सीले दुनियाँलाई हड्डी– धूलो बनाउने चेतावनी दिन नेपालकै मञ्च किन प्रयोग गरे ?


२९ आश्विन २०७६, बुधबार
xi jingping2019 10 16 07 14 51

काठमाडौं, २९ असोज । नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीसँगको संवादमा चिनियाँ राष्ट्रपति सी जिनपिङले भनेका थिए, ‘चीनको कुनै पनि हिस्सालाई टुक्र्याउने कोशिस गर्ने जोकोहीलाई पनि धूलो पिठो बनाइने छ ।

त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन् ।’

अंग्रेजीबाट हुबहु अनुवाद गर्दा अर्थ झन भयानक छ । उनले चीनलाई विभाजित गर्न खोज्ने जोसुकैको शरीर चटनी र हड्डी धूलो बनाउने चेतावनी दिएका छन् । चीनको सरकारी टेलिभिजन सिजिटिएनले उनको भनाइ अंग्रेजीमा यस्तो राखेको छ,

“Anyone attempting to split China in any part of the country will end in crushed bodies and shattered bones. And any external forces backing such attempts dividing China will be deemed by the Chinese people as pipe-dreaming!”

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा व्यक्त गरेको विचार संसारभर छरिएको छ । भ्रमणको दोस्रो दिन आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । तिब्बत, ताइवान, हङकङ र सिनज्यान विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको चासोबारे सीले ओलीसँग चर्चा गरेका थिए ।

तर, त्यस्तो चासो चीनका लागि असह्य हुने उनको भनाइ थियो । ओलीसँग भेटमा सीको भनाइ थियो, ‘चीनको कुनै पनि हिस्सालाई टुक्र्याउने कोशिस गर्ने जोकोहीलाई पनि धुलोपिठो बनाइनेछ । त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन् ।’

यो चेतावनी सीले ओलीलाई होइन, दुनियाँलाई सुनाउन खोजेका थिए । त्यसैले ओलीसँग सीले व्यक्त गरेको विचार भन्दै यो भनाइ पहिलो पटक चीनको सरकारी टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले सार्वजनिक गरेको थियो । लगत्तै, यो समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य हेडलाइन बनेको छ ।

यसबारेमा समाचार प्रकाशित गर्ने सबैजसो अन्तर्राष्ट्रिय मिडियाले मुख्यतः हङकङका प्रदर्शनकारी र त्यसलाई सघाउने अन्तर्राष्ट्रिय शक्तिलाई लक्षित गरेर सीको यो चेतावनी आएको टिप्पणी गरेका छन् । तिब्बत, ताइवान र सिनज्यान पनि यही प्रसंगमा जोडिएको छ ।

उनको चेतावनी कसलाई हो ?
तिब्बतलाई लिएर यहाँ अलि बढी गतिविधि होला कि भन्ने शंका हो : विश्लेषक प्राडा. लोकराज बराल
तिब्बतलाई लिएर यहाँ अलि बढी गतिविधि होला कि भन्ने शंका हो उनको । ‘एक चीन नीति’ विरुद्ध कुनै घटना हुन दिन्नौँ भनेर नेपालले भने पनि चीनलाई कता–कता आशंका छ । यो भनाइलाई हङकङ सन्दर्भमा पनि जोड्न सकिन्छ ।

‘सीको भनाइ हङकङको सन्दर्भमा हो, अमेरिकालाई लक्षित हो’ ः परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ
आन्दोलनको माग पूरा भइसक्दा पनि हङकङको प्रदर्शन नरोकिएको र त्यसमा अमेरिकी पनि प्रवेश गरेको शंका रहेपछि चीनले चेतावनी दिएको हो । सीले कहीं न कहीं बोल्नुपर्ने थियो, नेपालमा बाटो परेका वेला उनी बोलेर गए, यो संयोग मात्र हो ।

सीको भनाइलाई मुख्यतः तिब्बत र हङकङसँग जोड्नुपर्छ : पूर्व राजदूत सुरेशचन्द्र चालिसे
यो भनाइलाई मुख्यतः तिब्बत र हङकङसँग जोड्नु पर्छ । वेलाबखतमा ‘फ्रि तिब्बत’ समूहले प्रदर्शन गर्छन्, त्यस्ता तत्वलाई हामी सहँदैनौं भन्ने सन्देश हो यो । अप्रत्यक्ष रूपमा भारतमा पनि प्रो–टिबेटियन मुभमेन्ट भइरहन्छ, त्यसलाई पनि चेतावनी हो ।

चीन अहिले जागेको बाघ हो, सबैलाई दबाबमा राख्न खाजेको छ : पूर्व राजदूत टंक कार्की
चीन अहिले जागेको बाघका रूपमा प्रस्तुत भयो । त्यो सजिलै बुझ्न सकिन्छ । उसले अहिले सबैलाई दबाबमा राख्न खोजेको हो ।
नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७