‘सबैभन्दा राम्रो खेलाडी हुन नसके पनि इमान्दार भएर जिम्मेवारी पूरा गर्न कोसिस गरिरहेँ’


२८ आश्विन २०७६, मंगलवार
paras khadka 1
  • पारस खड्का

म कप्तान भएको १० वर्ष भइसक्यो। सोमबार मात्र नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुक्यो। म आफैँ पनि कहिले निलम्बन फुकुवा हुन्छ भनेर कुरिरहेको थिएँ। हामी सम्पूर्ण खेलाडी र समर्थकका लागि एकदमै सकारात्मक समाचार हो।

हामीमा जहिले पनि ‘को कप्तान बन्यो, को अध्यक्ष बन्यो,कसले कति रन हान्यो र कति विकेट लियो?,’ भन्ने सोच छ। नेपाल क्रिकेटकको विकासका लागि अघि बढ्ने हो भने हामी व्यक्तिभन्दा बाहिर निस्कनु पर्छ।

अहिले क्रिकेटको नयाँ नेतृत्व अफ द फिल्ड (क्यान) मा आएको छ। अन द फिल्ड जे जति हामी खेलाडी छौं सबै मिलेर नयाँ सुरुवात गर्नु पर्छ। सबैका लागि नयाँ चुनौती छ। आसा गरौं आगामी दिनमा सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नु हुन्छ।

अबको कप्तान को बन्छ भन्ने मेलै निर्णय गर्ने कुरा होइन। किनभने मलाई पनि ‘तपाई कप्तान बन्दै हुनुहुन्छ तयार हुनु’ भनिएको थिएन। क्रिकेट संघले २००९ मा जिम्मेवारी दिनुभयो। मैले जतिसक्दो इमानदारीपूर्वक यो जिम्मेवारीलाई पूरा गर्ने कोसिस गरे।

अब कप्तान को बन्नुपर्छ भन्ने कुरा क्रिकेट संघका पदाधिकारीहरु, प्रशिक्षक र छनोटकर्ताले लिनु पर्छ। जो बने पनि नेपाल क्रिकेटको जित हुनु पर्छ।

म कप्तान भएर नेपाली क्रिकेट यहाँ आइपुगेको होइन। म कप्तानीबाट हट्दैमा नेपाली क्रिकेट खत्तम हुन्छ भन्ने पनि छैन। क्रिकेट भनेको हामी सबैको हो। आगामी दिनमा नेपाली क्रिकेटले अझै ठूलो सफलता हासिल गरोस्। कप्तान, खेलाडी र पदाधिकारी जो भए पनि सबैको सोच नेपाली क्रिकेट अगाडि बढाउने हुनुपर्‍यो। अनि मात्र हामीले अहिलेको भन्दा अझ राम्रो नतिजा ल्याउन सक्छौं।

मैले १० वर्षको कप्तानको यात्रालाई सन्तोषजनक रुपमा लिएको छु। विशेषगरी खेलाडी र प्रशिक्षकहरुको ठूलो साथ रह्यो। मेरो लागि सबैभन्दा बलियो पक्ष भनेको खेलाडीको समर्थन थियो। रोय डायस, पुबुदु दसानायके र उमेश पटवाल गरी तीन विदेशी प्रशिक्षक तथा नेपालका जगत टमाटा गरी चार जना प्रशिक्षकसँग काम गर्ने मौका जुर्‍यो। सबैको नेपाली क्रिकेटलाई जसरी हुन्छ माथि पुर्र्‍याउने सोच थियो। त्यो सोच एउटा शक्तिमा बदलिँदा हामी यहाँसम्म आइपुग्यौँ।

म एकदमै खुसी छु। आफूलाई भाग्यमानी ठानेको छु।

मेरो नेपालबाट क्रिकेट खेल्ने सपना पनि थिएन। तर भाग्यमा अर्कै कुरा लेखिएको थियो। जब यु-१५,यु-१९ हुँदै राष्ट्रिय टिमबाट खेल्ने मौका जुर्‍यो। खेल्ने मात्र होइन राष्ट्रिय टिमको कप्तानी गर्ने मौका पनि पाएँ। यो एकदमै राम्रो यात्रा थियो।

जीवनमा कुनै पनि कुरा स्थायी छैन।

यो समयको खेल हो। जीवनमा के चाहन्छु भन्ने कुरामा म सधैं स्पष्ट थिएँ। सबैभन्दा राम्रो खेलाडी हुन नसके पनि इमान्दार व्यक्ति भएर सकेसम्म जिम्मेवारी पूरा गर्न कोसिस गरिरहेँ। अब आउने नयाँ कप्तानलाई आफ्नो सुझाव दिएर सहयोग गर्न तयार छु। भविष्यको कप्तानको रुपमा मैले ज्ञानेन्द्र मल्ललाई लिएको छु।

क्रिकेटले नै मेरो परिचय दियो। मेरो कप्तानको सबैन्दा खुसीको क्षण एकदिवसीय मान्यता पाउँदा र टी-२० विश्वकप खेल्दाको क्षण हो। दुखद क्षण भनेको हरेक खेल हार्दा हो। गत महिना हामीले सिंगापुरमा छनोट हार्दा दुखद रह्यो। हार्दा सबै कुरा हारिन्छ जस्तो लाग्छ।

अर्कोतर्फ पहिला हामी सचिन तेन्दुलकर, सचिन तन्दुलकर भन्छौ अहिले विराट कोलही छ। आज पारस खड्का छ भोलि ज्ञानेन्द्र मल्ल वा सोमपाल कामी हुन्छ। तपाईँ ठाउँमा हुनुहुन्छ भने तपाईंले आफ्नो जिम्मेवारी पूरा गर्ने कोसिस गर्नुपर्छ।

अब नेपाली क्रिकेटलाई माथि पुर्याउन खेलाडीको मिहिनेतले मात्र पुग्दैन। सबैले आफ्नो काम गर्नुपर्छ। जो जो व्यक्तिहरु क्रिकेटमा हुनुहुन्छ उहाँहरुले जिम्मेवारी पूरा गर्नुपर्छ।

म सधैं सहज रुपमा टिम छाड्न चाहान्थे। टिम हारेर वा मैदानमा जितेर मैले कप्तान छाड्छु भन्ने सोचेको थिइनँ। मैले सधैँ टिमलाई प्राथमिकतमा राखेँ। मेरो जिम्मेवारी जहिले पनि टिमलाई कसरी जिताउन सक्छु भन्ने हो र थियो। त्यसैले मैले यो एक्कासी गरेको निर्णय होइन। कप्तानी छाड्नुअघि मेरो नजिकको मानिसहरुसँग के ठिक र के बेठिक भनेर कुरा गरेँ। अन्तिम निर्णय मेरै हो।

यो समयलाई मैले कप्तानी छाड्ने सहि समय ठानेको हुँ। किनभने क्यानमा नयाँ नेतृत्व आएको छ। उहाँहरुसँग एउटा असल व्यक्तिलाई कप्तान छान्ने अवसर छ। म खेलाडीको रुपमा भने अझै योगदान गर्न तयार छु। टिममा छानिएँ भने राम्रो खेल्नेछु। हाम्रो लक्ष्य टेस्ट मान्यता पाउनु हो। त्यसका लागि सबै जना मिलेर लाग्नुपर्छ।

अहिलेका लागि मैले कप्तानबाट ब्रिश्राम लिन चाहेको हुँ। मैले धेरै जिम्मेवारी निर्वाह गर्नु परेको थियो। २००९ देखि कप्तान, विगत ४ वर्षदेखि छनोटकर्ता, मेन्टर अनि खेलाडी त भैहाल्यो। सबै कुरासँगै राम्रो खेल्नु पर्ने जिम्मेवारी थियो।

नेपालका लागि अझै खेल्ने इच्छा भने छ। त्यसका लागि आफूले राम्रो खेल्नु पर्नेछ। क्रिकेट संघले अब छनोट समिति बनाउनु हुन्छ। नयाँ व्यवस्थान हुन्छ। उहाँहरुले निर्णय गर्नु हुन्छ ‘मैले नेपालबाट खेल्ने हो कि होइन’ भनेर।

विगतको कुरा गरेर कहिल्यै सकिन्न। अब कसरी अघि बढ्नेतर्फ सोच्नु पर्छ।

पारस खड्का भनेको नेपाल क्रिकेट होइन भनेर पनि बुझ्न पर्छ। किनभने धेरै राम्रा क्रिकेटर अहिले नेपालमा हुनुहुन्छ। सबै उस्तै प्रतिभाशाली हुनुहुन्छ। म भाग्यमानी भएकाले मैले अवसर पाएको हुँ। मैले चाहिएको बेला प्रदर्शन गरेकाले यहाँसम्म आइपुगेँ।

हामी व्यक्तिमा अड्कियौँ भने कहिले पनि अगाडि बढ्न सक्दैनौ। त्यसैले फ्यानदेखि खेलकुदका व्यक्तिहरुले क्रिकेट संघका पदाधिकारीलाई काम नगरेबापत प्रश्न गरिरहनुपर्छ।

पहिला रकमदेखि सबै पूर्वाधारको कमी थियो। अब सबै कुरा छ। अब यी कुरालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय क्रिकेट संघको काम हो।

क्रिकेट टिमले जबसम्म राम्रो गर्दैन राम्रा पदाधिकारी भएर केही काम छैन। पदाधिकारी राम्रो भएर क्रिकेट टिमले राम्रो गर्छ भन्ने पनि छैन। एउटा मिश्रण हुनु पर्छ। क्रिकेट संघले खेलाडीलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्छ। भोलिका दिनमा पारस खड्काले मात्र कप्तानी गरेर, ज्ञानेन्द्र मल्लले मात्र रन हानेर वा सन्दीप लामिछानेले मात्र विकेट लिएर नेपालले जित्छ भन्ने हुँदैन। महत्वपूर्ण कुरा के हो भने खेलाडीको सोच एकजुट भएर नेपाली क्रिकेटलाई माथि पुर्‍याउनु पर्छ भन्ने छ।

हामीले जसोतसो  खेलेर यहाँसम्म आइपुग्यौ। अब यो जोडजाड गरेको घरलाई बलियो बनाउने हो भने सबैको सहयोग चाहिन्छ। यसमा पदाधिकारीको भूमीका हुन्छ। क्रिकेटसम्बन्धि सबैले सहयोग गर्ने बेला आएको छ।

क्यानको खातामा बीसौँ करोड छ तर पूर्वाधार नै छैन भने त्यसको अर्थ हुँदैन। नेपाली क्रिकेटमा धेरै प्रतिभा छन्। अहिलेको उमेर समूहका खेलाडी हाम्रो पालाको भन्दा राम्रा छन्। व्यवस्थापन गर्न सके क्रिकेटको भविष्य राम्रो छ।

भविष्यमा क्रिकेट संघको नेतृत्व गर्न चाहान्छु। नेतृत्व गर्न सजिलो छैन जस्तो लाग्छ। अहिले मैले आफूलाई खेलाडीको रुपमा मात्र प्रस्तुत गरेको छु। भोलि पदाधिकारी भएर आउने हो भने क्रिकेटको विकास लागि पनि काम गर्नुपर्‍यो।

आगामी फेब्रुअरीमा अमेरिका र ओमान नेपाल आएपछि क्रिकेट लिगको पहिलो चरण सुरु हुनेछ। यो लिगको साढे २ वर्षपछि नेपालको क्रिकेटको भविष्य कस्तो हुन्ने भन्ने तय हुन्छ।

फेरि पनि मलाई कप्तानको जिम्मेवारी लिन आग्रह आयो भने त्यो स्वीकार हुनेछैन। म कप्तानका रुपमा फर्कन्नँ। खेलाडीको रुपमा भने छानिएँ भने योगदान गर्न तयार छु। आजकै दिनबाट मेरो कप्तानको यात्रा सकिएको छ।

(नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान पारस खड्काले कप्तानबाट २८ असोज २०७५ मा अप्रत्यासित रुपमा राजीनामा घोषणा गरेपछि पत्रकारहरुसँग राखेको धारणाको सम्पादित अंश)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७