपमा र साहित्य विद्यामा पनि सेवा गरें । त्यही बेला पुस्तकालय खोल्यौं । कुश्मा शहरी विकास समिति बनायौं, त्यतिबेला नै ढल, बाटो विस्तार शुरु भएको हो । त्यही समितिले हरेक दिन फोहर संकलन गराउन थाल्यो त्यो अहिलेसम्म सञ्चालन भइरहेको छ । पर्वत उद्योग वाणिज्य संघको महासचिव पनि भएँ । ११८ जना मिलेर कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था खोलियो, अहिलेसम्म राम्रो चलेको छ । त्यसको महासचिव र प्रबन्धक भएर सेवा गरेको थिएँ ।

त्यतिबेला रेमिट्यान्स आउन गाह्रो थियो, त्यसलाई सहज बनाउन २००३ मा धौलागिरीमै पहिलो पटक वेस्र्टन युनियन खोलें । कम्प्युटर इन्सिच्युट खोलेर विद्यार्थीलाई कम्प्युटर पढ्न प्रेरित गरें । यति धेरै काम गरिरहकै अवस्थामा पनि म ०५८ साल जेठ १५ गते अर्थात सन् २००४ मा बेल्जियम गएँ । विदेश जानुको मुख्य कारण द्वन्द्व नै हो । राज्य र द्वन्द्वरत पक्ष दुबैले आफ्नो पक्षमा काम गरोस् भन्ने चाहन्थे तर त्यस्तो गर्नु उपयुक्त लागेन । गाउँमा खच्चर पठाउन र आफ्नो पैसा उठाउन पनि गाह्रो हुने अवस्था थियो ।

त्यसो भए बाध्यताले विदेश जानु भएको रहेछ ?

  • हो द्वन्द्वले युरोप जान बाध्य भएँ । जबकी हामी बेल्जियम गएको छ महिना अघि पनि म जेसिजको कार्यक्रममा युरोपकै कोपनहेगन गएको थिएँ उतै बस्ने सोच भएको भए बस्थे । पछि परिस्थिति निकै प्रतिकूल बन्दै गएपछि नेपाल छोडेर अर्को जीवन खोज्न थालें । म विदेश होइन स्वदेशमै केही गरेर दुई छाक खान पुगोस् भन्ने सोचको मानिस हुँ, त्यही कारण विद्यार्थी हुँदै अष्ट्रेलियाको मेलवर्न जाने अवसर त्यागेको थिएँ ।

बेल्जियममा पनि व्यवसाय गर्दै हुनुहुन्छ, खासमा के–के गर्दै हुनुहुन्छ ? लगानी नेपालबाटै लग्नु भएको हो कि उतै कमाएर व्यवसाय थाल्नु भएको हो ?

मैले नेपालबाट त केही पनि लगेको होइन । बजारमा रहेको ५८ लाख र स्टक औषधिको ४३ लाख माया मारेर विदेश गएँ । बेज्जियम गएपछि मैले शुरुमा एक इजरायली साहुकोमा रेष्टुेरेन्ट मेनेजरको काम पाएँ । त्यसको दुई वर्षपछि २००६ मा आफ्नै व्यवसाय गर्न थालें । पाँच होटल, रेष्टुरेन्ट, सुपर मार्केट, टिकटिङ र रेमिट्यान्स गरेर मैले १८ वटा व्यवसाय गरेको थिएम् । तर अहिले कति बेचें, कति बन्द गरे । खासमा म व्यवसाय सीमित बनाउँदैछु ।

द्वन्द्व सकियो, राजनीतिक स्थिरता कायम भएको छ, अब नेपालमा पनि केही गर्दै हुनुहुन्छ कि ?

द्वन्द्व सकिएपछि हामीले समूहमा मिलेर जलविद्युतमा हात हाल्यौं । नेपालमै केन्द्रीत हुँदैछु, त्यसैले बेल्जियममा सीमित काम गर्नका लागि कतिपय बेचें, कति बन्द गरे । चार वर्षदेखि चितवनको भरतपुर नगरपालिकमा–२९ जुगेडीमा मेरो नेतृत्वमा औषधि उद्योग बनाउँदैछौं । अबको आठ महिनामा त्यो सञ्चालनमा आउँछ ।

स्वदेशी उत्पादनका औषधिलाई प्राथमिकता दिने सरकारी नीतिले हामीलाई सजिलो भएको छ । आगामी पाँच वर्षमा हामीले ९४ किसिमका औषधि उत्पादन गर्ने लक्ष्य राखेका छौं । अहिले ४४ अर्बको औषधि बाहिरबाट आउँछ । हाम्रो उद्योगले धेरै पैसा विदेश जानबाट रोक्ने छ । हामीले युरोपियनस्तरको औषधि बनाउँदैछौ ।

कसको प्रेरणाले व्यवसायी बन्नु भयो ? घुमीफिरी औषधिमै हात हाल्नुको कारण के होला ? अबको योजना के छ ?

मैले एसएलसी पास गर्नुअघि रसिया पढ्न जाने चलन थियो । म पनि जाने सोचमा थिएँ तर, त्यसैबेला रसियामा राजनीतिक उथलपुथल भयो । छात्रवृत्ति बन्द भयो र मैले जान पाइनँ । मेरो घरको वातावरण राजनीति गर्ने, सरकारी जागिर खाने थियो । जस्तो मेरो बुवा राजनीति गर्नु हुन्थ्यो । माइलो बुवा न्याय क्षेत्रमा र अर्को काका निजामति क्षेत्रमा, म भने व्यवसायमा लागें । उहाँहरुको इच्छा पनि निजामतिमा लागोस् भन्ने थियो तर, एक पटक प्रयास गरे पनि सबै परीक्षा दिन सकिनँ ।

आज म सम्झन्छु त्रिचन्द्रमा आइएस्सी पढ्दा मेरो साथी थिए अरिसुधन प्रधान । उनको दाइको धर्मपथमा एके मेडिकल छ । म उनीसँग त्यहाँ गइरहन्थे । अनि लाग्यो औषधिको क्षेत्रमा लाग्नु पर्छ, सेवा पनि हुने कमाइ पनि । त्यतिबेला महेश्वर श्रेष्ठ मेरो भिनाजु बेनीमा जनस्वास्थ्य अधिकृत हुनुहुन्थ्यो । उहाँले पनि औषधि क्षेत्रमा लाग्नु राम्रो हुने सुझाव दिनुभयो । साइन्सको फिजिक्सको विद्यार्थी भएकाले औषधिमा रुची हुनु स्वभाविक होला पनि ।

नेपालमा भएको भए औषधिको क्षेत्रलाई नै निरन्तरता दिन्थे । तर, बेल्जियममा भाषाको समस्याले त्यता लाग्न सकिनँ । रक्सी, चुरोट बेच्ने, उत्पादन गर्ने भन्दा औषधि बेचेर, उत्पादन गरेर जीवन बचाउनु पवित्र काम हो भन्ने लाग्छ । त्यसैअनुसार फेरि नेपाल आएर चितवनमा औषधि उद्योग खोल्दैछौं । म अब बेल्जियम, टर्की र नेपालमा केही गर्नुपर्ने भन्ने योजनाले लागेको छु । नेपाल जन्मथलो, बेल्जियम कर्मथलो र टर्कीको उद्योग वाणिज्य संघले मलाई विशेषरुपमा सम्झने भएकाले त्यता केन्द्रीत हुँदैछु ।

नेपाल र बेल्जियम गएपछि कति लगानीमा व्यवसाय शुरु गर्नु भएको थियो ?

हेर्नुस् नेपालमा व्यवसाय शुरु गर्दा मैले ३५ हजारबाट शुरु गरेको थिएँ । त्यसमध्येमा ३० हजार ऋण लिएर जुटाएको थिएँ । पछि त्यो ३० हजार एक महिनामै फिर्ता गरें । बेल्जियममा पनि ३० हजार युरोबाट कारोवार थालेको हो । अहिले मेरो अवस्था कहाँ पुग्यो हिसाव गरेको छैन । मलाई धेरै कमाउनु छैन, साँझ विहान दुई छाक खान र मसँग सहयोगको अपेक्षा गर्नेलाई केही दिन पाइयोस् भन्ने हो । चमत्कारै भए अर्कै कुरा, स्वीकार गरौला, नत्र मलाई मलाई फोव्सको धनाड्य सूचीमा पर्नु छैन ।

व्यवसायमा घर परिवारको सहयोग कस्तो छ ?

म घुमिरहन्छु तपाईले देख्नु भएकै छ । श्रीमती वर्षा श्रेष्ठले व्यवसायमा सहयोग गरेकाले नै मलाई सजिलो भएको हो । खुशीको कुरा मेरो जेठो छोरा पनि आफ्नै चाहनाले मेरै बाटोमा आउँदैछ । उ बिजनेश इन्जिनियरिङ गर्दछ । अभिभावक हिंडेको बाटोमा छोरा पनि हिंड्न खोज्नु हाम्रो कामको नैतिक समर्थन गरेको जस्तो हो । यसले पनि हामीलाई हौसला प्रदान गर्छ ।

विदेश गएपछि समाज सेवा कसरी गरिरहनु भएको छ ?

म समाज सेवा र व्यवसाय गर्नकै लागि जन्मेको हो जस्तो लाग्छ । त्यसैले समाज सेवा र व्यवसायमा असाध्यै रुची राख्छु । बेल्जियम गएपछि मैले शुरुमा २००९ मा नेपाली व्यवसायी संघको अध्यक्ष भएर ३० महिना काम गरें । त्यतिबेला त्यो सानो देशमा ४०० नेपालीलाई व्यवसायमा लाग्न प्रेरित गरें । २०११, २०१३, २०१५ मा क्रमशः गैरआवासीय नेपाली संघमा राष्ट्रिय सदस्य, युरोप संयोजक, राष्ट्रिय सचिव भएर काम गरें । २०१७ मा महासचिवमा हारे । समाज सेवाकै लागि म गैरआवासीय नेपाली संघमा क्रियाशील छु । यस पटकको चुनावमा उपाध्यक्ष उठ्दैछु ।

उपाध्यक्ष पदमा लड्दै हुनुहुन्छ, तपाईका चुनावी एजेण्डा के‐के छन ? चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

समृद्ध नेपाल नभएसम्म विदेशमा बस्ने कोही पनि नेपालीको व्यक्तिगत समृद्धिले अर्थ राख्दैन, तसर्थ मुलुकको समृद्धिका लागि लगानी भित्रयाउने प्रयास गर्नेछु । विदेशमा सिकेका सीपलाई नेपालमा प्रयोग गर्ने वातावरण वनाउने छु । वैदेशिक रोजगारीका क्रममा समस्यामा रहेका नेपालीको राहत र उद्धारका लािग पहल गर्नेछु ।

गैरआवासीय नेपालीलाई एकत्रित गर्दै संस्थालाई बलियो बनाउन सक्रिय हुनेछु । नेपालमा व्यक्तिगतरुपमा भइरहेका परोपकारी कार्यलाई प्रोत्साहित गर्दै संस्थागत परोपकारी कामलाई प्राथमिकता दिनेछु । संस्थालाई थप चुस्त, पारदर्शी र व्यवस्थित बनाउन लाग्ने छु । ट्रेनिङ सेन्टर स्थापना गर्न पहलकदमी लिनेछु । एनआरएन स्पोर्ट एकेडेमी स्थापना र सञ्चालन गर्न सम्पूर्ण समय सहित योगदान दिने मेरा मुख्य एजेण्डा हुन् ।

प्रवासी नेपालीहरुलाई सबै रुपमा नेपालसँग जोड्ने अभियान हुनेछ । देशमा केही गर्न चाहने प्रवासी नेपालीहरुलाई देशभित्र वाताबरण बनाउनका लागि पनि ठोस काम गर्नेछु । प्रवासीमा रहेका नेपालीहरुलाई देशसँग जोड्नका लागि पुलको रुपमा काम गर्नेछु ।

जहाँसम्म चुनावको कुरा छ यसपटक जित्छु भन्नेमा पुरै विश्वस्त छु । पहिले एक्लै लड्दा हार्छ भन्ने पक्का हुँदा पनि एक मात्र महासचिव पदमा राम्रो भोट पाएँ । यसपटक चार उपाध्यक्ष पद छन् । एक भोट मलाई दिन साथीहरुलाई गाह्रो हुन्न । पहिले सहयोग नगरेका साथीहरु आफैले पहिले सहयोग गर्न पाइएन यसपालि सहयोग गर्छौ भन्नु भएको छ । यस्ता धेरै कारणले म जित्नेमा ढुक्क छु । गैरआवासीय नेपाली साथीहरुलाई उपाध्यक्ष पदमा मलाई सहयोग गरिदिन हार्दिक अनुरोध समेत गर्दछु ।

प्रस्तुती :  प्रकाशविक्रम शाह

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७