स्पेन युरोकपमा छनौट, इटलीले गर्‍यो लिचेस्टाइनको पोस्टमा पाँच गोल


२९ आश्विन २०७६, बुधबार
spain

काठमाडौं, २९ असोज । पूर्व च्याम्पियन स्पेन सन् २०२० को युरोकपमा छनोट भएको छ । मंगलबार राति भएको खेलमा स्विडेनसँग एक–एक गोलको बराबरी खेलेपछि स्पेन युरोकपमा स्थान बनाउन सफल भयो ।

समूह एफबाट युरोकपमा पुग्न स्पेनलाई एक अंकको खाँचो थियो । जसमा उसले अन्तिम समयमा गोल गर्दै स्विडेनलाई बराबरी गर्न सफल भयो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ५० औं मिनेटमा स्विडेनले खेलमा अग्रता बनायो । उसका लागि मार्कुस बेर्गले गोल गर्न सफल भए ।

त्यसपछि स्विडेनका रोबिन क्विसोनको प्रहारलाई स्पेनका गोलकिपर डेविड डी जियाले बचाए । तर खेलको इन्जरी समयको दोस्रो मिनेटमा स्पेनले खेल बराबरी गर्न सफल भयो । उसका लागि रोद्रिगोले गोल गरे । यो बराबरीले स्पेन २० अंकका साथ युरोकपमा स्थान बनाउन सफल भयो । यता स्विडेनको १५ अंक छ र उ तालिकाको दोस्रो स्थानमा छ ।

अर्काे खेलमा यसअघि नै युरोकपमा स्थान बनाइसकेको इट्लीले लिचेस्टाइनको पोस्टमा पाँच गोल गर्न सफल भयो । उसको जितमा बेलोटीले २ गोल गरे । खेलको दोस्रो मिनेटमा बेर्नारदेस्चीको गोलबाट अग्रता बनाएको इटलीले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा उसले चार गोल थप्यो । ७० औं मिनेटमा बेलोटीले गोल गरे भने ७७ औं मिनेटमा रोमाग्नोलीले गोल गरे । यस्तै ८२ औं मिनेटमा एल सारावेले टिमका लागि चौथो गोल गर्दा खेलको इन्जुरी समयमा बेलोटीले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७