काठमाडौं : सिमा रक्षक देवनारायण यादवलाई पक्राउको बिरोधमा काठमाडौं विद्यार्थी संगठनहरुले भारतीय राजदूताबास घेराउ गरेको छ । यादवलाई विनाशर्त रिहाईको माग गर्दै एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेविसंघ माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले लगायतले प्रर्दशन गरेको हो ।
सप्तरीको दशगजा क्षेत्रमा भारतीय अतिक्रमण र हस्तक्षेप विरुद्ध लड्दै आएका सप्तरी तिलाठी–४ का यादवलाई भारतीय प्रहरीले सप्तरी तिलाठीको सिमावर्ती भारतीय बजार कुनौलीबाट शनिबार साँझ पक्राउ गरेर सिधैं जेल चलान गरेको छ । एक बर्ष अघि सप्तरीको दक्षिण सीमावर्ती तिलाठी नजिकै दशगजा क्षेत्रमा रहेको खाँडो नदीमा भारतीयहरुले जबर्जस्ती बाँध बनाएपछि उनकै नेतृत्वमा नेपालीहरुले प्रतिरोध गरेका थिए । आइतबार नयाँ पेजले ‘सिमा रक्षक’ देवनारायण यादव भारतीय जेलमायादव पक्राउको समाचार प्रकाशन गरेपछि यादवको रिहाईको पक्षमा आन्दोलन र अभियान सुरु भएको छ ।
भारतको बिहार राज्य अन्र्तगत सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायत प्रशासनले नेपालका आधा दर्जन बढी गाविस डुबानमा पार्ने गरी बाँध बनाएपछि प्रतिरोध गरिएको हो । यादवलाई भारतीय प्रहरीले उनले प्रतिरोध गरेको खाँडो नदीको ठिक पारिपट्टीको बजार कुनौलीबाट शनिबार पक्राउ गरेको हो । यादवलाई भारतले निर्शत रिहाई नगरेसम्म आन्दोलन जारी रहने अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले नयाँ पेजलाई बताए । उनले भने, ‘भारतीय हस्तक्षेप र अतिक्रम विरुद्ध निरन्तर लड्दै आएको देवनारायण यादव पक्राउ गरिनु हाम्रो सार्वभौमसत्ता बिरुद्धकै आक्रमण हो ।’
विरोध प्रदर्शनमा अनेरास्ववियकी अध्यक्ष नविना लामा, महासचिव ऐन महर, सचिव आरती लामा, सुदेश पराजुली, नेविसंघका उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन लगायत दर्जनौं विद्यार्थी नेता कार्यकर्ताहरुको सहभागीता थियो । उनीहरुले कोणसभालाई सम्वोधन गर्दै उनीहरुले तत्काल यादवलाई रिहा गर्न माग गरे ।