बजार अनुगमनमा चिनियाँ टोली पनि सहभागी गराइँदै


७ कार्तिक २०७६, बिहीबार
bazar

काठमाडौं, ७ कार्तिक । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ ।

समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै आएका कार्य अनुभव आदानप्रदान गरिएको थियो । छलफलमा समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिले गर्दै आएका काम कारवाहीका बारेमा चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए ।

समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका साथै उपभोक्ता अधिकारसँग सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ । चिनियाँ प्रतिनिधिमण्डलले समितिले गर्दै आएको काम कारवाहीका बारेमा समितिका सदस्यबाट जानकारी लिएको थियो ।

समितिका सदस्य मुकुन्द न्यौपानेले चाडपर्वका समयमा उपभोक्ता ठगिने सम्भावना हुने भएकाले नेपालले विशेषगरी चाडपर्वको समयमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको बताएका थिए । अनुगमन टोलीले खरीद मूल्य र बिक्री मूल्यका आधारमा उपभोक्ता ठगीमा परेको वा नपरेको भनेर अनुगमन गर्ने गरेको चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए ।

त्यस्तै समितिले जनचासोका विषय सम्बोधन गर्न सम्बन्धित मन्त्रीलाई छलफलमा बोलाएर निर्देशन दिने गरेको उनले बताए । सो क्रममा चीनका राज्य प्रशासन तथा बजार अनुगमन सचिव टाङ जुनले नेपालको वाणिज्य समिति र आफ्नो मन्त्रालयले गर्ने काममा धेरै प्रकारको समानता रहेको बताएका थिए । उनले बजार अनुगमनका साथै उपभोक्ताको हकअधिकार सुरक्षित गराउन नेपालसँग मिलेर काम गर्न चाहेको बताएका थिए ।

उनले सरकारको तहमा मन्त्रालयले उपभोक्ता अधिकारका बारेमा छलफल गर्ने र जनताको तहमा त्यहाँको उपभोक्ता मञ्चले उपभोक्ता अधिकार संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उपभोक्ता अधिकार स्थापित गराउन चीनले विशेष प्रणालीको स्थापना गरेको उपमन्त्री टाङको भनाइ थियो ।

कार्यक्रममा समितिका सभापति श्रीवास्तवले चीनको उन्नति र प्रगति देखेर आफूहरु अन्त्यन्त खुशी भएको बताएका छन् । उनले नेपालको द्विपक्षीय व्यापार प्रवर्धनका साथै पूर्वाधार विकासमा चिनियाँ सहयोगको अपेक्षा गरेको बताए ।

‘समितिको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि चीनसँग सहकार्य गर्न चाहेका छौं’, सभापति श्रीवास्तवले भने । उनले परिस्थिति अनुकूल भएमा बजार अनुगमनमा चिनियाँ प्रतिनिधिलाई लैजाने बताए । सो क्रममा चिनियाँ प्रतिनिधिमण्डलले समितिका सदस्यलाई चीन भ्रमणको निमन्त्रण समेत दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७