दाइजोले खोस्यो सहनी परिवारको खुशी


२९ आश्विन २०७६, बुधबार
hatya 1 2

विराटनगर, २९ असोज । सानो घरको सिकुवामा सेतो कपडा बाँधेका वृद्ध पूजा गर्ने सुरसार गर्दै छन् । छेउमै घरको बरन्डामा एक महिला झोक्राएर बसेकी छिन् । आँगन सानो छ । घर बाहिर सडकमा रहेका गाउँलेका अनुहारमा पीडा र आक्रोश देखिन्छ ।

सोमबार बिहान विराटनगर–११ धुधुवाका ७२ वर्षीय उमालाल सहनीको घरको दृष्य हो यो । भर्खरै भारतको जोगवनीमा विवाह गरेर दिएकी छोरीको आफ्नै ज्वाइँबाट हत्या भएपछि सहनी परिवार ऋणसँगै हदैसम्मको पीडामा डुबेको छ । भने जति दाइजो दिन नसक्दा २२ वर्षीया छोरीको हत्या भएको छ ।

२३ फागुन ०७६ मा मनिकचन्द र आनन्दीदेवीले एक्ली छोरी रञ्जनाको भारत अररियाका २५ वर्षीय भीम बहरदारसँग विवाह गरिदिएका थिए । कपाल काट्ने पेसा गर्ने बहरदारसँग विवाहअघि र पछि गरी सहनी परिवारले मोटरसाइकलसहित दुई लाखभन्दा बढी रकम तिलक पनि दिएको थियो । ‘मागे जति दाइजो दिएकै थियौं, तर आज यस्तो भयो ।’ नातिनीको किरिया बसेका उमालालले भने, ‘रञ्जनालाई कुटेर मारेपछि हातखुट्टा बाँधेर खोलामा फालिदिएछन् ।’

बिहेपछि पनि पटक–पटक दाइजो मागेर हैरान
कवाडीको सामान संकलन गर्ने आनन्दी र दैनिक मजदुरी गर्ने मनिकचन्दले विवाहअघि ज्वाइँ खलकले मागेअनुसारको तिलक दिए । तर, पुगेन भन्दै ज्वाइँले पुनः मोटरसाइकल मागे । ऋण खोजेर सहनी परिवारले मोटरसाइकल किन्न ९० हजार भारु दिए । त्यसबाहेक ऋण भन्दै पटक–पटक भीम बहरदारले ५–१० हजार मागेर लगिरहन्थे ।

पछिल्लो समय सैलुन खोल्न भन्दै भीमले थप दुई लाख मागे । तर, रञ्जनाको परिवारले भनेजति रकम तुरन्त दिन सकेनन् । कवाडी संकलन गरेर बिक्री गरेर जोगाएको पैसाले छोरीको बिहे गरेर रित्तिएका उनीहरू ऋणमा समेत चुर्लुम्म डुबेका थिए ।

मागे जति दाइजो नआएपछि बहरदार परिवारले निर्घात कुटपिट गरी रञ्जनालाई मिरगञ्ज पुल नजिकै खोलामा फालिदिए । २२ वर्षीया छोरीको हत्या भएपछि सहनी परिवारमा पीडा थपिएको छ । ‘छोरीको बिहे गर्दाको ऋण तिर्न सकेको छैन,’ आनन्दीदेवीले भनिन्, ‘मेरो छोरीका हत्यारालाई कडाभन्दा कडा कारबाही होस् ।’

हत्यापछि छोरी लिन आउन भन्दै ससुरालीमा खबर
केही समयअघि मात्रै सहनी परिवारले भारतीय नागरिकसँग छोरीको मागी विवाह गरिदिएका थिए । भीमले दाजुसँग मिलेर भारतमै सैलुन पसल सञ्चालन गर्दै थिए । तर, दाजुभाइबीच विवाद बढेपछि पसल बेचे ।

त्यसपछि नयाँ पसल खोल्न पैसा माग्न रञ्जनामार्फत ससुराली पक्षलाई निरन्तर दबाब दिइरहे । ऋण काढेर विवाह गरेको भन्दै उनले श्रीमानको प्रस्ताव अस्वीकार गरिन् । उनले दाइजो माग्दै आफूमाथि कुटपिट भएको घटना पटक–पटक माइतमा सुनाउँथिन् ।

घरमा यातना पाएपछि अघिल्लो साता माइत आएकी रञ्जनालाई लिन २१ असोजमा श्रीमान भीम नै ससुराली आए । तर, दशैंमा घर गएकी रञ्जनाको शव आइतबार बिहान खोलामा भेटियो । उनको घर पक्षकाले २३ असोजमै हत्या गरेको माइती पक्षको दाबी छ । २४ असोज शुक्रबार बजार भर्न विराटनगर आएका भीमले सासूआमा र काकालाई घर पठाउन भन्दै छिमेकीलाई सन्देश पठाएका थिए ।

छोरी लिन आउनू भन्दै सन्देश छाडेर गएका भीमको परिवार शनिबार बिहानै घरमा ताला लगाएर फरार भएको थियो । ‘उता छोरीको हत्या गरी यहाँ आएर लिन बोलाएको रहेछ,’ छिमेकी लक्ष्मीदेवी रायले भनिन्, ‘मागे जति दाइजो नपाउँदा हत्या गरिसकेका रहेछन् ।’

भारतीय प्रहरीले शव नै छोएन
भीमले शुक्रबार ससुरालीलाई छोरी लिन बोलाए पनि शनिबार बिहानै रञ्जनालाई बेपत्ता बनाएको हल्ला गाउँभरि फैलियो । माइती पक्ष बुझ्न जाँदा घरमा ताला लागेको थियो । खोजी गर्दै जाँदा अररिया जिल्लाकै भान्टाबारी भन्ने स्थानमा भीम र उनका आफन्तहरू भेटिए ।

सोधखोज गर्दा हत्या गरी हातखुट्टा बाँधेर सीमावर्ती क्षेत्र जोगवनीदेखि करिब चार किलोमिटर दक्षिण अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुलनजिकै फालेको बताए । आइतबार बिहानै आफन्तहरू शव खोजिदिन भन्दै जोगवनी प्रहरी थाना पुगे ।

झिसमिसेमा पुगेका आफन्तको कुरा प्रहरीले सुनेन । ‘आइतबार बिहानै थाना जाँदा भारतीय प्रहरीले हप्कीदप्की गरे,’ लक्ष्मीदेवीले भनिन्, ‘बल्ल–बल्ल साढे एक बजे खोलासम्म जान पुलिस तयार भयो ।’ खोलासम्म पुगेको प्रहरीले शव भने छोएन ।

आफन्तले नै उठाएर सिटीमा राखेर पोस्टमार्टस्का लागि अस्पताल लगे । भारतीय प्रहरीले हत्या आरोपी पक्राउ गर्न नचाहे पनि माइती पक्षले नै पक्राउ गरी रञ्जनाका श्रीमान भीम बहरदार, जेठाजू अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई प्रहरीमा बुझाएको स्थानीय विशाल सहनीले बताए । पक्राउ परेकामाथि भारतीय प्रहरीले सोमबार मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७