भाइटीकाको साइत ११ः५५ बजे


३ कार्तिक २०७६, आईतवार
bhai tika 1

काठमाडौं, ३ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

कार्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताएका छन् । कार्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरेपनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

यस वर्ष यमपञ्चक कार्तिक ८ गते शुक्रबारदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कार्तिक गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कार्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कार्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औंशी तिथि पर्दछ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म(म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

कार्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कार्तिक १२ गते नै गरिन्छ । कार्तिक १३ गते बिहान ६स्१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कार्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७