प्रदेश-१ मा जनताले चाहे जस्तै विकास हुन्छ : मुख्यमन्त्री राई


९ कार्तिक २०७६, शनिबार

भोजपुर, ९ कार्तिक । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा जनताले चाहे जस्तै विकास गरेर छाड्ने बताएका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यहाँका स्रोत र साधनलाई अधिकतम प्रयोगमा ल्याएर विकासको चरणमा अगाडि बढाउने धारणा राखे ।

मुख्यमन्त्री राईले भने, ‘यो प्रदेशलाई समृद्ध बनाउने गरी मैले काम अगाडि बढाएको छु, प्रदेशसँगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडि बढ्छ ।’ विकासका लागि सबैले प्रत्येक सेकेण्डको महत्वलाई बुझेर काम गर्नुपर्ने राईको भनाइ थियो । मुख्यमन्त्री राईले भने, ‘तपाई हामी यो देशका सचेत नागरिक हाँं, हामीले प्रत्येक सेकेण्ड समयको महत्वलाई बुझेर जिम्मेवारी वहन गर्न आवश्यक छ ।’

प्रदेश सरकारले विकासका लागि प्राथमिकताका आधारमा प्रशस्त बजेट विनियोजन गरेको भए पनि काममा सोचेअनुरुप खर्च नभएकामा भने उनले चिन्ता व्यक्त गरे । उनले आफ्नो क्षेत्रमा भइरहेका कामको जनता आफैँले पनि अग्रसर भएर निगरानी गर्नुपर्ने बताए ।

मुख्यमन्त्री राईले भने, ‘विकास गर्नका लागि हामीले करोडौँ बजेट छुट्याएका छौँ र काम पनि भइरहेको छ तर जनताको तर्फबाट पनि भइरहेको काममा निगरानी र खबरदारी हुनुपर्‍यो ।’

प्रदेशबाट सञ्चालन हुने कामलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी तवरले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भइरहेको उनको भनाइ छ । आफूले भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरेको बताउँँदै उनले प्रमाणसहित आफूलाई जानकारी दिए एक घण्टाभित्र कारवाही गर्ने समेत बताए ।

मुख्यमन्त्री राईले भोजपुरको मुन्दुम ट्रेलको विकासका लागि रु दुई करोड विनियोजन गरेको जानकारी दिए । उनले जिल्लाका ठूला सडक र पक्की पुलको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताए । आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै जनता विद्युतको पहुँचमा पुग्ने समेत जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७