पोषण सुधार अभियन्ता बोनिता शर्मा विश्वका १०० प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा


२९ आश्विन २०७६, बुधबार
bonita sharma

काठमाडौं, २९ असोज । नेपालकी पोषण सुधार अभियन्ता बोनिता शर्मा विश्वका प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी छिन । बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने संसारभरीका सय प्रेरणादायी एवं प्रभावशाली महिलाको २०१९को सूचीमा पर्न सफल भएकी हुन् ।

उनले चुलोचौकोमा मात्रै केन्द्रित नभई निर्धक्कसँग बालिका तथा महिलाहरुले पनि शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउँदै महिला तथा बालिकाको शिक्षा तथा सशक्तिकरणमा गरेको योगदानको कदर गर्दै बिबिसीले उक्त सूचीमा राखेको हो ।

बिबिसीले ६ वटा क्याटेगोरी तयार पार्दै १ सय महिलाको सूची सार्वजनिक गरेको हो । पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूची सार्वजनिक गरिएकोमा बोनितालाई ज्ञानको श्रेणीमा राखिएको छ ।

बोनिताले आफ्नो ट्वीटर अकाउन्टमा आफू सय प्रभावशाली महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन, ‘मैले रोलमोडलको रुपमा हेर्ने महिलाहरुको सूचीमा आफूलाई पनि पाउँदा निकै खुसी छु । यसले मलाई थप सशक्त महसुस गराएको छ ।’

२७ वर्षिया बोनिता द सोसल चेन्जमेककर्स एण्ड इनोभेटर्सकी संस्थापक हुन् । उनको टोलीले ‘सोचाइ’ (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) नामक संस्था स्थापना गरी विशेषतः नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएर काम गरिरहेको छ ।
उनले नेपालका महिला तथा बालिकालाई शिक्षा तथा सशक्तिकरणका लागि सहयोग गर्दै आएकी छिन् । महिला शिक्षाका लागि उनको परियोजनाले खेलेको भूमिकाको सम्मान गर्दै युनेस्को मलाला कोषबाट उनको संस्था पुरस्कृतसमेत भएको छ ।

bonita sharma a

उनी र उनको संस्था ‘सोचाइ’ले ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत यसै वर्ष हात पारेको थियो। दिगो विकास लक्ष्य नं २ को भोकमरी विधाअन्तर्गत १ सय देशका १२ सय प्रतिस्पर्धीलाई पछि पार्दै ‘सोचाइ’ले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो ।

कुपोषणका कारण हुने बाल मृत्युदर घटाउन उनले न्यूट्रिबेड्स डिजाइन गरेकी छिन् । न्यूट्रिबेड्स एउटा यस्तो ब्रासलेट हो जुन भिन्न रङका दानाले बनाइएका हुन्छन् । जसले नयाँ आमाहरुलाई आफ्नो नवजात शिशुलाई के खुवाउने भनेर सचेत गराउँछ ।

कुपोषणविरुद्ध लडिरहेका बालबालिकाप्रति केन्द्रित रहँदै बोनिता र उनको संस्था ‘सोचाइ’ले ‘पोषण माला’को सोच अघि ल्याएको हो । नयाँ आमाहरुका लागि आफ्ना शिशुहरुलाई कुन समयमा कस्तो खाना खुवाउने भन्ने सम्बन्धमा यो मालाले सहजीकरण गर्दछ । जसमा फरुक खानाका लागि फरक रङको माला प्रयोग गरिएको छ ।

बीबीसीका अनुसार, शर्मा निकै संघर्षका साथ सामाजिक सेवामा आएकी हुन् । सुरुमा उनलाई गृहिणी बन्ने चर्को दबाव थियो । तर, आमाको प्रेरणाले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेकी उनले महिला शिक्षा र तिनको सशक्तीकरणका लागि भूमिका खेलेको बीबीसीमा उल्लेख छ ।

शर्मा पत्रकार एवं गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी तथा सामाजिक कार्यकर्ता लक्ष्मी न्यौपानेकी छोरी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७