मार्समेलो र मुकुटको वास्तविकता


११ पुष २०७४, मंगलवार
wh

२७ मंसिरको मध्यरातमा काठमाडौंको दरबारमार्गस्थित दरबारमार्ग इलेक्ट्रोनिक डान्स म्युजिक (इडिएम)का फ्यानहरू पाँच हजार रुपैयाँको टिकट काटेर एक अमेरिकी डिजेको प्रतीक्षा गरिरहेका थिए । उनी थिए, इन्टरनेटमा आफ्ना अधिकांश संगीत सित्तैमा बाँडेर पनि एक वर्षमा २१ मिलियन डलर (करिब सवा दुई अर्ब रुपैयाँ) कमाउन सफल डिजे मार्समेलो ।marshmello 1455533374 list handheld 0

३ मार्च २०१५ मा साउन्डक्लाउडमा आफ्नो पहिलो गीत ‘वेभ्ज’ अपलोड गरेका डिजे तथा संगीत निर्माता मार्समेलोले थप गीत अपलोड गर्दै गएपछि दिन दुगुणा, रात चौगुणा चर्चा बटुले । तिनै मार्समेलोलाई पर्खिरहेका नेपाली फ्यानले उनी नआउने खबर पाएपछि क्लब डेजाभुमा तोडफोड गरे । मार्समेलोले आफ्नो फेसबुक, ट्विटर, इन्स्टाग्राममा स्वास्थ्यको कारण देखाएर आउन नपाएकोमा माफी मागेका थिए । ‘नेपाल, काठमाडौंको डेजाभुमा हुने भनिएको मेरो प्रस्तुतिमा आउन नसक्ने भएकाले माफी चाहन्छु । ज्वरोले सिकिस्त भएका कारण म आउन सकिनँ । म आउन त खोजेको थिएँ, तर डाक्टरले आउन दिएनन् । स्वास्थ्य सुरुमा आउँछ । आई लभ यु नेपाल मेलोग्याङ । समस्या बुझिदिनुभएकोमा धन्यवाद, आशा छ, हाम्रो भेट छिट्टै हुनेछ,’ मार्समेलोले ट्विट गरे । यो खबर आयोजकले त्यहाँ उपस्थितलाई दिएको केही समयमै डेजाभु ध्वस्त भइसकेको थियो ।

अज्ञात डिजे
मार्समेलो आफ्ना सबै कन्सर्ट, अन्तर्वार्ता, म्युजिक भिडियो तथा सार्वजनिक कार्यक्रममा सेतो हेल्मेट र सेतै लुगा लाएर आउने गर्छन् । उनले लाउने हेल्मेट ‘मार्समेलो’ भन्ने खानेकुराकै सेपको छ । उनको हेल्मेटमा एक्स जस्तो देखिने ‘क्रस’ कोरिएको आँखा र मुखमा ‘स्माइली’जस्तो देखिने धर्को हुन्छ । २०१५ बाट डान्स म्युजिकमा आएका मार्समेलोको रहस्य आजसम्म आधिकारिक रूपमा बाहिर आएको छैन । उनले आफ्नो परिचय कहिल्यै नखुलाउने बताउँदै आएका छन् । उनी संगीतकर्मीको परिचय उसको अनुहारले होइन, संगीतले हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

त्यसो त मास्क वा हेल्मेट लाएर अनुहार नदेखाई प्रस्तुति दिने उनी पहिलो र एक मात्र डिजे भने होइनन् । डाफ्ट पंक र डेड माउस पनि आफ्नो अनुहार देखाउँदैनन् । तर, उनीहरूको परिचय भने अज्ञात छैन । रोबोटको हेल्मेट लागाएर प्रस्तुति दिने डाफ्ट पंक फ्रान्सको इलेक्ट्रोनिक म्युजिक बजाउने जोडी हो । गाइ म्यानुअल डे, होमेम क्रिस्टो र थोमस ब्यागंल्टरको जोडी नै डाफ्ट पंक हो । त्यस्तै, मुसाको टाउकोजस्तो हेल्मेट लगाएर प्रस्तुति दिने डेड माउस क्यानडाको टोरन्टोका जोएल थोमस जिमरम्यान हुन् । उनीहरूले प्रस्तुतिका दौरान अनुहार मात्र लुकाउने हुन्, मार्समेलोझैँ परिचय नै भने कहिल्यै लुकाएनन् ।

मार्समेलोको चर्चा

मार्समेलोले २०१५ मा ज्याक यु र जेड्का गीतको रिमिक्स गरेर चर्चा बटुले । साउन्ड क्लाउडमा उनका संगीतका स्थापित डिजेहरू स्क्रिलिक्स र डटकमले प्रचार गरेर उनको सफलतामा टेवा पुर्‍याएका थिए । उनले बनाउने संगीत आफैँमा राम्रा थिए । अझ स्थापित एवं चर्चित डिजेहरूले प्रचार गरेपछि केही समयमै साउन्ड क्लाउडबाट डान्स म्युजिकको दुनियाँमै सर्वाधिक चर्चित भइसकेका थिए । २०१६ मा उनले आफ्ना पहिलेका रिमिक्स र नयाँ गरी जम्मा १० ट्र्याक सम्मिलित एकल एल्बम ‘जोए टाइम’ रिलिज गरे । यो एल्बम अमेरिकाको इलेक्ट्रोनिक डान्स म्युजिकको बिलबोर्ड चार्टमा ५ नम्बरसम्म पुगेको थियो । यो एल्बमका गीतहरू ‘किप इट मेलो’ र ‘वान्ट यु टु’लाई पछि उनले छुट्टै पनि रिलिज गरे । १६ जुन २०१६ मा उनको अर्को गीत ‘अलोन’ रिलिज भएपछि भने उनले इलेक्ट्रोनिक्स डान्स म्युजिकका सबै डिजेलाई पछि पारे ।

‘अलोन’ चर्चित भएपछि उनी इलेक्ट्रोनिक डेजी कार्निभल २०१६ मा प्रस्तुति दिन लस भेगास गए । प्रस्तुतिकै बीचमा उनले आज म मेरो परिचय खोल्छु भन्दै हेल्मेट खोले । हेल्मेटभित्रबाट नेदरल्यान्डका डिजे टिएस्टो निस्किएपछि सबै दर्शक तथा उनका फ्यान आत्तिए । यो घटनाको खबरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको थियो । तर, मार्समेलो र डिजे टिएस्टोको कार्यक्रमको सेड्युल फरक–फरक भएका कारण उनीहरू दुवै एक होइनन्, त्यो केवल एउटा प्य्रांक मात्र भएको टुंगो लागेको थियो । पछि मार्समेलो र टिएस्टोले सँगै खिचाएको फोटो पनि बाहिर आएपछि सबैलाई दुई अलग व्यक्ति भएकोमा विश्वास भयो ।

मार्समेलोले धेरै चर्चित गायकसँग मिलेर एकपछि अर्को चर्चित गीत रिलिज गरे । जुन २०१७ मा फोब्र्सले संसारका सबैभन्दा बढी कमाउने डिजेको लिस्ट निकाल्दा मार्समेलो शीर्षस्थानमा थिए । जुन २०१६ देखि जुन २०१७ सम्ममा उनले करबाहेक २१ मिलियन डलर कमाएका थिए । अगस्ट २०१७ मा अर्का गायक खालिदसँग मिलेर निकालेको गीत ‘साइलेन्स’ विश्वका २८ देशका सर्वाधिक चर्चित २०० गीतको सूचीमा परेको थियो । त्यस्तै, सेलेना गोमेजसँग मिलेर गाएको गीत ‘उल्भ्स’ २० भन्दा धेरै देशमा सर्वाधिक चर्चित १० गीतको सूचीमा परेको थियो ।

अनि खुल्यो मार्समेलोको रहस्य
डान्स म्युजिकको दुनियाँमा छोटो समयमै चर्चा र सफलताको शिखरमा पुगेका मार्समेलोले आफ्नो परिचय लुकाउन प्रयास गरे पनि उनीबारे धेरै खोजी हुनु अनौठो कुरा होइन । उनको वास्तविक परिचयबारे धेरै अड्कल गरिए भने धेरैले जासुसी पनि गरे । २०१७ मा याहुकी केटी क्युरिकले लिएको एक अन्तरवार्तामा अर्का डिजे तथा संगीत निर्माता स्क्रिलेक्सले अन्तर्वार्ताकै क्रममा आएको एउटा फोन लाउडस्पिकरमा राखेर बोलेका थिए । फोन गर्ने व्यक्तिले, ‘हाई, म क्रिस बोलेको…’ भन्दा स्क्रिलेक्सले ‘ओहो ! हेल्लो मार्समेलो…’ भनेर जवाफ दिएका थिए । क्रिस कमस्टक र मार्समेलोको संगीतमा केही समानता पाइने भएकाले सामाजिक सञ्जालका जासुस तथा इडिएमका फ्यानले कमस्टक नै हेलमेटधारी डिजे मार्समेलो भएको लख काटेका थिए । मार्समेलोको असली परिचयबारे सार्वजनिक रूपमा कुनै पनि सुइँको पाइएको यो नै पहिलो घटना थियो । त्यसको केही समयमा उनका एक फ्यानले मार्समेलोको तिघ्रामा भएको ट्याटु र कमस्टकको तिघ्रामा भएको ट्याटु मिल्दोजुल्दो भएका कारण दुवै व्यक्ति एकै भएको दाबी गरेका थिए । ती फ्यानले मार्समेलोको एक कार्यक्रममा जाँदा उनको ट्याटु देखेका थिए ।

त्यस्तै, मार्समेलोको होल्डिङ कम्पनी मार्समेलो क्रिएटिभका एक मात्र व्यवस्थापकका रूपमा क्रिस्टोफर कमस्टकको नाम उल्लेख छ । कमस्टकले सुरुमा डटकम नामबाट डिजेइङ गर्थे र डटकम क्रिएटिभ नामको कम्पनीबाट एल्बम रिलिज गर्थे । डटकम क्रिएटिभको पनि एक मात्र ब्यवस्थापक क्रिस कमस्टक नै थिए । मार्समेलोको परिचय खुलाउन सबैभन्दा धेरै हात डिजे स्क्रिलेक्सकै छ । सुरुमा याहुको अन्तरवार्तामा पहिलो हिन्ट दिएका स्क्रिलेक्सले गत वर्ष मार्समेलोलाई १९ मेमा जन्मदिनको शुभकामना दिएका थिए । कानुनी जन्मदर्ताका आधारमा क्रिस कमस्टकको जन्मदिन पनि १९ मेमै रहेको उल्लेख छ । मार्समेलोका व्यवस्थापक र कमस्टकका व्यवस्थापक पनि एकै व्यक्ति छन् । सेलेब्रिटीलाई व्यवस्थापक दिने कम्पनी रेड लाइट म्यानेजमेन्टका कर्मचारी मोए सालिजीले मार्समेलो र कमस्टकका साथसाथै अन्य केही डिजेको पनि प्रस्तुतिको व्यवस्थापन हेर्ने गरेका छन् । मार्समेलोको बढ्दो व्यस्ततासँगै कमस्टकका प्रस्तुति भने घटिरहेका छन् । साथै उनीहरूको प्रस्तुतिको सेड्युल पनि जुधेको देखिँदैन । त्यस्तै, भारतीय अभिनेत्री उर्वशी राउटेलाले फेसबुक तथा इन्स्टाग्राममा कमस्टक र अन्यसँग खिचेको तस्बिरमा मार्समेलोलाई ट्याग गरेकी थिइन् । त्यो ट्याग उनले पछि इडिट गरेर हटाए पनि इडिट हिस्ट्रीमा अझै हेर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७