भारतमा दुई दाजुभाइसहित तीन नेपालीको हत्या
किन फरार भइन् हरेकी श्रीमती किर्रा ?

काठमाडौं, ११ कार्तिक । भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भए पनि आइतबार मात्रै थाहा भएको हो ।
पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए ।
उनले भने, ‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ’, हरे र बीरा सहदोर भाइ हुन् ।
उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदुरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ थियो ।.
शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ । बीरा केही महिनाअघि मात्रै दाजु भाउजुलाई भेट्न पिथौरागढ गएकोमा उनी पनि उतै मजदुरी गर्दै आएका थिए । हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।