फाइनान्सको आठ करोड हिनामिना गरी फरार खत्री पक्राउ, रकम नबुझाएपछि कारागार चलान


२ कार्तिक २०७६, शनिबार
Bank

काठमाडौं, २ कार्तिक । एक फाइनान्स कम्पनीको आठ करोड ५० लाख कर्जा हिनामिना गरी फरार भएका व्यक्ति पक्रापछि कारागार चलान भएका छन् ।

बैंकिङ कसुरमा पक्राउ गरिएका उनलाई रकम नबुझाएपछि कारागार चलान गरिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर साबिक नंखेल गाविस हाल सूर्यविनायक नगरपालिका–९ का ४७ वर्षीय प्रकाशराज खत्रीलाई शुक्रबार पक्राउ गरेको हो ।

उनलाई बैंकिङ कसुरमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते सो बराबरको रकम जरिवाना हुने फैसला गरेको भक्तपुर परिसरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए ।

पक्राउ परेपछि परिसरले शुक्रबार नै खत्रीलाई भक्तपुर जिल्ला अदालत भक्तपुरमा पेश गरेको थियो । खत्रीले जरिवाना बापतको रकम बुझाउन नसकेपछि अदालतले नख्खु कारागार चलान गरेको छ । खत्रीले जरिवाना बापत १३ वर्ष कैद भुक्तान गर्नुपर्ने अदालतले आदेश दिएको छ ।

एसपी प्रधानका अनुसार क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स भक्तपुर शाखाबाट खत्रीले सो बराबरको रुपैयाँ कर्जा बापत लिएका थिए । लामो समय ताकेता गर्दा पनि खत्रीले कर्जा भुक्तानी नगरेपछि फाइनान्सले उनीविरुद्ध अदालतमा जाहेरी दिएको थियो ।

सोही जाहेरीका आधारमा अदालतले खत्रीलाई कर्जा बापतको रकम असुल गराउने फैसला गरेको थियो । खत्री जग्गा कारोबारी रहेको खुल्न आएको छ । खत्रीले समूह खडा गरी कम्पनी दर्ता समेत गरेर फाइनान्सबाट सोही बराबरको कर्जा लिएको प्रहरीले जनाएको छ । हाल यो फाइनान्स समस्याग्रस्त सूचीमा छ । खराब कर्जा बढेपछि वि.सं. २०६९ माघ ९ गते राष्ट्र बैंकले यसलाई समस्याग्रस्त घोषित गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७