नेपालमै पहिलोपल्ट सौराहामा रात्रिकालीन जीप सफारी


२ कार्तिक २०७६, शनिबार
jip safari 1
फाइल फोटो

चितवन, २ कार्तिक । पर्यटन भ्रमण वर्ष–२०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाइ लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी गरिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको उनले बताए । ‘सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी गरेका छौं’, उनले भने, ‘पहिलो चरणको स्थलगत निरीक्षण भइसकेको छ ।’

उनले छिट्टै सांसद, जनप्रतिनिधि, निकुञ्ज, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधिसहितको सर्वपक्षीय छलफलको आयोजना गरेर जीप सफारीको अन्तिम निर्णय लिइने बताए । रात्रिकालीन जीप सफारी नेपालमै पहिलो भएको उनको दाबी छ ।

सफारी हुने क्षेत्रको एकापट्टि मध्यवर्ती सामुदायिक वन र अर्कापट्टि निकुञ्ज क्षेत्र राप्ती नदी पर्छ । राप्ती नदीको किनारमा झण्डै चार घण्टाको जीप सफारी गर्न सकिने भट्टराईले बताए । सौराहादेखि लोथरसम्म झण्डै ३० किलोमिटरको दूरी पर्छ ।

‘पर्यटन भ्रमण वर्ष–२०२० मा चितवन आउने पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले यो प्याकेज ल्याउन लागेका हौं’, उनले भने, ‘यसले आन्तरिक र बाह्य पर्यटक बढ्ने अपेक्षा गरेका छौं ।’

कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले रात्रिकालीन जीप सफारीले मध्यवर्ती सामुदायिक वनको आयआर्जन वृद्धि हुने बताए । ‘आम्दानीको ६० प्रतिशत वनकै संरक्षणमा खर्च गर्ने गरेका छौं’, उनले भने, ‘रात्रिकालीन जीप सफारीसँगै संरक्षणका थप कार्यक्रम समेत ल्याउने तयारी गरेका छौं ।’ जङ्गल सफारीका लागि आउने पर्यटकका लागि यो रात्रिकालीन सफारी नयाँ प्रयोग हुने उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेतीले राज्यले घोषणा गरेको महाअभियान पर्यटन वर्षका लागि चितवन राष्ट्रिय निकुन्जको साथ रहने बताए ।

उनले भने, ‘हामी निकुञ्जको ऐन नियमको परिधिमा छौं, त्यसका आधारमा मात्र विभिन्न गतिविधि गर्न सक्छौं, संरक्षणसँगै पर्यटनका गतिविधि हुन्छ ।’ उनले निकुञ्जमा जीप सफारी र अन्य गतिविधि गर्दा संरक्षणमा विशेष ध्यान दिइनुपर्ने बताए ।

‘निकुञ्जमा पर्यटक घुमाउन प्रयोग हुने जीप प्रदूषणको मापदण्ड पूरा गरी हरियो स्टिकर टाँसेको हुनुपर्छ, कानूनी र भौतिक हिसाबले सुरक्षित हुनुपर्छ’, उनले भने । निकुञ्जभित्र सकेसम्म विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

पछिल्लो समय निकुञ्जभित्र प्रवेश गर्ने सवारीसाधनमा निकुञ्जले ट्राकिङ डिभाइस जडान गरेको उनले जानकारी दिए । उनले डिभाइसमार्फत कुन गाडी कहाँ र कस्तो अवस्थामा छ भन्ने जानकारी निकुञ्जको कार्यालयमै बसेर हेर्न सकिने बताए ।

विशेष् गरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जीप सफारीका लागि पर्यटक सौराहा आउने गरेका छन् । साना तथा ठूला १५० होटल र ८० रेष्टुराँ रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ । गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७