फेरि एकचोटी आन्दोलन छेड्ने इच्छा छ : प्रचण्ड


३० आश्विन २०७६, बिहीबार
Prachanda

चितवन, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमा फेरि एक पटक आन्दोलन छेड्ने इच्छा रहेको बताएका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट जस्तै बनाउने र मुलुकलाई समाजवादसम्म पुर्‍याउनका लागि भए पनि एउटा आन्दोलनको अगुवाइ गर्ने इच्छा आफूमा रहेको बताए ।

‘फेरि एकचोटी राष्ट्र, जनताको हितमा समर्पित भएर अब काम गर्छु भनेर दह्रोसँग संकल्प लियौं भने सकिन्छ । हामीमा अहिले अलिअलि धूलो मैलो लागेको मात्र हो,’ उनले थपे, ‘हामीलाई कामै नलाग्ने गरी क्यान्सर भएको छैन । उपचार नै नलाग्ने गरी क्यान्सर भएको भन्न खोजेको होइन । ग्याष्ट्रिक, अल्सर त्यतिसम्म होला क्यान्सर भएको छैन । त्यसको उपचार छ । बेलैमा उपचार गरौं । हामीमाथि समीक्षा गर्दैछौं ।’

अध्यक्ष प्रचण्डले भने, ‘हामी त जीवनको उद्धरार्धमा आइसक्यौं । बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ,’ बिहीबार गृह जिल्ला चितवनमा आयोजित चियापान कार्यक्रममा उनले भने, ‘यो महान उद्देश्यमा साथ दिनु हुनेछ भन्ने मेरो विश्वास छ । हामी जित्छौं पनि । प्रतिक्रान्ति यसरी रोकिन्छ भनेर उदाहरण दिन पनि सक्छौं ।’

कम्युनिष्टहरू सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लागेको पनि उनले बताए । उनले पार्टीभित्र अराजकता र व्यक्तिवादले जन्म लिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७