कलङ्की-महाराजगञ्ज सडकमा दुई ‘अण्डर पास’, प्रत्येक एक–किमिमा आकाशे पुल बन्ने

नागढुङ्गा–नौबिसे सुरुङमार्ग आउँदो साता शिलान्यास


३० आश्विन २०७६, बिहीबार
kalanki ko sadak1

काठमाडौं, ३० असोज । चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एक–एक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने भएको छ । झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आउँदो चैतमा सडक हस्तान्तरण गर्ने भएको छ ।

पहिलो चरणको विस्तार (कोटेश्वर–कलङ्की) सडकमा रहेको कमी कमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

पहिलो चरणमा मुख्य सडकमा दायाँ बायाँ सडकलाई सडक चिन्ह्ले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । उनले भने, ‘पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।’

बालाजु चोक र महाराजगञ्ज चोकमा गरी दुई स्थानमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए । बालाजुमा निर्माण हुने ‘अण्डरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ ।

पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक–एक किलोमिटर एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिए । जम्मा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ । सडक बिस्तारका लागि चीन सरकारलाई हस्तान्तरण गर्न सरकारले अहिले सडकको अधिकार क्षेत्र खाली गराउन शुरु गरेको प्रमुख थापाले बताए ।

यस सडकमा रुख काट्ने, पोल सार्नेलगायतका तयारी भइरहेको छ । केही महिनामै काम सम्पन्न गर्ने उनले बताए । सम्पूर्ण तयारी सकिए पनि सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ । चीन सरकारले झण्डै पाँच–छ महिना तयारीको काम गरेर निर्माण शुरु गर्ने उनले बताए ।

सडकको अधिकार क्षेत्रमा घरटहरालगायतका संरचना हटाउनु पहिलो चरणमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ । स्वयम्भू, ठूलो भ¥याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनु समस्या रहेको छ । स्वयम्भूमा बुद्धको ठूलो मूर्ति रहेकामा त्यसलाई समेत सार्नुपर्ने उनले बताए ।

पहिलो चरणमा समस्या देखिएका कुरामा सुधार भए पनि अरू कुरामा दोस्रो चरण पनि झण्डै पहिलो जस्तै हुने विभागले जनाएको छ । मुख्य सडकबीचमा रहनेछ भने त्यसको दुवैतर्फ दुई–दुई लेनको सहायक सडक हुनेछ ।

सहायक सडकमा प्रवेश गर्नका लागि सडकको दुवैतर्फ एक–एक लेनको सर्भिस ट्रयाक रहने गरी डिजाइन भएको छ । सवारी चालकले पहिले सर्भिस ट्रयाकबाट सहायक सडकमा प्रवेश गरेर मात्रै मुख्य सडकमा प्रवेश गर्न पाउँछन् । त्यस्तै सहायक सडकबाट एउटा चोकमा पुगेर मात्रै मुख्य सडक वा मुख्य सडकबाट सहायक सडक गर्न पाउने गरी डिजाइन भइरहेको छ ।

पहिलो चरणमा आकाशे पुल र सर्भिस ट्रयाक
गएको वर्ष पुसमा नै चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि अहिले कोटेश्वर–कलङ्की सडकमा आकाशे पुल निर्माण र ‘सर्भिस ट्रयाक’ निर्माण भइरहेको छ । १० किलोमिटरको सो सडकमा चीन सरकारले सम्झौताअनुसार तीन स्थानमा आकाशे पुलको निर्माण गरेको थियो ।

आकाशे पुल पर्याप्त नभएको टिप्पणीपछि अहिले थप छ स्थानमा पुल निर्माण भइरहेको काठमाण्डौ चक्रपथ सुधार योजनाले जनाएको छ । त्यस्तै चक्रपथको बाहिर र भित्र गरी दुवैतर्फ ‘सर्भिस ट्रयाक’ निर्माण भइरहेको छ । विभिन्न स्थानमा सडक छेउमा रहेका घरटहरा समयमै हटाउन नसक्दा ‘सर्भिस ट्रयाक’ निर्माणमा ढिलाइ भएको हो ।

नागढुङ्गा–नौबिसे सुरुङमार्ग आउँदो साता शिलान्यास

नागढुङ्गा–नौबिसे सुरुङमार्गको आउँदो साता शिल्यान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गर्ने गरी तयारी भइरहेको सडक विभागले जनाएको छ ।

शिलान्यास हुने स्थानमा किसानको धान भएकाले त्यो हटाएर मात्रै शिलान्यास गरिने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । विभागले आगामी ४ गतेका लागि योजना बनाए पनि तय भइनसकेको उनले जानकारी दिए । उनले भने, ‘किसानलाई हामीले खाली गर्न भनेका छौं, खाली भएपछि काम हुनेछ ।’

यो सुरुङमार्ग निर्माणका लागि गएको ६ गते जापानको हाजमा आङ्दो कर्पाेरेशनसँग ठेक्का सम्झौता भएको थियो । ४२ महिनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । मुआब्जा रकमसमेत गरेर सो सुरुङमार्गको जम्मा लागत रु २२ अर्ब हुने बताइएको छ । जम्मा रकममध्ये नेपाल सरकारले रु छ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ । अहिलेसम्म चार अर्ब रुपैयाँ मुआब्जाबापतको रकम बाँडिसकिएको छ ।

सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडक समेत निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभर समेत निर्माण हुने सम्झौता भएको उनले जानकारी दिए । उनले भने, ‘फ्लाई ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ ।’

जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो । यही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने उनले जानकारी दिए । अहिले सुरुङमार्ग निर्माण गर्न लागेकै कम्पनीले माइतीघर–सूर्यविनायक सडक निर्माण गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७