अब म कप्तानका रुपमा फर्किन्न, क्यानको नेतृत्वमा आउँछु : पारस खड्का


२८ आश्विन २०७६, मंगलवार
paras khadka 1

काठमाडौँ, २८ असोज :  राष्ट्रिय टोलीको कप्तानबाट अप्रत्यासित रुपमा राजीनामा दिएका क्रिकेटर पारस खड्काले अब कप्तानको रुपमा आफू नफर्किने बताएका छन् । खड्काले यो समयलाई मैले कप्तानी छाड्ने सहि समय आफूले ठानेको बताए ।

राजीनामा घोषणापछि आज सञ्चारकर्मीसँग कुरा गर्दै पारसले फेरि कप्तानको जिम्मेवारी लिन आग्रह आयो भने पनि स्वीकार नहुने बताए । उनले भने, ‘फेरि पनि मलाई कप्तानको जिम्मेवारी लिन आग्रह आयो भने त्यो स्वीकार हुनेछैन। म कप्तानका रुपमा फर्कन्नँ। खेलाडीको रुपमा भने छानिएँ भने योगदान गर्न तयार छु । आजकै दिनबाट मेरो कप्तानको यात्रा सकिएको छ ।’

खड्काले क्यानको निलम्बन फुकुवासँगै नयाँ ढंगले नेपाली क्रिकेट चलोस् भन्ने चाहनाले राजीनामा दिएको बताए । उनले भने, ‘क्यानमाथिको निलम्बन फुकुवामा मैले पनि आफ्नो तर्फबाट सहयोग गरेँ । फुकुवासँगै नेपाली क्रिकेट अघि बढोस् भन्ने मेरो चाहना हो । त्यही भएर मैले राजीनामाको निर्णय गरेको हुँ ।’

खड्काले भविष्यमा क्रिकेट संघको नेतृत्व गर्ने आफ्नो चाहना रहेको बताए । उनले भने, ‘भविष्यमा क्रिकेट संघको नेतृत्व गर्न चाहान्छु । नेतृत्व गर्न सजिलो छैन जस्तो लाग्छ । अहिले मैले आफूलाई खेलाडीको रुपमा मात्र प्रस्तुत गरेको छु। भोलि पदाधिकारी भएर आउने हो भने क्रिकेटको विकास लागि पनि काम गर्नुपर्यो ।’

उनले आफ्नो १० वर्षको कप्तानको यात्रालाई सन्तोषजनक रुपमा लिएको बताए । खेलाडी र प्रशिक्षकहरुको ठूलो साथ रहेको उनले बताए । भने, ‘मैले १० वर्षको कप्तानको यात्रालाई सन्तोषजनक रुपमा लिएको छु। विशेषगरी खेलाडी र प्रशिक्षकहरुको ठूलो साथ रह्यो। मेरो लागि सबैभन्दा बलियो पक्ष भनेको खेलाडीको समर्थन थियो। सबैको नेपाली क्रिकेटलाई जसरी हुन्छ माथि पुर्र्‍याउने सोच थियो। त्यो सोच एउटा शक्तिमा बदलिँदा हामी यहाँसम्म आइपुग्यौँ।’

‘म एकदमै खुसी छु’

 paras khadka 2
पारसले आफू एकदमै खुसी भएको पनि बताए । सबैभन्दा राम्रो खेलाडी हुन नसके पनि इमान्दार व्यक्ति भएर सकेसम्म जिम्मेवारी पूरा गर्न कोसिस गरेको उनले बताए । उनले भने, ‘मेरो नेपालबाट क्रिकेट खेल्ने सपना पनि थिएन। तर भाग्यमा अर्कै कुरा लेखिएको थियो। जब यु-१५,यु-१९ हुँदै राष्ट्रिय टिमबाट खेल्ने मौका जुर्‍यो। खेल्ने मात्र होइन राष्ट्रिय टिमको कप्तानी गर्ने मौका पनि पाएँ। यो एकदमै राम्रो यात्रा थियो।’

क्रिकेटले नै आफ्नो परिचय दिएको उनले बताए । भने, ‘मेरो कप्तानको सबैन्दा खुसीको क्षण एकदिवसीय मान्यता पाउँदा र टी-२० विश्वकप खेल्दाको क्षण हो। दुखद क्षण भनेको हरेक खेल हार्दा हो। गत महिना हामीले सिंगापुरमा छनोट हार्दा दुखद रह्यो। हार्दा सबै कुरा हारिन्छ जस्तो लाग्छ।’

नयाँ नेतृत्वसँग ट्युनिङ नमिल्ने भएपछि राजीनामा दिनुभएको हो ? भन्ने प्रश्नमा पारसले भने, ‘नयाँ नेतृत्वसँग मेरो कुनै कुराकानी भएको छैन । क्यान निलम्बन भएदेखि नै उहाँहरुसँग मेरो संवाद भएको छैन । ट्युनिङ भन्दा पनि म एकजनाको कारण क्रिकेट नराम्रो नहोस् भन्ने चाहन्न । ट्युनिङ नमिल्ने भन्ने होइन ।’

पारसले अबको एक वर्ष कप्तानका रुपमा ज्ञानेन्द्र मल्लले जिम्मेवारी पाउनुपर्नेतर्फ संकेत गरे । तर कप्तानीको निर्णय प्रशिक्षक र क्यानले गर्ने उनको भनाइ छ । भने, ‘अब आउने नयाँ कप्तानलाई आफ्नो सुझाव दिएर सहयोग गर्न तयार छु। भविष्यको कप्तानको रुपमा मैले ज्ञानेन्द्र मल्ललाई लिएको छु।’

‘क्यानको खातामा बीसौँ करोड छ तर पूर्वाधार नै छैन’
उनले क्यानको नेतृत्वप्रति घुमउरो तरिकाले असन्तुष्टी समेत पोखे । उनले भने, ‘क्यानको खातामा बीसौँ करोड छ तर पूर्वाधार नै छैन भने त्यसको अर्थ हुँदैन। नेपाली क्रिकेटमा धेरै प्रतिभा छन्। अहिलेको उमेर समूहका खेलाडी हाम्रो पालाको भन्दा राम्रा छन्। व्यवस्थापन गर्न सके क्रिकेटको भविष्य राम्रो छ।

उनले क्रिकेट टिमले जबसम्म राम्रो गर्दैन राम्रा पदाधिकारी भएर केही काम नहुने बताए । उनले भने, ‘पदाधिकारी राम्रो भएर क्रिकेट टिमले राम्रो गर्छ भन्ने पनि छैन। एउटा मिश्रण हुनु पर्छ। क्रिकेट संघले खेलाडीलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्छ। भोलिका दिनमा पारस खड्काले मात्र कप्तानी गरेर, ज्ञानेन्द्र मल्लले मात्र रन हानेर वा सन्दीप लामिछानेले मात्र विकेट लिएर नेपालले जित्छ भन्ने हुँदैन। महत्वपूर्ण कुरा के हो भने खेलाडीको सोच एकजुट भएर नेपाली क्रिकेटलाई माथि पुर्‍याउनु पर्छ भन्ने छ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७