२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


२ कार्तिक २०७६, शनिबार
vitamin

काठमाडौं, २ कार्तिक । आज शनिबार र आइतबार देशका सबै पालिकामा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ ।

कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्बान्डाजोल), ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा खुवाइने कार्यक्रम रहेको छ ।

त्यस्तै पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ ।
बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा त्यही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।

मन्त्रालयले पछिल्लो समय यो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगतका वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । ती कार्यक्रमका लागि झण्डै तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक ४०० रुपैयाँ भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुवात भएको थियो ।

विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए । उनले भने, ‘भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।’

किन आवश्यक पर्छ भिटामिन ए ?
बालबालिकालाई रोगसँग लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताए ।

यसैगरी त्यही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्बान्डाजोल खानापछि खुवाइने छ । जुकाका कारण रक्त अल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ ।
यसैगरी बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँच वर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् ।

पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहाराका बारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत रहेको छ । बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७