सरकारमा बस्नुको औचित्य छैन : बाबुराम भट्टराई


३० आश्विन २०७६, बिहीबार
Baburam Bhattarai

गोरखा, ३० असोज । सत्तारुढ दल समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले आफनो पार्टी सरकारमा बस्नुको औचित्य नभएको बताएका छन ।  बिहीबार गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारसँग कुरा गर्दे डेढ वर्षको अवधिमा संविधान संशोधनमा चासो नदेखाएकाले सरकारमा बस्नुको औचित्य नरहेको बताएका हुन् । 

उनले छिट्टै केन्द्रीय समिति बैठक बसी सरकारमा बस्ने र नबस्ने उपयुक्त निर्णय लिने बताए ।  ‘संविधान संशोधनका लागि दुई तिहाइ बहुमत र्पुयाउन सरकारलाई साथ दिएका हौँ,’ उनले भने ।

उनले सर्तसहित सरकारमा गएकाले आफ्नो पार्टीलाई सरकारको सत्ताको साझेदार नभएको बताए । ‘संविधान संशोधनमा सरकारले चासो देखाएन,’ उनले भने, ‘प्रधानमन्त्री संविधान संशोधनको कुरा दिनदिनै गाउने गीत जस्तो बनेको छ भनेर ब्यङ्गय गर्दै उडाउनुहुन्छ, यो सही दृष्टिकोण होइन ।’ परिस्थितिअनुरुप सरकारबाट निक्लिएर जनताको पक्षमा जनमत तयार गर्नेतिर अघि बढ्नुपर्ने अवस्था आएको उनले बताए ।

उनले फरक प्रसंगमा भट्टराईले हिउँदे अधिवेशन अगावै सभामुखको निर्वाचन हुने पनि बताए । संविधानअनुसार अब फरक पार्टीको सभामुख र उपसभामुख हुनुपर्ने उनको तर्क छ । ‘मंसिरसम्म सभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ,’ उनले भने,‘अहिलेसम्म एउटै पार्टीको सभामुख र उपसभामुख थिए, अब संविधानले भनेअनुसार सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगको हुनुपर्ने व्यवस्थाअनुसार अघि बढ्नुपर्छ ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७