‘नेपाल भ्रमण वर्ष-२०२०’ भव्य बनाउन एनआरएनएसँग १७ बुँदे समझदारी

हरेक नेपालीले एक पर्यटक नेपाल पठाउनु पर्ने, विश्वभर गाडी र होटलमा भ्रमण वर्षको स्टिकर


३ कार्तिक २०७६, आईतवार
tourism ijCPC0PPEM

काठमाडौं, ३ कार्तिक । नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु गरिएको ‘नेपाल भ्रमण वर्ष–२०२० का लागि गैरआवासीय नेपाली संघ एनआरएनएसँग १७ बुँदे समझदारी गरिएको छ ।

भ्रमण वर्षलाई सरकारी लक्ष्य अनुसार नै सफल बनाउन भ्रमण वर्षको सचिवालय र एनआरएनएबीच आज समझदारी भएको छ ।

नेपाल पर्यटन बोर्डमा आइतबार भएको समझदारी अनुसार एक जना गैरआवासीय नेपालीले एक जना पर्यटक नेपाल पठाउनु पर्नेछ । सबैभन्दा धेरै पर्यटक नेपाल पठाउने व्यक्ति वा संस्थालाई सरकारले सम्मान गर्ने समेत समझदारी पत्रमा उल्लेख छ ।

समझदारीमा गैरआवासीय नेपाली संघका नव नियुक्त अध्यक्ष कुमार पन्त र ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले हस्ताक्षर गरेका छन् ।
यी हुन् १७ बुँदे समझदारी

१) संघले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सन्दर्भमा विश्वभरबाट एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ अभियान सञ्चालन गर्नेछ । उक्त कुराको अभिलेखीकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने छ । सचिवालयले सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नको लागि नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ ।

२) संघले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अवधिभर संघका विश्वभर गरिने औपचारिक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने छ । संघको आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भूमिका सचिवालयले निर्वाह गर्नेछ ।

३) संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सन् २०२० मा ‘Spend Holiday in Nepal with Family and Friends’ अभियान सञ्चालन गर्नेछ ।

४) संघले विदेशमा रहेका नेपाली दूतावास र नियोगहरुमा ’भ्रमण वर्ष प्रवर्धन कक्ष’ स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने छ ।

५) ‘नेपाल भ्रमण वर्ष’ २०२० को प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभर विश्वका प्रमुख शहरहरुमा कार तथा साइकल र्‍याली गर्नेछ ।

६) संघका विश्वभर रहेका सदस्य तथा विभिन्न नेपाली संघ–संस्थामा आबद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यवसायिक साझेदार संघ संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नेछ ।

७) संघले गैरआवासीय नेपालीका विश्वभरमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपालसम्बन्धी आकर्षक प्रचार सामाग्रीहरु राखी प्रचारप्रसार गर्ने तथा प्रचारप्रसारका सामाग्रीहरु वितरण गर्नेछ ।

८) संघले विश्वभर छरिएर रहेको सम्पूर्ण सदस्य लगायतका नेपाली तथा विदेशी मित्रहरुका सवारी साधनहरुमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ लोगो सहितको स्टिकर टास्ने व्यवस्था मिलाउने छ ।

९) संघले विश्वभरिमा कम्तीमा ५० देशमा मिस एनआरएन इन्टरनेशनल आयोजना गर्ने र प्रतियोगिताको फाइनल २०२० जुन महिनाभित्र नेपालमा गर्नेछ ।

१०) सचिवालय र संघको समन्वयमा आउँदो जनवरीको पहिलो हप्तामा हुने नेपाल भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउनका लागि सम्बन्धित देशका कुटनीतिक नियोगहरुसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने छ ।

११) संघले सम्बन्धित देशका सञ्चारमाध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्नेछ ।

१२) सचिवालय र संघको समन्वयमा विश्वभर रहेका नेपाली तथा विभिन्न संघ(संस्थाहरुको सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामाग्रीको प्रवाह गरिनेछ ।

१३) संघले विश्वभरका विभिन्न देशहरुका सार्वजनिक ठाउँहरु जस्तै बस स्टेशन, रेल्वे स्टेशन तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रचार सामग्री वितरण गर्ने, प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

१४) सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टुर अपरेटर, मिडियालगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवर्धन गर्नेछ ।

१५) सचिवालयले कुटनीतिक नियोगसँग समन्वय गरी सम्बन्धित देशमा वितरण गरिने प्रचारात्मक सामग्री उत्पादन गरी वितरण गर्नेछ ।

१६) सचिवालयले एक नेपालीले कम्तीमा ’एक विदेशी साथी नेपाल पठाऊ’ अभियान अन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाहरुका लागि विभिन्न किसिमको छुटको व्यवस्था मिलाउने छ ।

१७) उल्लेखित कार्यहरुमा लाग्ने आर्थिक स्रोतको प्रबन्ध संघले गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७