‘अश्लील’ भन्दै प्रहरीले युट्युवबाट हटायो र्‍यापर भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’

‘भिटेन’ पक्राउमा प्रहरीद्वारा ‘जरुरी पक्राउ पुर्जी’ को प्रावधान दुरूपयोग


७ कार्तिक २०७६, बिहीबार
viten

काठमाडौं, ७ कार्तिक । प्रहरीले ‘अश्लील’ भन्दै र्‍यापर ‘भिटेन’ समीर घिसिङको ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत युट्युबबाट हटाएको छ ।

गीतमा प्रयोग भएको शब्दलाई कारण देखाउँदै प्रहरीले अदालतबाट अनुमति समेत नलिई बिहीबार भिटेनलाई जावलाखेलबाट पक्राउ परेको थियो । भिटेनलाई पक्रेको केहि घण्टापछि नै युट्युबबाट उक्त गीत हटाइएको हो । भिटेन लाई पक्राउ गर्दा प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ को प्रावधान दुरूपयोग गरेको छ ।

मुलुकी फौजदारी कायैविधि संहितामा पक्राउ गर्नुअघि अदालतबाट अनुमति लिनुपर्ने व्यवस्था छ । महानगरीय अपराध महाशाखाले भने उनलाई अदालतको अनुमति विना जरूरी पक्राउ पुर्जीका आधारमा बिहीबार बिहान जावलाखेलबाट पक्राउ गरेको हो ।

कानूनले जरूरी पक्राउ पुर्जीका आधारमा पक्रन निश्चित अवस्था तोकेको छ । कसुर गर्ने व्यक्ति पक्राउ नपरे भागेर उम्कन सक्ने वा उसले प्रमाण नष्ट गर्न सक्ने चित्तबुझ्दो कारण प्रहरीले देखाउनुपर्ने कानूनी व्यवस्था छ ।

‘कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नभए त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा निजले प्रमाण, दसी वा सबुत नष्ट गर्ने मनासिब कारण भए, त्यस्तो व्यक्ति तत्कालै जरुरी पक्राउ पुर्जी जारी गरी, पक्राउ गरी, स्वीकृतिका लागि पक्राउ परेको व्यक्तिसहित मुद्दा हेर्ने अधिकारी समक्ष पेस गर्नुपर्नेछ,’ मुलुकी फौजदारी कार्यविधि संहितामा लेखिएको छ।

प्रहरीले पक्राउ गर्नुअघि उनी भाग्न खोज्दै थिए वा प्रमाण नष्ट गर्न खोज्दै थिए भनी प्रमाणित गरेको छैन । ‘बोलाउँदा उहाँ आउनु भएन । पछि हल्लीखल्ली भएर भाग्ने सम्भावनाका कारण हामीले जरूरी पक्राउ पुर्जीका आधारमा समातेका हौं,’ महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने ।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए । नेपाली र्‍यापर गिरिश खतिवडाले उनलाई आफ्नो ब्लगमा ल्याएपछि भिटेन थप चर्चित भएका थिए । उक्त भिडियो र गीतका शब्दले सामाजिक विकृतिलाई मलजल गर्ने भएकाले घिसिङलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी थापाको भनाइ छ ।

घिसिङले नेपाल प्रहरीको बर्दीमा असईको फुली समेत लगाएर चुरोट ओठमा च्यापेको र हातले गाँजा मोलिरहेको दृष्य राखेको थापाले बताएका छन् । ‘नेपाल प्रहरीको बर्दी लगाएर गाँजा मोलिरहेको दृष्य आपत्तिजनक छ, सामाजिक विकृति बढ्ने खालको उक्त गीत प्रसारण गर्न दिइने छैन,’ उनले भने ।

घिसिङलाई अब अभद्र व्यवहारमा मुद्दा चलाइने उनले जानकारी दिएका छन् । अभद्र व्यवहार कसुरमा महानगरीय प्रहरी परिसर ललितपुरबाट घिसिङलाई मुद्दा चलाइने थापाले बताएका छन् ।यसअघि गृह मन्त्रालयले दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतको शब्दलाई लिएर प्रहरीले पक्राउ गरेको थियो । उक्त गीत पनि युट्युवबाट हटाएपछि मात्र गायक थापालाई छाडिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७