सगरमाथा आरोहण असफल, अन्य हिमालमा भने आरोही गन्तव्यतर्फ


८ कार्तिक २०७६, शुक्रबार
sagarmatha 2

काठमाडौं, ८ कातिक । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको संख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको संख्या बढ्नसक्ने पर्यटन विभागले जनाएको छ ।

यो याममा विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए । विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ले आरोहण अनुमति लिएका छन् ।

आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । शरद ऋतुको हिमाल आरोहणका लागि बिहीबारसम्म रु छ करोड १७ लाख ३६ हजार राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

सगरमाथा आरोहण असफल

शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको छ ।

यसका साथै ल्होत्से हिमालको आरोहण पनि असफल भएको विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि दुई समूहमध्ये एक समूहमा एक मात्र स्पेनी नागरिकले अनुमति लिएका थिए भने अर्को नौ जनाको आरोही समूहमा अमेरिका र पोर्चुगलका समान चार जना र बेलायतका एक नागरिक थिए ।

उनीहरुले यो याममा आरोहण प्रयास गरे पनि असफल भएका हुन् । सगरमाथाको क्याम्प–२ सम्म पुगेर प्रयास गरे पनि आरोहण अगाडि बढ्न सकेन । अहिले सबै आरोही फर्किसकेको जनाइएको छ । यो यममा सगरमाथामा बाक्लो हिउ पर्ने भएकाले आरोहणमा समस्या हुने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७