जनगायक जीवन शर्मामाथि ‘ब्रजपात’, छोरा मृत्यु शैंयामा, शर्मा आँशु खसाल्दै अस्पतालको ढोकामा


३० आश्विन २०७६, बिहीबार
jeevan sharma

‘छैन मेरो शरीरमा अत्तरको सुगन्ध, होला बरु जिउभरी पसिनाको गन्ध
होला मेरो खुट्टा बरु पटपट्टी फुटेको, तर मेरो जीन्दगी यसैमा उठेको
चाँहिंदैन मलाई सिसाको महल, चाँहिदैन मलाई सम्पतीको रास’

यो गीत जनवादी गायक जीवन शर्माले गाएका हुन् । यहि गीत नेपालका गाउँ–शहर अनि कुना कन्दरामा गाएर उनले मानिसको चेतनालाई जगाए । गाउँघरका दुःख, पीडा र अभावका कथाहरुलाई गीत बनाएर गाउने उनलाई सारा जगतले ‘जनगायक’ भनेर चिन्छ ।

प्रधानपञ्च, मुखिया र जिम्मावाल परिवारमा जन्मेर पनि उनले भुइँमान्छेको जीवन शैली रोजे । उनको यो गीतले भुइँमान्छेको कथा मात्र बोकेको छैन, राजनीतिको भर्‍याङ चढ्दै एकाएक ऐश्वर्यको जीवन विताइरहेका नेताहरुलाई व्यङ्ग्य समेत गरेको छ ।

समयले मान्छेलाई कहिलेकाँही नसोचेको दुःख र हण्डर खुवाउँछ, ‘चाँहिदैन मलाईको सम्पतीको रास’ भनेर गीत गाउने गायक अहिले त्यति सम्पती अभावका कारण ठूलो पीडामा छन् । योग्यता, क्षमता हुँदा हुँदै पनि जनताकै गीत गाउने र जनताकै बीचमा रहने अठोटका कारण पैसा जोहो गर्ने मामिलामा पछि परेका गायक शर्मा अहिले पैसा अभावकै कारण मृत्यु शैंयामा रहेका छोराको अनुहार हेर्दै अस्पतालको ढोकामा आँशु चुहाउन वाध्य छन् ।

खाना खाने क्रममा मासुको हड्डीले अन्न नली छेडेपछि सिकिस्त बनेका गायक शर्माका जेठा छोरा अमृत अहिले अहिले अस्पतालकाे शैंयामा हल न चल छन् । सर्वहारा परिवार भए पनि दशैं रमाइलो थियो । दशैंको रमाइलो माहौंलमा एकाएक गायक शर्माको परिवार र जीवनकाे जीवनमा ठूलो बज्रपातसँगै पीडा थपियो । अहिले उनका छोरा अमृतको मनमोहन कार्डियो महाराजगञ्जमा उपचार भइरहेको छ ।

जीवनभर पैसालाई कहिल्यै महत्व नदिएका भुइँमान्छेका प्रिय गायक जीवन शर्मा यत्तिखेर छोराको उपचारमा रकम अभाव हुँदा धेरै अप्ठ्यारो परेका छन् । मृत्युसँग जुधिरहेका छोराको अनुहार हेर्छन् अनि अस्पतालको ढोकामा आएर एक्लै रुन्छन् । अनि छोरालाई जसरी पनि बचाउनु पर्ने एउटा बाबुको दायित्व, कर्तव्य सम्झँदै निधार खुम्च्याउँदै गम्भिर बन्छन् । डाक्टरको कुराले कहिले तर्सिन्छन्, अनि उपचार खर्च कसरी जुटाउने भनेर झस्किन्छन् ।

शुरुमा डाक्टरले अमृतलाई बचाउन गाह्राे रहेको बताए तर, सबै चिकित्सकको अथक प्रयासले जीवनमा थोरै भए पनि आशा जागेको छ । मनमोहन कार्डियोका डा. रञ्जन सापकोटा नेतृत्वको डाक्टरको टोलीले अमृतको नाैं घण्टा लगाएर मेजर अप्रेसन गरेपछि तत्कालको खतरा टरेको छ । तर, अर्को अप्रेसन गर्नुपर्ने र खर्च पनि ठूलो हुने डाक्टरको भनाईले गायक शर्मालाई झस्काएको छ ।

‘कसैसँग मलाई यस्तो सहयोग गर्नुपर्‍यो’ भनेर हात थाप्न नजान्ने गायक शर्मा कसैले सहयो गर्न चाहे आफूलाई ९८५११४५५२३ मा सम्पर्क गर्न सक्ने बताउँछन् । अहिले केहि नेता कार्यकर्ता उनलाई भेट्न अस्पताल पुग्ने क्रम बढेको छ । नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवन शर्मालाई भेटेर केही रकम हस्तान्तरण गरेकी छन् ।

सभासद् चौधरीले जनगायकलाई ‘तपाईं जनताको प्रिय मान्छे हो, हामी सबैको साथ तपाईंलाई रहनेछ भन्दै छोरा अमृत आचार्यको स्वास्थ लाभको कामना समेत गरेकी छन् । ‘धन नभए पनि मन हुने धेरैले जीवन शर्मालाई माया गर्ने बताउँदै सांसद चौधरीले मलाई नआतिन आग्रह गर्नुभयो’, जीवन शर्माले सुनाए । यस्तै गायक हेमन्त शर्मा पनि जनगायक शर्मालाई भेट्न अस्पताल पुगे । उनले अमृतको स्वास्थ्य अवस्था समेत बुझेका छन् ।

समयसँग सम्झौता होइन संघर्ष गर संघर्ष
आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष
सुख र दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ
हजारौं चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ
समयसँग सम्झौता होइन संघर्ष गर संघर्ष

गायक शर्माको गीत जस्तै अहिले उनलाई समयले अप्ठ्यारोमा पारेको छ । तर, यो पीडामा ढाडस दिनेहरु बढ्न थालेपछि केहि साहस जुट्न थालेको छ । लामो समय राजनीतिमा रहेर देशका विभिन्न परिवर्तनहरुमा योगदान गरेका गायक जीवन शर्माले राजनीतिको धेरै हावा हुण्डरी झेलेका छन् ।

देशमा भएका विभिन्न राजनीतिक परिवर्तनका संघर्षहरुमा सँगै जोखिम मोलेका उनका धेरै सहयोद्धाहरु मन्त्री भईसकेका छन् । तर, उनले योग्यता, क्षमता भए पनि लाभको पदमा कहिल्यै आँखा लगाएनन्, अनि मलाई यो पद चाहियो भनेर लविङ गरेनन् । बरु जनताकै घर आँगन, दुःख, पीडामा सँधै साथ रहने वाचा नै गरे । अहिले उनै सहयोद्धाहरुको साथ गायक शर्मालाई अभाव भइरहेको छ । जुन कुरा आफूले पाउनेमा उनी आशावादी समेत छन् ।
जीवन शर्माको जीवन
गायक जीवन शर्माको नाम किसान, मजदुर, गरीबका गीत गाउने गायक भनेर स्थापित भएको छ । शर्माले एक हजारभन्दा धेरै गीत रेकर्ड गराएका छन् । दर्जनौं गीत डायरीमा छन् । ती गीत रेकर्ड गर्न भ्याएका छैनन् । गीतको डायरीले एउटा बाकस भरिएकाे छ । बाकस काठमाडौँ घट्टेकुलाेमा रहेको शर्माको डेरामा अड्डा जमाएर बसेको छ ।

५८ वर्षीय जनावादी गायक जीवन शर्माका चर्चित गीतहरू अहिले बजारमा पाइन्छन् । सञ्चार माध्यमबाट पनि घन्किन्छन् । अझ गाउँ शहर र देश विदेशका कार्यक्रममा जनवादी गायक जीवन शर्माका गीतकाे माग धेरै हुन्छ ।

शर्मा काठमाडौंको घट्टेकुलोस्थित डेरामा भेटिँदैनन् । न जन्मघर बाग्लुङको राङखानीमा भेटिन्छन् । बरु ठाउँठाउँमा हुने कार्यक्रमा उहि जनताको गीत गाईरहेको अवस्थामा भेट्न र देख्न पाइन्छ । । २०१७ साल भदौं २५ मा बागलुङको राङखानीको सम्पन परिवारमा जीवन शर्मा जन्मिएका थिए । एसएलसीमा ६८ प्रतिशत ल्याएर उत्तीर्ण गरेपछि २०३५ सालमा काठमाडौं आए ।

पुल्चोक इन्जिनिरङ कलेजमा इन्जिजियङ भर्ना भए । तीन सेमेस्टर चल्दै थियो । त्यही बेला ३६ सालको आन्दोलन शुरु भएको थियो । उनी वेदना परिवारको सम्पर्कमा थिए । उक्त बेला जनताकाे, राष्ट्रकाे गीत गाउने संस्था वेदना परिवार नै थियो । साथीहरूसँगै आन्दोलनमा जनताका गीत गाउनका लागि पढाइ छाडेर गाउँघरतिर लागे ।

2 3

उनी सझन्छन्, ‘सायद त्यो सम्पर्क नभएको भए उहिले नै दक्ष इन्जिनियिर बनिन्थ्यो होला ।’
आन्दोलनको आँधीबेरीसँगै कलेज छाडेर २ वर्ष हिंडेपछि साथीहरू पनि कता कता लागे । संस्था पनि गतिहीन भयो । शर्मा अलमलमा परेका थिए । पढाइ छाडियो, के गर्ने जगिर छैन । अनि जागिर खाने सोच बनाएर मुस्ताङ जिल्ला पुगेका शर्माले त्यहाँको एक विद्यालयमा विज्ञान र गणित विषयको शिक्षकका रूपमा काम गरे ।

आठ कक्षादेखि नै संगीतको बाटो हुँदै राजनीतिमा होमिएका शर्माले पुल्चोक कलेजमा इन्जिनियरिङको अध्ययनलाई तेस्रो सेमेस्टरबाट हात हल्लाउँदै जनताका लागि जीवन समर्पण गरेकाे दाबी गर्छन् । जीवन शर्मा गाउँदैनन् मात्र, गीत पनि आफै लेख्छन् । कहिलेकाहीँ कविहरूका रचनालाई पनि गीति सरगममा ढाल्छन् । साङ्गीतिक क्षेत्रकै नीलिमासँग उनले प्रेमविवाह गरेका हुन् । उनी पनि रक्तिमको अभियानमा निकै कृयाशील छिन् ।

२०३२ सालदेखि संगीतसँग सहकार्य गर्दै आएका शर्मा २०४३ मा रक्तिम सांस्कृतिक परिवारको स्थापना गर्ने अभियानको पर्यायवाची जस्तै बनेका छन् । जीवन शर्मा,र मणि थापा र मोहन चित्रकारसँग मिलेर जीवन शर्माले त्रिचन्द्र कलेजको छेउमा घण्टाघरको मुनि २०४२ सालमा जग हालेको साङ्गीतिक टिमले नै अर्काे वर्ष २०४३ चैत्र १ गते रक्तिम परिवारको आकार ग्रहण गरेको थियो ।

शर्माले इन्जिनियरिङको पढाइ बीचमै छाडे पनि मानवशास्त्र र अङ्ग्रेजीमा डबल स्नातकोत्तर गरेका छन् । सादा जीवन र उच्च विचारलाई जीवनको मूल मन्त्र बनाएका उनी जनताको गीत गाउँदै कहिले नेपालका सुदूर बस्तीहरूमा पुगे त कहिले युरोपका रङ्गीन मञ्चहरूमा पुगेका छन् ।
६२–६३ सालको आन्दोलनपछि विभिन्न देशमा जान थालेका हुन् । साउदी अरब, दुबाई, मलेसिया जस्ता देशहरू पटक पटक पुगेका छन् ।

जापान, अस्टेलिय, कोरिया पुगेका छन् । उनी भन्छन्, ‘अहिलेसम्म ३२ वटा देशमा गाउनको लागि पुगेको छु, जहाँ नेपालीहरू बोलाउँछन् त्यहीं जाने हो ।’ मूलधारका गायकहरूले विदेशी मञ्चलाई आम्दानीको स्रोत बनाए पनि जीवन शर्माले आफ्नो भाउ र रेट कहिल्यै तोकेनन् । बरु विदेशी भूमिमा दुःख गरिरहेकाहरुलाई आतेजाते खर्चकै भरमा देश फर्कन र देश बनाउन जुट्न सचेत गराउँदै गीत गाए ।

सुसेली हालेर वनमा नाच्दै गाउँदै हिँडेको
सम्झना ताजै छ मनमा गाउँमा हाँसेर खेलेको
सुसेली हालेर वनमा नाच्दै गाउँदै हिँडेको
सम्झना ताजै छ मनमा गाउँमा हाँसेर खेलेको
विदेशका गल्ली गल्ली डुल्दैछु कामको खोजीमा
गाउँमै फर्कर्न खोज्दै छ, दाम पैसा केही छैन गोजीमा
सुसेली हालेर वनमा नाच्दै गाउँदै हिंडेको

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७