३४ देशको सैन्य तालिममा नेपाल उत्कृष्ट, पायो स्वर्ण पदक


२९ आश्विन २०७६, बुधबार
nepal army

काठमाडौं, २९ असोज । संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।

बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी असिमदेव गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली असोज ६ गते बेलायत प्रस्थान गरेको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शतरुपक्षको गतिविधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिन्छ ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करीब ५० पाउण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने गर्छन् ।

सो क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खबर सङ्कलन, घाईते–बिरामीको व्यवस्थापन, विष्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेत विभिन्न दक्षताको परीक्षण गरिन्छ ।

उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाल समेत अन्य ३४ देशका गरी कूल १४० सैन्य टोलीको सहभागिता रहेको निर्देशनालयले जनाएको छ । नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका टोलीले गरेको थियो ।

प्रतियोगितामा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्ति सम्मिलित टिम सहभागी हुने गर्दछन् । सन् १९६० बाट वार्षिकरुपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस्तो अभ्यास प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७