उपनिर्वाचनमा उम्मेद्वार आकांक्षीको ताँती, चुनावी सरगर्मी ह्वातै बढ्यो


२९ आश्विन २०७६, बुधबार
Election Nirwachan

काठमाडौं, २९ असोज । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका उम्मेद्वारका आकांक्षी पनि बढ्न थालेपछि चुनावी सरगर्मी ह्वातै बढेको छ ।

प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगुनारायण प्रदेश ‘क’ बाट विजयी तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछानेको मस्तिष्क घातका कारण मृत्यु भएपछि सो स्थानमा पुनः निर्वाचन हुने भएको छ । उक्त स्थानका लागि निर्वाचनको मिति तोकिएसँगै राजनीतिक दलहरुमा उम्मेद्वारका लागि व्यापक छलफल समेत शुरु भएको छ ।

यस क्षेत्रमा नेकपा र नेपाली काङ्ग्रेसमा उम्मेद्वारका आकांक्षीहरु बढेका छन् भने नेपाल मजदूर किसान पार्टीले निर्वाचनका बारेमा हालसम्म कुनै चर्चा चलाएको छ्रैन । आगामी निर्वाचनमा नेकपाबाट रमेश बुढाथोकी, निरञ्जन बजगाई, मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, श्रीभक्त कासीछ्वा, शम्भु दाहाल, दामोदर दङ्गाल, निर्मला लामिछाने, कृष्णमुरारी खनाल र देवीप्रसाद (डिपी) ढकाल टिकट ल्याउने दौडधुपमा लागेका छन् ।

बुढाथोकी, बजगाई, कासिछवा, दङ्गाल व्यवसायी हुन् भने लामिछाने हरिशरण लामिछानेकी पत्नी हुन् । त्यस्तै दाहाल र खनाल कानून व्यवसायी एवं चाँगुनारायण नगरपालिकाका कानूनी सल्लाहाकार समेत हुन भने ढकाल पूर्व माओवादीका नेता हुन् । नेकपाभित्र १० जनाले उम्मेद्वारी दाबी गरिरहँदा ढकाल पूर्व माओवादी र अन्य नौ जना पूर्व एमालेका हुन् ।

आगामी निर्वाचनमा नेकपाबाट आफ्नो उम्मेद्वारी रहने सञ्चारकर्मीलाई जानकारी गराउँदै यी आकांक्षी नेताले टिकट लिनका लागि शक्ति केन्द्र एवं पहुँचवाला नेताहरु कहाँ धाउन थालेका छन् । लामिछानेले पतिको शोकलाई शक्तिमा बदल्न उम्मेदवारी दाबी गरेकी छन् भने मोहनवीर श्रेष्ठले पार्टीले पुरानालाई मौका दिनुपर्ने बताउँदै आएका छन् । बुढाथोकी तथा बजगाईले भने युवालाई अबको नेतृत्व दिनुपर्ने बताउँदै आएका छन् ।

यता काङ्ग्रेसमा पनि पुराना तथा नयाँ नेताहरुले पार्टीले आफूलाई टिकट दिने दाबी गर्ने आकांक्षीहरु बढेका छन् । काङ्ग्रेसका राजनीतिमा लामो समय सक्रिय रहेको तर अवसर नपाएको भन्दै तरुण दलका पूर्व अध्यक्ष समेत रहेका विनोद कायस्थले यस पटकको उपनिर्वाचनमा पार्टीले आफूलाई टिकट दिनेमा विश्वास व्यक्त गर्दै चुनावी रणनीतिमा लागिसकेको बताए । उनले चुनावमा पार्टीलाई विजयी गराउन आफू आवश्यक तयारीका साथ चुनावी क्षेत्रमा कार्यकर्तासँग भेटघाट बढाएको बताए ।

काङ्ग्रेसमा पहिलो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट नारायणमान बिजुक्छेसँग चुनाव लडेका कृष्णलाल भडेलले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् भने यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सदस्यमै उम्मेदवारी दिएका जीवन खत्रीले पनि पुनः उम्मेदवारी दाबी गरेका छन् ।

त्यसैगरी काङ्ग्रेसबाट मनोजकुमार थापा, हरि नेपाल, जगन्नाथ कार्की, राजाराम खड्का, सुरेश श्रेष्ठ, यादव अधिकारी, किरण न्यौपानेले पनि उम्मेदवारी दाबी गरेका छन् । भडेल र खड्का व्यवसायी हुन् भने मनोजकुमार थापा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति एवं रेडक्रस केन्द्रीय सदस्य समेत हुन् । न्यौपाने भने कानून व्यवसायी हुन् ।

यता राप्रपा संयुक्तबाट रवीन्द्रप्रताप शाह, रामशरण लामिछानेले उम्मेदवारी दाबी गरेका छन् भने राप्रपाबाट माधव खत्री, उत्तम बाटी, राममणि न्यौपानेले उम्मेदवारी दाबी गरेका छन् । विवेकशील साझाबाट कालिचरण कार्की र सुरज प्रधानले दाबेदारी गर्दै आएका छन् ।

सबैको चासो रहेको नेमकिपाबाट भने कसैको नाम सार्वजनिक भएको छैन भने पार्टाीको आधिकारिक निर्णय नभई कोही पनि आकांक्षीको नाम सार्वजनिक नगर्ने पार्टीले जानकारी दिएको छ । निर्वाचन नजिकिँदै आए पनि नेकपा, काङ्ग्रेस, नेमकिपा भने निर्वाचनको रणनीतिक योजनामा लागेको छ । नेकपा जिल्ला अध्यक्ष वचन देउजाले आफ्नो स्थान सुरक्षित राख्ने रणनीतिक योजनामा लागेको बताए ।

काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनमा कसरी जित हासिल गर्ने भन्नेबारेमा छलफल शुरु गरेको बताए । नेमकिपाले पनि आन्तरिक तयारी थालेको बताइएको छ । पार्टीहरुमा आन्तरिक तयारी थालेपछि र उम्मेदवारका आकांक्षीहरु बढेसँगै निर्वाचन हुने क्षेत्रमा चुनावी माहोल समेत बढेको छ ।

विराटनगरमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
आगामी मंसिर महिनाको १४ गते मोरङ जिल्लामा हुने एक पदको उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालय मोरङले दिएको जानकारीअनुसार मोरङको धनपालथान गाउँपालिकाको वडा नं २ को वडाध्यक्षको मृत्यु भएको कारण उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टाी (एमाले) तर्फबाट विजयी उम्मेदवार बलिराम भगतको २०७५ जेठ २४ गते मृत्युको भएको थियो । उक्त स्थानमा हुने उप निर्वाचनमा चार हजार १४२ मतदाताले मतदान गर्ने छन् । अमाही गाउँपालिका केन्द्र र जनता माध्यमिक विद्यालय मझौवरियाती गरी दुई मतदानस्थलमा पाँच केन्द्र रहने कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले बताए ।

गाउँपालिका भवनमा रहेको मतदानस्थलको दुई केन्द्रमा एक हजार ८३५ र जनता मावि मतदानस्थलको तीन केन्द्रमा दुई हजार ३०७ मतदाताले मतदान गर्ने छन् । साउन १७ गते अगाडि १८ वर्ष पुगेका नेपाली नागरिकले उक्त उपनिर्वाचनमा मतदान गर्न पाउने छन् ।

उपनिर्वाचनको शान्ति सुरक्षाका लागि आवश्यकता अनुसार सशस्त्र र नेपाली प्रहरीको व्यवस्था हुने सूचना अधिकृत अधिकारीले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा न्यूनतम नौदेखि ११ जना कर्मचारी खटाइने भएको छ ।

उक्त उप निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय केन्द्रीय निर्वाचन आयोग कार्यालयले तोकेबमोजिम स्थापना हने उनको भनाइ छ । मोरङ जिल्लामा २०७६ साउन १७ गतेसम्ममा महिला तीन लाख ३० हजार ९८१, पुरुष तीन लाख ४१ हजार ४१२ र तेश्रो लिङ्गी दुई जना गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता रहेका छन् ।

प्रदेश नं १ अन्तर्गतको पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष र फिदिम नगरपालिकाको वडा नं १ र ७ का वडाध्यक्ष, मोरङको धनपालथान गाउँपालिकाको वडा नं २ का वडाध्यक्ष, सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र वडा नं ७ का वडाध्यक्षको उपनिर्वाचन हुँदैछ ।

यसैगरी सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकाको अध्यक्ष, खाँदबारी गाउँपालिका–३ को वडाध्यक्ष, खोटाङ जिल्लाको साकेला गाउँपालिका वडा नं ३ को वडाध्यक्ष र भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष गरी छ जिल्लाका १० विभिन्न पदमा उपनिर्वाचन हुने भएको छ । निर्वाचनको विषय लिएर मोरङको धनपालथान गाउँपालिकामा राजनीतिक चहल पहल शुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७