अहिलेको समयमा ओली-प्रचण्डबीच विवाद हुनु देशकै लागि दुर्भाग्य : नेता पौडेल


५ कार्तिक २०७६, मंगलवार
Devend

काठमाडौं, ५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डबीच विवाद हुनु देशकै लागि दुर्भाग्य हुने बताएका छन् ।

उनले समाचारहरुमा आए जस्तो अध्यक्षद्वय ओली–प्रचण्डबीच दूरी नबढेको दावी गर्दै अहिलेको खटपट सामान्य भएको बताए । आ–आफ्ना भिन्न सोच र शैलीका कारण केही असमझदारी भएको जस्तो देखिए पनि बाहिर मिडियामा आएको जस्तो विवाद दुई अध्यक्षबीचमा नभएको पौडेलले दावी गरे ।

मंगलवार राजधानीमा आयोजना आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले ओली र प्रचण्डबीचमा अहिले विवाद भयो भने देशकै लागि दुर्भाग्य हुने बताए । ‘कार्यशैली , सोच र स्वभावका कारण केही विवाद भएको जस्तो देखिएको हो तर उहाँहरुको बीचमा कुनै गम्भीर मतभेद छैन ।’

यसैबीच पौडेलले अहिले नै नयाँ सभामुख को हो भनेर चर्चा गर्नु हतार हुने पनि बताएका छन् । तत्कालीन सभामुखले नैतिकताका आधारमा राजीनामा दिएर अहिले अनुसन्धानको क्रममा रहेकाले अहिले नै नयाँ सभामुखको खोजी गर्न नहुने उनको भनाइ थियो । अब नयाँ सभामुख चयन गर्दा विधि र प्रक्रिया बमोजिम दलीय सहमतिका आधारमा चयन हुने पनि पौडेलले बताएका छन् ।

सोहि कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्तारुढ नेकपाले यसअघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका आधारमा संविधान मिचेर चयन गरेको दाबी गर्दै अब भने नेपाली कांग्रेसले त्यस्तो प्रवृतिको सशक्त प्रतिवाद गर्ने बताए । संविधान बमोजिम सभामुख उपसभामुख फरक दलबाट हुनपर्ने व्यवस्थालाई यसअघि नेकपाले उलंघन गरेको उनले आरोप लगाए ।

विश्वकर्माले पछिल्लो समय माननीयहरुका बारेमा आएका समाचार निकै लज्जाको विषय भएको भन्दै संविधान भन्दा माथि कोहि नभएकाले जुन सुकै ओहदाको भए पनि दोषीलाई कानुन बमोजिम कारवाही गर्नुपर्नेमा कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७