एकताको सहमति तोडिंदैन, भ्रममा नपरौं : प्रचण्ड


५ कार्तिक २०७६, मंगलवार
Prachanda

पाँचथर, ५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका क्रममा भएका सहमतिहरु तोड्न नसकिने बताएका छन् ।

बाहिर समाचारमा आए जस्तै प्रधानमन्त्री ओलीसँग आफ्नो दूरी नबढेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले भने, ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौ । कसैले पनि सहमति तोडेको छैन ।’

मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन नभएको भए पार्टी एकता घोषणा भएर यो अवस्थासम्म नआइनपुग्ने बताएका छन् । उनले मुलभूत रुपमा सहमति कार्यान्वयन गरेरै आज दुई पार्टी मिलेर नेकपा बनेको पनि बताएका छन् ।

केही दिनयता प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमति कार्यान्वयन नभएको भन्दै आरोप प्रत्यारोप चलेको थियो । तर, प्रचण्डले मंगलबार मिडियामा आएका कुराहरु भ्रम मात्रै भएको दावी गर्दै होहल्ला र प्रचारबाजीको भर नपर्न आग्रह गरे ।

उनले आफू र अर्का अध्यक्ष ओलीबीच सहमतिमै सबै कुरा अगाडि बढिरहेको भन्दै आगामी महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्न तयार रहेको पनि बताए ।

‘मिडियामा आएका कुराहरुलाई लिएर भ्रममा नपर्न आग्रह गर्छु । हामी समझदारीबाटै अघि बढ्छौ’ प्रचण्डले भने, ‘हिजो मात्रै पनि प्रधानमन्त्रीसँग दुई घण्टा मेरो कुुराकानी भयो । वातावरण सकारात्मक छ । अब छिट्टै सहमति कार्यान्वयन हुन्छ ।’ प्रचण्डले मन्त्रिमण्डल विस्तारको कुरा प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्ने भएकाले आफूले त्यसमा केही नबोल्ने टिप्पणी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७