आइजीपी खनालको कार्यकाल अब ११२ दिन मात्र, बढ्यो नेतृत्व परिवर्तनको ‘सरगर्मी’


५ कार्तिक २०७६, मंगलवार
igp khanal

काठमाडौं, ५ कार्तिक । नेपाल प्रहरीमा नेतृत्व परिवर्तनको सरगर्मी सुरु भइसकेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल अब एक ११२ दिन मात्र बाँकी छ ।

२९ माघपछि खनालसहितको उनको ब्याचले अनिवार्य अवकाश पाउनेछ । त्यसपछिको अवस्थामा डीआईजीबाटै आईजीपीमा बढुवा गर्नुपर्ने अवस्था छ । किनकि सबै त्यही दिन अवकाश पाउने छन् ।

खनालकै बैकल्पिक टोलीका रुपमा भर्ना भएका ठाकुर ज्ञवाली र तारिणी लम्साल त्यसपछिको आईजीपीका प्रमुख दाबेदार हुन् । ज्ञवाली प्रदेश नम्बर १ तथा लम्साल सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।

अहिलेको सरकारसँग ज्ञवालीको निकट सम्बन्ध भएकाले उनलाई नै भावी आईजीपीका रुपमा हेरिएको छ । विगतमा कांग्रेससँग निकट भएकाले लम्साललाई गाह्रो छ । डीआईजीको पदस्थापनमा पनि सुदूरपश्चिम प्रदेशमा परेका थिए । उनीहरुसँगै भर्ना भएका सूर्यप्रसाद उपाध्याय पनि शक्ति केन्द्रसँग नजिकिएका छन् । तर, उनको सम्भावना कमजोर छ ।

उनीहरुमध्ये एक जना असार अन्तिम सातासम्म आईजीपी हुनेछन् । त्यसपछिको अवस्थामा शैलेश थापा क्षेत्री, हरि पाल र प्रद्युम्न कार्कीबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो ब्याचलाई समेत टपेर बढुवा भएका विश्वराज पोखरेल समेत असारमै आईजीपी हुने खेलमा छन् ।

त्यसो त माघपछि एआईजी बढुवामै ठूलो मारामार हुने अवस्था देखिन्छ । एआईजीका तीन मात्र दरबन्दी छन् । एक जना आईजीपी भएपछि ज्ञवालीकै ब्याच दुई जना एआईजीका मुख्य दाबेदार छन् ।

त्यसका साथै असारपछिका आईजीपीको दाबीमा रहेने शैलेश थापा क्षेत्री, हरि पाल तथा प्रद्युम्न कार्की, निरज शाही पनि स्वभाविक रुपमा एआईजी बढुवाका दाबेदार हुनेछन् । तीन पदमा ६ जनाबीच प्रतिस्पर्धा हुने भएकाले एआईजी बढुवा निकै पेचिलो हुने देखिन्छ ।

उता अन्य पदमा पनि प्रहरीमा बढुवाको तयारी शुरु भइसकेको छ । केही पदहरु पहिलेदेखि नै रिक्त रहेकोमा सरकारले करिब तीन हजार ६ सय दरबन्दी थप गरेकाले पनि ती पदमा बढुवाको तयारी सुरु भइसकेको छ । तिहार लगत्तै एसएसपीदेखि हवल्दारसम्मका पदमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।

त्यस्तै केही डिआईजीहरुको सरुवाको समेत तयारी रहेको खबर दृष्टि साप्ताहिकले छापेको छ । मेट्रोका डिआईजी शैलेश थापा र सिआईबीका निरज शाहीको एक वर्ष अवधि पुगिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७