विष्फोटका घाइतेलाई सुई लगाई बेहोस बनाएर इँटाभट्टामा जिउँदै जलाएका थिए आलमले


१ कार्तिक २०७६, शुक्रबार
congress samsad aftab alam arrest 20191014001559

काठमाडौं, १ कार्तिक । ‘बम विष्फोटपछि उछिट्टिएको छर्रा मेरो छोराको तिघ्रामा लागेको थियो । आत्तिएर भाग्दाभाग्दै उसलाई आलमका मान्छेले लखेटी लखेटी समाते । उपचार गर्न भन्दै उसलाई सुई लगाएर बेहोस बनाए ।

बोरामा कोचे । इँटाभट्टामा लगेर जिउँदै खरानी पारे,’ त्रिलोकप्रताप सिंहका ७९ वर्षीय बाबु भन्छन्, ‘इँटाभट्टामा हात अड्किएपछि बन्चरोले गिँडेर भित्र हालेछन् । सामान्य उपचार पाएको भए मेरो छोरो बाँच्थ्यो । जिउँदै जलाए पापीहरूले ।’

भारतमा स्नातक पढ्दै गरेका छोरा अनाहकमा मारिएपछि न्यायको संघर्षमा ७९ वर्षीय बाबु
भाषणकलामा तेज त्रिलोकप्रताप सिंह (पिन्टु) लाई मोहम्मद अफ्ताव आलमका भाइ महताव आलमले साथमा लिइहाले । अफ्तावको चुनावी प्रचारका लागि १८ चैतमा उनी घरबाट निस्किए । आलमको चुनाव सफल भयो, उनी सांसद र मन्त्री पनि भए । तर, होनाहार युवा पिन्टु कहिल्यै घर नफर्किने गरी अस्ताए । न्यायका लागि १२ वर्षदेखि संघर्षमा छन् पिता श्रीनारायण सिंह ।

६४ चैत – संविधानसभा निर्वाचनको माहोल तात्तिएको थियो । जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट गाउँ फर्किए । बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहोलमा हेलिए ।

भाषण कलामा तेज पिन्टुलाई मोहम्मद अफ्ताव आलमका भाइ महताव आलमले साथमा लिइहाले । अफ्तावको चुनावी प्रचारका लागि १८ चैतमा उनी घरबाट निस्किए । आलमको चुनाव सफल भयो, उनी सांसद र मन्त्री पनि भए । तर, होनाहार युवा पिन्टु कहिल्यै घर नफर्किने गरी अस्ताए ।

२७ चैत, साँझ ६ः१५ बजे – रौतहटकै फरहदवा गाउँ (हालको राजपुर नगरपालिका–२) स्थित शेख इद्रिसको छाप्रोमा बम बन्दै थियो । खासमा विष्फोट गराउने, जनता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले आलमको योजनामा धमाधम बम बनिरहेका थिए । तर, बम बनिरहेकै ठाउँमा विष्फोट भयो ।
बम बनाउन भारतबाट ल्याइएका कैयौं घाइते भए, कैयौंको मृत्यु भयो । घाइतेहरू पीडाले छटपटाइरहेका थिए । अस्पताल लग भन्दै गुहार मागिरहेका थिए । तर, आपैmलाई चुनाव जिताउन बम बनाउँदा घाइते भएकाहरूलाई उपचार होइन, ‘व्यवस्थापन’ गर्ने योजनामा पुगे आलम । उनीहरूलाई उपचार गर्ने भनेर सुई लगाइयो, घाइतेहरू बेहोस भए । शान्त भएका सबैलाई एक–एक गरेर बोरामा प्याक गरियो ।

ट्रयाक्टरमा लोड गरेर नजिकैको आलमकै दाजु मुस्ताफको इँटाभट्टामा पुर्‍याइयो । इँटाभट्टामा हालिएका शरीर खरानी बने । खरानी बन्नेमा २२ वर्षीय युवा पिन्टु पनि थिए ।

छोरो विष्फोटमा परेको खबर सुनेपछि पिन्टुका बुबा श्रीनारायण सिंह भोलिपल्ट घटनास्थल पुगे । प्रत्यक्षदर्शीले विवरण सुनाएपछि वृद्ध बाबु छाँगोबाट खसेझै भए । बम बनिरहेको ठाउँमा तमासा हेरिरहेका पिन्टु खासमा गम्भीर घाइते भएका थिएनन् । ‘बम विष्फोटपछि उछिट्टिएको छर्रा पिन्टुको तिघ्रामा लागेको थियो ।

आत्तिएर भाग्दाभाग्दै उसलाई आलमका मान्छेले लखेटी–लखेटी समाते । उपचार गर्न भन्दै उसलाई सुई लगाएर बेहोस बनाए । बोरामा कोचे । इँटाभट्टामा लगेर जिउँदै खरानी पारे,’ ७९ वर्षीय बाबुले भने, ‘इँटाभट्टामा हात अड्किएपछि बन्चरोले गिँडेर भित्र हालेछन्। सामान्य उपचार पाएको भए मेरो छोरो बाँच्थ्यो । जिउँदै जलाए पापीहरूले ।’

स्नातक पढ्दै गरेको छोरा गुमाएका श्रीनारायण बाँसले बारेको झुप्रोमा जीवन बिताइरहेका छन् । आर्थिक र शारीरिक अवस्था नाजुक छ । तर, अनेक हन्डर खाँदा पनि न्याय पाउने आस मारेका छैनन् । ‘पापीहरूले सजाय पाएको यही आँखाले देखेर मात्र अन्तिम सास फेर्ने धोको छ,’ उनले भने ।

पिन्टुसँगै घटनामा घाइते भएका अर्का नेपाली युवक हुन् ओसी अख्तर । उनलाई पनि जिउँदै खरानी पारियो । २१ वर्षका ओसी विवाहित थिए । मगनी हुँदा ओसी नौ वर्षका मात्र थिए, अझ उनकी श्रीमती आस्ना ६ वर्षकी मात्र थिइन् । पछि उनीहरूको बिहे भयो । आस्नालाई उनकै घरमा भेटियो । उनी भोजपुरी बोल्छिन् । दोभाषेको सहारामा हामीले कुरा गर्दा उनले भनिन्, ‘उहाँ धेरै असल हुनुहुन्थ्यो । हामीले केटाकेटीमै बिहे गरेको, तैपनि उहाँ धेरै जिम्मेवार मान्छे हुनुहुन्थ्यो । मलाई उहाँले खुशीसाथ राख्नुभएको थियो ।’

उनीहरूको छोरा जन्मिए । परिवारको जिम्मेवारी बढेपछि ओसी वैदेशिक रोजगारीका लागि दुबई गए । कमाइ राम्रै थियो । चुनाव हुनु तीन महिनाअघि मात्र उनी गाउँ फर्किएका थिए । ‘उहाँ असाध्यै मिलनसार हुनुहुन्थ्यो । धेरैलाई प्रभावित गर्नुहुन्थ्यो । त्यसैले सबै दलका मान्छे उहाँलाई लिन घरमै आउँथे,’ आस्नाले भनिन्, ‘२७ चैत ०६४ का दिन श्रीमान् घरमै हुनुहुन्थ्यो । उहाँलाई लिन आलमका भाइ आएका रहेछन् । उनीसँगै चुनावी प्रचारमा निस्किनु भयो ।’

आलमका भाइसँग ओसी घरबाट निस्कनासाथ आस्नालाई बाबु समसुल मियाँले फोन गरेका थिए । ज्वाइँ आलमको चुनाव प्रचारमा गएको सुनेर उनी रिसाए । किनकि, आस्नाका बाबु फरक दलका थिए । त्यसैले रिसाउँदै उनी ज्वाइँलाई फर्काउन गाउँतिर लागे । ‘मलाई आलमको परिवारको राजनीति मात्र होइन, आचरण पनि मन पर्दैनथ्यो, त्यसैले उनीहरूको संगतबाट ज्वाइँलाई अलग गराउन चाहन्थेँ,’ ससुरा समसुल मियाँ भन्छन्, ‘घटनास्थल पुग्दा ज्वाइँको कपडा देखें ।

उनी पनि विष्फोटमा परेको अड्कल गरें । गाउँलेलाई सोध्दा हो भनेर निश्चित भएँ ।’ तर, ओसी घाइते मात्र भएको र उपचार भइरहेको भन्दै समसुललाई तुरुन्त घर फर्कन आलमका मान्छेहरूले निर्देशन दिए । ‘तर, त्यहाँ कुनै पनि घाइते रोएको, चिच्याएको आवाज थिएन । उनीहरूलाई सुई लगाएर उपचार भइरहेकाले ‘डिस्टर्ब’ नगरी घर जान भनेर फेरि धम्क्याएपछि म त्यहाँबाट निस्किएँ । तर, घर जान सकिनँ । नजिकैको गहुँबारीमा लुकेर बसें,’ उनले भने ।

बम विष्फोटको ठूलो आवाजले रौतहट नै तरंगित भइसकेको थियो । स्थानीयहरू घटनास्थलतर्फ दौडिँदै थिएँ । आलमका कार्यकर्ताले गाउँ पूरै ‘सिल’ गरिसकेका थिए । बाहिरका मान्छेलाई घटनास्थलतर्फ जान निषेध गरे । छलिँदै पुगेकाहरूलाई ज्यान मार्ने धम्की दिएर फर्किन भने । आलमका कार्यकर्ता बाहेक अरूलाई घरबाट बाहिरिन बन्देज गरियो । एक किसिमले अवैध कफ्र्यु लगाइयो ।

घटनामा मारिएका नेपाली पिन्टु र ओसी हुन् । तर, बम विस्फोटमा जम्मा कति मारिएका थिए भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । किनकि, बम बनाउनेहरू भारतबाट झिकाइएका थिए । उनीहरू करिब २० जना थिए भन्ने गाउँलेको भनाइ छ । तर, प्रहरीले नै अनुसन्धान गर्न भन्दा घटना लुकाउन र प्रमाण नष्ट गर्न लागेकाले मृतकको संख्या निश्चित हुन सकेको छैन ।

बम विष्फोटको सूचना पाएर पनि घटना गुपचुप बनाउन सशस्त्र प्रहरी समेत मिलेको समसुलको दाबी छ । त्यसवेला रौतहटमा सशस्त्रका एसपी रामकृष्ण लामा थिए । उनले एसपी पदबाट अवकाश पाइसकेका छन् । घटना विवरण सुनाउँदै समसुल भन्छन्, ‘बोरामा प्याक गरिएका घाइते र मृतकका शरीर ट्रयाक्टरमा लोड गरिएको थियो । सशस्त्र प्रहरी भ्यानको स्कर्टिङसँगै ट्रयाक्टर खेततर्फ लाग्यो ।

पछ्याउँदै जाँदा मुस्ताफ आलमको इँटाभट्टामा भ्यान र ट्रयाक्टर रोकियो । त्यसपछि बोरामा प्याक गरिएका रक्ताम्मे शरीर इँटाभट्टामा हालिरहेको देखें । भट्टामा नछिरेका शरीरलाई खुकुरी र बन्चरोले छिनाल्दै भित्र हाले । मेरो अनुमानमा १७ भन्दा धेरैलाई खरानी पारे । उनीहरूले थाहा पाएको भए मलाई पनि सिध्याउँथे, त्यसैले सास थाम्दै गहुँबारी हुँदै भागेर ज्वाइँको घर गएँ ।’

त्यसो त श्रीमान् निस्केपछि आस्ना घरधन्दामै थिइन् । गाउँबाट भयंकर आवाज आयो । जमिन नै हल्लियो, उनको मुटु पनि हल्लियो । ‘श्रीमान् घरमा हुनुहुन्थेन, गाउँमा ठूलै अनिष्ट भएझैँ लाग्यो । मन डरायो, तैपनि खोज्न कहाँ जाने ? राति आउनु हुन्छ भनेर पर्खिएँ, तर श्रीमान् होइन, मेरो बुबा आउनु भयो,’ उनले भनिन्, ‘बुबाले जे खबर सुनाउनु भयो, मेरो संसार अन्धकार भयो ।’ ओसी र आस्नाको एउटा छोरा काखमा र अर्को कोखमा थिए । पेटमा दुई महिनाको गर्भ थियो । ‘पीडाले म बेहोस भएछु । ब्युँझेपछि पनि श्रीमानको लास देख्न पाइएन । किरिया गर्न पनि सकिनँ,’ उनी भन्छिन् ।

aalam2019 10 18 06 34 37

सासु रुक्साना खातुनले आस्नालाई धेरै माया गरिन् । त्यसो त छोराको वियोगमा रुक्साना आफै पनि पीडामा थिइन् । उनी अत्याचार सहेर नबस्ने अठोटमा थिइन् । आलमलाई पक्राउ गराउन अड्डा–अदालत धाउन थालिन् । उता, पिन्टुका बाबु श्रीनारायण पनि न्यायको खोजीमा जुटिसकेका थिए । बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर हत्या गरिएको भन्दै आफन्तहरू न्यायको लागि गुहार माग्दै जाँदा रौतहटमा दुर्गाप्रसाद भण्डारी सिडिओ र लक्ष्मण न्यौपाने नेपाल प्रहरीका एसपी थिए । घटनाको अनुसन्धान अधिकृत तत्कालीन इन्स्पेक्टर राजीव बस्नेत थिए ।

हाल उनी डिएसपी छन् । यस्तो गम्भीर घटनाको अनुसन्धानमा सक्रियता देखाउनुको साटो प्रहरीले जाहेरी दर्ता गर्न समेत मानेन । उल्टै प्रमाण गायब गराउनतर्फ लाग्यो । चर्काे राजनीतिक दबाबका कारण प्रहरीले जघन्य अपराधको अनुसन्धानमा चरम लापरबाही गरेको थियो । तर, प्रमाण नपुगेको भन्दै जिप्रकाले जाहेरी नै लिएन । श्रीनारायण र रुक्साना काठमाडौं पुगे ।

मानअधिकारवादी संघसंस्था र बार एशोसिएसनको टोलीसहित उनीहरू रौतहट फर्किए । तर, मानवअधिकार आयोग, नेपाल बार एशोसिएसन र इन्सेकको टोली गाउँ छिर्न खोज्दा आलमका मान्छेहरूले अवरोध गरे ।

पछि जोडबल गरेर टोली घटनास्थल पुग्न सफल भयो । तर, त्यतिन्जेलसम्म विष्फोट भएको टहरो पूरै फेरिएको थियो । भित्ता र छानो फेरिएको थियो, भुइँ पोतिएको थियो । गाईलाई खुवाउने भुसा भरेर टहरोमा बाहिरबाट ताल्चा लगाइएको थियो । तैपनि, कहींकतै बमको छर्रा अभैm बाँकी देखिएपछि अनुसन्धान टोलीले बम विष्फोट भएको निष्कर्ष निकालेको थियो ।

त्यतिन्जेलसम्म तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र प्रहरी महानिरीक्षक ओमविक्रम राणा रौतहट पुगेको र उजुरी दर्ता नगराउन जिल्ला प्रहरीलाई दबाब दिएको पीडितहरू बताउँछन् । माथिकै दबाबमा प्रहरीले उजुरी दर्ता गर्न मानेन । त्यसपछि अधिकारकर्मीहरूले ८ वैशाख ०६५ मा हुलाकमार्फत जाहेरी पठाए ।

हुलाकबाट आएको हुनाले उजुरी दर्ता गर्न प्रहरी बाध्य भयो । तैपनि मुद्दा बनाउन आलटाल ग¥यो । १८ वैशाखमा प्रहरीले हुलाकबाट आएको जाहेरीलाई मान्यता दियो । अब अनुसन्धानका लागि आलमलाई कुनै हालतमा पक्राउ गर्नुपर्ने भयो । तर, प्रहरीले पक्राउ गर्नुअघि नै भोलिपल्टै आलम आफै जिल्ला प्रहरी कार्यालय पुगे । तर, प्रहरीले उनीविरुद्ध प्रमाण नपुगेको भनेर तुरुन्तै घर पठाई दियो । मानवअधिकारवादीको दबाब बढेपछि प्रहरी औपचारिकता पूरा गर्न लाग्यो ।

अनुसन्धानका लागि घटनातर्फ पुग्यो र पूरै फेरिएको टहरोको फोटो खिच्यो । घटनास्थलमा भेटिएको केही कपडा पनि संकलन गर्‍यो । इँटाभट्टाबाट खरानी उठाइयो, तर जुन भट्टामा जिउँदा मान्छेहरू हालिएको थियो, त्यसबाट होइन– अर्कैबाट । यसरी सुल्टो होइन उल्टो अनुसन्धान गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दाको फाइल बुझायो । तर, सरकारी वकिल कार्यालय रौतहटले प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गर्‍यो ।

त्यतिवेला रौतहटका जिल्ला न्यायाधिवक्ता रहेका धुव्रमणि ज्ञवाली हाल उच्च सरकारी वकिल कार्यालय वीरगन्जमा सहन्यायाधिवक्ताका रूपमा कार्यरत छन् । पीडितहरू मुद्दा दर्ता गरिपाऊँ भनी महान्यायाधिक्ताको कार्यालय पुगे । तर, महान्यायाधिवक्ताको कार्यालयले समेत सरकारी वकिल कार्यालयकै निर्णयलाई सदर गरेर आलमविरुद्ध मुद्दा नलाग्ने निर्णय गरेको थियो । पीडितहरूले सरकारको सहयोग खोज्दै रौतहट र काठमाडौँ धाउँदा यज्ञमूर्ति बञ्जाडे महान्यायाधिवक्ता थिए ।

तत्कालीन महान्यायाधिवक्ता बञ्जाडेले पुरानो घटना भएकाले आफूलाई धेरै याद नभएको बताए । तर, प्रहरीले नै उजुरी कोविरुद्ध हो भन्ने स्पष्ट नपारेकोेले मुद्दा चलाउन नसक्ने निर्णय गरिएको उनले बताए । ‘प्रहरी अनुसन्धानमा कसले मारेको भनेर उल्लेख नै थिएन ।

उता, लास समेत भेटिएनन् । त्यसैले थप अनुसन्धान आवश्यक छ, अहिले नै मुद्दा चलाउन मिल्दैन भनेर मैले निर्णय गरेको हुँ,’ उनले भने, ‘दिनमा हजारौँ निर्णय गर्नुपथ्र्यो, अरू विवरण याद भएन ।’ यति ठूलो घटनाको विषयमा त याद हुनुपर्ने हो नि ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘घटना मिडियाले ठूलो बनाएको हो, हुन त सामूहिक हत्या ठूलै घटना पनि हो ।’

पीडितहरूका लागि एउटै मात्र विकल्प रह्यो, सर्वोच्च अदालतको ढोका । रुक्साना र श्रीनारायण पढे–लेखेका र दुनियाँ जानेका मान्छे होइनन्, गाउँले सर्वसाधारण हुन् । तर, न्यायका लागि रौतहट, हेटौँडा र काठमाडौं धाइरहेका थिए । उनीहरूको आवाजले न्याय पाउने आशा बढ्दै गएको थियो । तर, १० माघ ०६७ मा रुक्साना खातुनलाई गाउँमै गोली हानियो । छोरा गुमाएकी आमा न्यायको लडाइँमा सहिद भइन् ।

त्यो दिन अपराह्न साढे ४ बजे उनी माइतीबाट फर्कंदै थिइन् । नकाव लगाएका व्यक्तिले उनलाई गोली हानेर खेतमा ढलाए । उनलाई देवर नाता पर्ने दुदमियाँ कवारीले गोली हानेको अनुसन्धानमा खुल्यो । तर, रुक्सानाका श्रीमान्ले जाहेरी दिन मानेनन् किनकि आलमले चार कट्ठा जमिन उनको नाममा दिने प्रलोभन दिएका थिए ।

त्यसैले रुक्सानाको हत्या आलमले गराएका हुन् भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन । जिप्रका रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले भन्छन्, ‘यो घटनामा आलम पनि जोडिन्छन् कि भनेर हामीले बल्ल अनुसन्धान गर्दै छौँ । किनकि त्यतिवेला जाहेरी नै परेन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७