मान्छेलाई जीवनमा कति पैसा चाहिन्छ ? के भन्छन् धनाढ्यहरु ?


११ कार्तिक २०७६, सोमबार
money
फाइल फोटो

काठमाडौं, ११ कार्तिक । धन (मूलतः पैसा) की देवी लक्ष्मी पुजिने पर्व तिहारको तयारीमा काठमाडौंको असन बजार सजिइसकेको छ । मसला, फूलमाला, मिठाईका पसल भरिभराउ भइसकेका छन् ।

विगत पाँच वर्षदेखि असनमा भारी बोक्ने काम गर्छन्, मकवानपुर, फापरबारीका चन्द्रमान वाइबा । सोमबार दिउसो उनी काँधमा नाम्लो भिरेर असनचोकको एउटा पसलको सिँढीमा बसिरहेका थिए । उनलाई सोधियो– ‘तपाईंलाई कति भए पुग्छ पैसाले ?’

‘मलाई त अहिले १६० रुपैयाँ भए पुग्छ,’ उनले भने, ‘भात खाएको छैन । कसैले १६० रुपैयाँ दिए कुखुराको मासु र भात खान्थें । हामी गरिबलाई भन्दा यस्तो प्रश्न त धनीलाई सोध्नुपर्छ । गरिबलाई त अलिकति पैसा भए पुगिहाल्छ नि । धनीलाई पो जति भए पनि पुग्दैन ।’ देशकै सम्पन्न व्यावसायिक प्रतिष्ठान गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छालाई पनि सोधियो, उही प्रश्न– ‘तपाईंलाई कति भए पुग्छ पैसाले ?’

उनले ठ्याक्कै यतिउति भन्ने जवाफ दिएनन् । तर, धेरै पैसा भएको दिन आफूलाई रातभरि निन्द्रा नलाग्ने बताए । ‘मलाई धेरै पैसा भएपछि रातभरि निन्द्रा लाग्दैन,’ गोल्छाले भने, ‘पैसाले संसारको सबैभन्दा महँगो बिछ्यौना किन्न सकिएला, तर मिठो निन्द्रा किन्न नसकिने रहेछ ।’

उनले पैसाको सामथ्र्यको पनि सीमा हुने बताए । तिहार नजिकिँदै गर्दा धनाढ्य व्यवसायी–उद्योगपतिदेखि मजदुरसम्मलाई एउटै प्रश्न गरेको थियो, ‘मान्छेलाई कति भए पुग्छ पैसाले ?’ स्वाभाविक रूपमा सबैका जवाफ भिन्न–भिन्न थिए ।

ज्याला मजदुरी गर्नेहरू हजारको चाहना राख्छन् । जागिरेहरू लाखको सपना देख्छन् । व्यापारी र उद्यमीहरूसँग करोडभन्दा मुनिको चाहना र योजना हुँदैन । ‘कति पैसा भए मानिस खुशी हुन्छ ?’ भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न नसकिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । ‘‘मानिसलाई कति पैसा भए पुग्छ’ भन्ने कुरा कसैले पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन,’ उनी भन्छन्, ‘पैसा मानिसलाई यति नै चाहिन्छ भन्ने छैन । तर, आवश्यकताभन्दा बढी पैसा थुपार्दा मानिसलाई थप तनाव र बोझ हुन्छ ।’

इन्टरनेसनल मार्के्टिङ सर्भिसेज (आईएमएस) का अध्यक्ष दीपक मलहोत्रालाई पनि यति नै पैसाले पुग्छ भन्ने लाग्दैन । ‘पैसा जति कमायो उति कमाइरहने इच्छा हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले हामी व्यवसायीले कमाएको पैसा कहिले पनि बैंकमा जम्मा गर्दैनौं । एक ठाउँबाट गरेको आम्दानी अर्को क्षेत्रमा लगानी गर्छाैं ।’

नव निर्वाचित एनआरएनए अध्यक्ष कुमार पन्त आज आफूसँग भएको पैसा भोलि आफूसँग हुन नसक्ने बताउँछन् । ‘आजको दिनमा मानिसलाई पाइला–पाइलामा पैसा चाहिन्छ,’ उनी भन्छन्, ‘तर, पैसा मात्रै सबथोक भने होइन । पैसा आज छ, भोलि नहुन पनि सक्छ । पैसाले सबै थोक किन्न सकिएला, तर खुशी किन्न सकिँदैन ।’

‘पैसाले कहिल्यै पुग्दैन’
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार सेयर बजारमा प्रवेश गर्नुअघि गार्मेन्ट उद्योगमा सक्रिय थिए । ३५ वर्षसम्म दैनिक १२ देखि १४ घण्टासम्म उनी काममा बिताउँथे । ‘मसँगै मेरी श्रीमती पनि काममा एकदमै व्यस्त थिइन्,’ उनी सम्झन्छन्, ‘हामी दुई यति व्यस्त हुन्थ्यौँ कि जीवन के हो भन्ने भुलिसकेका थियौं ।’

व्यापारिक मन्दीका कारण रौनियारको गार्मेन्ट उद्योग बन्द भयो । त्यसपछि उनले सेयर बजारमा प्रवेश गरे । सेयर बजारमा उनले १० वर्ष बिताइसके । ‘विगत दुई वर्षदेखि बिस्तारै कामको चाप घटाउँदै लगिरहेको छु,’ उनी भन्छन्, ‘अहिले म भौतिकभन्दा प्राकृतिक र पारिवारिक जीवनमा धेरै ध्यान दिइरहेको छु । ६१ वर्षको उमेरमा आएर स्तरीय जीवन बिताउँदै छु भन्ने लाग्दै छ ।’

एक दिन सबैले भौतिक जीवन छाड्नुपर्छ भन्ने लाग्छ उनलाई । ‘एक दिन सबैले भौतिक जीवन छाड्नुपर्छ,’ उनी भन्छन्, ‘भौतिक जीवन छाडेर असल जीवन बाँच्नुपर्छ ।’ पैसाको सही प्रयोग गर्न नजानेर धेरैको घर परिवार तहसनहस भएको उनले देखेका छन् । ‘मानिस हरेक दिन पैसा कमाउन दौडिरहेका छन्,’ उनी भन्छन्, ‘पैसा कमाउने धुनमा आफ्नो जीवन बाँच्न भुल्छन् ।’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल आजको युगमा पैसा जीवनको अभिन्न अंग भएको बताउँछन् । ‘आफूलाई चाहिएको सामान किन्न र सेवा लिन पैसा अपरिहार्य छ,’ उनी भन्छन्, ‘तर, जहाँ पैसाको आवश्यकता बढी हुन्छ, त्यहाँ थोरै रकमका लागि पनि मानिसले अपराध गरिरहेका हुन्छन् ।’ मानिसहरू पैसाको लागि मरिमेट्ने र अपराधसम्म गर्न पछि नहट्ने भएकाले राज्यले कडा कानुन बनाउनुपरेको उनको बुझाइ छ ।

धन प्राप्तिका लागि व्यापार नै सही माध्यम हुने अग्रवालको अनुभव छ । ‘हाम्रो पुरातन शास्त्रले भनेको छ, व्यापारमा लक्ष्मीको बास हुन्छ,’ उनी भन्छन्, ‘इतिहास पल्टाएर हेर्ने हो भने पनि व्यापार गर्ने नै सफल छन् । दुई रुपैयाँमा सामान किनेर अढाई रुपैयाँ बेच्दा पक्कै कमाइ राम्रै हुन्छ ।’

मान्छेहरू सन्तुष्ट हुनु देशको अर्थतन्त्रका लागि घातक ठान्छन्, उपाध्यक्ष अग्रवाल । ‘पैसाले मानिसलाई कहिल्यै पुग्दैन,’ उनी भन्छन्, ‘हामी उद्योगी र व्यवसायी पनि एउटा उद्योगमा सन्तुष्ट नभएर धेरैभन्दा धेरै उद्योग र व्यवसाय गर्न चाहन्छौं । मानिसहरू बुढेसकालमा पनि पैसा कमाउन काम गरिरहेका हुन्छन् । धनीहरूको सूची निकाल्ने ‘फोब्र्स’ पत्रिकामा आफ्नो नाम लेखाउन अर्बपतिहरू दिनरात मेहनत गरिरहेका हुन्छन् । त्यसैले मानिसलाई पैसाले कहिल्यै पुग्दैन ।’

‘पैसा सबथोक होइन’
ज्योति ग्रुपका उपाध्यक्ष रूपज्योति पैसालाई सबथोक ठान्दैनन् । आजको दिनमा जसले जति पैसा कमाए पनि त्यसको कारण समाज भएको उनी बताउँछन् । ‘हरेक मानिसले कमाइ गर्ने थलो भनेको समाज हो,’ उनी भन्छन्, ‘त्यसैले कमाएको पैसा सामाजिक कार्यमा लगाउन सकेमा मात्रै मानिसलाई पैसाले सन्तुष्टि मिल्छ । नत्र कमाएको पैसाले मानिसलाई राम्रोसँग निद्रा पनि लाग्दैन ।’ सामाजिक कार्य र पैसा एकअर्काका परिपूरक लाग्छन्, रूपज्योतिलाई ।

पैसालाई सही ठाउँमा सदुपयोग गरियो भने त्यसले फलिफाप गर्ने उनी बताउँछन् । ‘त्यसका लागि आफूले कमाएको धनको स्रोत खराब हुनु हुँदैन,’ उनी भन्छन्, ‘नराम्रो कामको परिणाम नराम्रै हुन्छ । त्यसैले असल काम गरेर कमाएको धनले मात्रै मानिसलाई सुखी बनाउँछ ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७