आधुनिक कृषि फार्ममा ढकमक्क सयपत्री


४ कार्तिक २०७६, सोमबार
SR Palpa fulkhetidiluthapabejhandpalpa

गलेश्वर, ४ कार्तिक । हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियाली ग्रुपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ ।

जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा रु छ करोडको लगानीमा हरियाली गु्रपले सञ्चालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा यतिबेला ढकमक्क फुलेका सयपत्री फूलले वातावरण नै सुन्दर बनाई दिएको छ ।

सो फार्ममा तरकारी खेती, माछापालन, मौरीपालन, फूल र ‘ड्रागन फ्रुट’ (सिउँडी फल) को व्यावसायिक खेती शुरु गरेको हरियाली ग्रुप सञ्चालक समितिका सदस्य तथा २ नम्बर फिल्डका इञ्चार्ज केदार पौडेलले जानकारी दिए । नजिकिंदै गरेको तिहारलाई लक्षित गरेर पहिलो पटक छ रोपनी जग्गामा तीन हजार ५०० वटा सयपत्री फूलका बिरुवा लगाइएको र ती फूलका बोटमा अहिले ढकमक्क फूल फुलेका छन् । फूल लगाएको ठाउँको माथिल्लो भागमा सेरेना जातका १०० घार मौरी रहेका छन् ।

यहाँको फूलको माग सदरमुकाम बेनीलगायत म्याग्दीका विभिन्न क्षेत्रमा नै खपत हुने गरेको छ । त्यसैगरी, म्याग्दीमा कतै नगरिएको ‘ड्रागन फ्रुट’ का १०० बिरुवा पनि लगाइको तरकारी फिल्डका इञ्चार्ज बुद्धि सुनारले जानकारी दिए ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो ।

विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामूहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकको ‘आमूल’ मोडललाई पछ्याउँदै सोही मोडललाई समावेश गरी फार्म सञ्चालन गरिएको फार्मका सञ्चालक एवं फिल्ड इञ्चार्ज पौडेलले बताए । पौडेलका अनुसार यो फार्म म्याग्दीका लागि पाइलट प्रोजेक्ट हो ।

‘कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ’, पौडेलले भने, ‘यसबाट स्थानीयलाई रोजगारी तथा फूल, तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाइ बाहिरी जिल्लामा निर्यात गर्ने उद्देश्य रहेको छ ।’

कूल ३६ जना कृषकको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ । कृषकलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा छ–छ महिनामा अग्रिम भुक्तानी दिने गरिएको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताउनुभयो । निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पक्षी कालीज पालन गर्ने तयारी गरिएको छ ।

कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ३२ जना कर्मचारी तथा मजदूरमध्ये अधिकांश जग्गाधनी छन् । जग्गाको भाडासँगै रोजगारी पाउनुका साथै खडेरी, मल–बीउ, कृषि मजदूर, लगानी अभावको समस्याबाट कृषकले मुक्ति पाएको जग्गाधनी भगवान खड्काले बताए ।

‘बजार नजिक, सडक सुविधा, अनुकूल हावापानी र ठूलो फाँट भए पनि खण्डीकृत जमीन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिँचाइको अभावले कृषि जीविकोपार्जनमा सीमित थियो’, खड्काले भने, ‘समूहकृत खेती शुरुआत भएपछि अवस्था फेरिएको छ ।’

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरी लिफ्ट प्रविधिबाट पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको छ । बाह्रै महिना नियमित खेती गर्न सकिने भएको छ । सात वटा पोखरीमा २७ हजार रघु, नैनी, ग्रास र कमनकार्प जातका माछा पालिएको छ ।

मासु र अण्डाका लागि छुट्टाछुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको छ । सय घारमा माहुरी पालिएको र सय रोपनी खुला जमीन र सामान्य टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रविधिको प्लास्टिक घरभित्र तरकारी लगाइएको छ । रु ४० लाख बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको पौडेलले जानकारी दिए । कम्पनीमा आबद्धबाहेक अन्य साना कृषकले पनि कम्पनीको मापदण्ड र गुणस्तरअनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाउने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७