फोहोर पानी प्रशोधन केन्द्र निरिक्षणपछि मन्त्री मगरले भनिन्,‘बागमतीमा ढुक्क भएर नुहाउन सकिने पानी बग्दैछ’


२ कार्तिक २०७६, शनिबार
bina magar water minister 1

काठमाडौं, २ कार्तिक । खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले बागमतीमा नुहाउने सकिने पानी बग्ने बताएकी छिन् । काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको शनिबार निरिक्षण गर्दै मन्त्री मगरले निर्माणकार्य अन्तिम चरणमा पुगेको र छिटै उद्घाटन समेत हुने बताएकी हुन् ।

निर्माणकार्य सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिने उनले बताइन् । उक्त केन्द्र सञ्चालमा आएपछि हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा सफा पानी बहने भन्दै बागमतिमा ढुक्क भएर नुहाउन सकिने पनि उनले जानकारी दिइन् ।

उनले ऐतिहासिक महत्व बोकेको बागमती नदी सफाइका लागि सरकारले अभियान सञ्चालन गरेको बताइन् । केन्द्रको निर्माण हुन बाकी ५ प्रतिशत पनि छिटै सम्पन्न हुने उनले दावी गरिन् । अबको ३ महिनापछि हिन्दू धर्मावलम्बीले पशुपतिनाथ मन्दिर क्षेत्रमा बागमतीको पानीमा सिधै नुहाउन सक्ने उनले बताइन् ।

उनले भनिन्, ‘पशुपति क्षेत्रमा सफा पानी बगाउने हाम्रो लक्ष्यलाई हामीले अन्तिम चरणमा पु¥याइरहेका छौँ र पशुपति दर्शन गर्न आएका बेला बागमतीमा नुहाउने सबै दर्शनार्थीको चाहना, हाम्रो परम्परा, हाम्रो आस्था र हाम्रो संस्कारसँग जोडिएको बागमती नदीको महत्वलाई जिवन्त राख्न सफल हुने क्रममा छौँ। बागमतीलाई प्राण भरिदिने र हाम्रो संस्कार दाहसंस्कारदेखि पूजापाठसम्मलाई सहजीकरण गर्न सफा पानी बगाउन काम गर्ने भूमिका अन्तिम चरणमा पु¥याएका छौँ।’bina magar water minister 2

मन्त्री मगरले बागमती प्राकृतिक रुपमा फर्कन पाओस्, जीवन पाओस् भन्ने चाहनालाई यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। बागमतीको मुहानदेखि पशुपतिनाथको मन्दिर क्षेत्रमा सफा पानी छिटै बगेको देख्न पाइने उनले बताइन्। द्रूत गतिमा आयोजनाको काम भएकोमा आफूलाई खुसी लागेको बताउँदै उनले पशुपतिमा आउने भक्तजनलाई सफा पानीको अनुभूति गराउनमा सफल हुने विश्वास समेत व्यक्त गरिन् ।

उक्त केन्द्र आगामी पुससम्ममा निर्माणकार्य सम्पन्न गर्ने तयारी छ । एसियाली विकास बैंकको २ अर्ब ५५ करोड लागतमा निर्माणाधीन आयोजना सम्पन्न भएपछि ३९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने बताइएको छ ।

शनिबार खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना कार्यान्वयन इकाइका प्रमुख भोजविक्रम थापा लगायतको टोलीले पानी प्रशोधन केन्द्रको अवलोकन गरे ।
एसियाली विकास बैंकको आर्थिक सहयोग रहेको यो आयोजनाको लागत २ अर्ब ५५ करोड रहेको छ। यहाँबाट ३ सय ९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने छ भने दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन हुनेछ।

झन्डै ४ वर्षअघिदेखि निर्माण थालिएको यो आयोजना आउँदो पुसमा सपन्न गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा काठमाडौंको गोेकर्णदेखि गुहेश्वरीसम्म पानी प्रशोधन गर्न लागिएको हो। यस्तै ललितपुरको धोवीघाट तथा बालकुमारीमा पनि पानी प्रशोधन केन्द्रको निर्माण थालिएको छ। धोबिघाटमा यो परियोजना लागि मात्रै ६ सय रोपनी जग्गा छुट्याइएको छ। धोबिघाटको योजना सम्पन्न गर्न झन्डै ५ खर्ब बजेटको अनुमान गरिएको छ ।

सरकारले काठमाडौंका नदीबाट दैनिक १३ करोड लिटर पानी प्रशोधन गर्ने लक्ष्यका साथ काम गरिरहेको मन्त्रालयका सचिव माधव वेल्वासेले जानकारी दिए। बागमतीको मुहानछेउ धापमा पानी संकलन केन्द्र बनाइएको र हिँउदमा त्यो पानी नदीमा बहाइने र अन्य नदी सफाइका लागि पनि काम भइरहेको उनले बताए।


लेदोबाट कम्पोष्ट मल, ग्यासबाट बिजुली
६ किलोमिटर बागमती नदीको पानी प्रशोधनका क्रममा दैनिक ७ टन लेदो जम्मा हुने अनुमान गरिएको छ। यसरी जम्मा भएको लेदोको ग्यासबाट दैनिक ३ सय २० किलोवाट विद्युत उत्पादन हुनेछ भने लेदोबाट प्रतिदिन ७ टन कम्पोस्ट मल निस्कनेछ।bina magar water minister 3

यसरी निस्किएको मल अन्नबाली तथा तरकारी खेतीका लागि उपयुक्त हुने काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना प्रमुख सुरत बमले जानकारी दिए। ग्यास उत्पादनका लागि पानी प्रशोधन केन्द्रमा ‘एनेरोबिक डाइजेष्टर’को निर्माण गरिएको छ।

सो स्थानमा यसअघि निर्माण भएको पुरानो प्रशोधन केन्द्र र नयाँ अत्याधुनिक प्रशोधन केन्द्रबाट पनि पानी प्रशोधन गरिने भएको छ। यहाँबाट प्रशोधन भएको पानी पिउन योग्य नभएपनि नुहाउनसम्म हुने जानकारी दिइएको छ।

आयोजना प्रमुख लिलाप्रसाद ढकालले हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा सफा पानी बहने भन्दै ढुक्क भएर नुहाउन सकिने पनि जानकारी दिए।

‘प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि पौडी खेल्न र पशुपति क्षेत्रमा ढुक्क भएर नुहाउन सकिन्छ’, उनले भने, ‘हामीले आयोजना आगामी पुसभित्र सम्पन्न गर्नेगरी काम गरिरहेका छौं। अहिलेको प्रगतिको अवस्था हेर्ने हो भने ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।’

फोहोर पानी प्रशोधन केन्द्रमा पानीमा बगेर आएको फोहोर तथा लेदो संकलन गर्ने प्रविधि रहेको छ। एउटा गन्ध आउने यूनिट रहने र अर्को गन्ध नआउने युनिट रहन्छ।

यसरी प्रशोधन गरिएको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कृषि प्रयोजनका लागि प्रयोग गर्न सकिने आयोजना प्रमुख सुरत बमले बताए। उद्योगको मेसिनमा कुलिङ गर्न, सडक सफा गर्न, सिंचाई गर्न सकिने बताए। फोहोर पानीमा भएको लेदोबाट बिजुली निस्कने प्रविधी राखिएको छ।

‘बायोलोजिकल रियाक्टर’ प्रणाली अर्थात फोहोरमा रहेका किरालाई पानीमा रहेको फोहोर खाएर सफा गर्ने प्रणालीलाई पनि पानी प्रशोधन विधिमा समेटिएको जानकारी दिइएको छ। ती किराका लागि आवश्यक तापक्रम मिलाउने प्रणाली पनि मिलाउनुपर्ने उनको भनाइ छ।

आयोजना प्रमुख बमले लुकेर सर्वसाधारणले नदीमा फोहोर फ्याँकेमा भने यसरी प्रशोधन गर्नुको अर्थ नहुने भन्दै यसमा सर्वसधारणले सहयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७