भाइटीका लगाई दिंदै हुनुहुन्छ ? यी हुन् नभई नहुने सामग्री


११ कार्तिक २०७६, सोमबार
tihar

काठमाडौं, ११ कार्तिक । आज तिहारको चौथो दिन । आज गाई र गोरु दुबैको पूजा गरिन्छ । भोलि भने चेलीहरुले आफ्ना दाजुभाइलाई भाइटीका लगाई दिन्छन् ।

उमङ्ग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्व छ । शरद ऋतु भएकाले यतिबेला घर–आँगनमा सयपत्री र मखमली फूल फक्रिएका छन् । हिन्दू दर्शनअनुसार यो चाडमा काग, कुकुर, गाई, गोरु अनि दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिन्छ । पूजाका क्रममा चाहिने सामग्रीहरूको किनमेल र व्यापार पनि यही समयमा चम्किन्छ । यी सामग्रीले सदैव तिहारको झझल्को दिन्छन् ।

अहिले दाजुभाइलाई टीका लगाई दिनका लागि आवश्यक तयारीमा चेलीहरु लागिसकेका छन् । बजारमा दिदीवहिनीको जमघट र किनमेलको भीड देखिन्छ । तर, कति कुरा बिर्सिएर र कति कुरा जानकारी नभएर जोहो गर्न सकिंदैन । भाइटीकाका लागि आखिर के–के सामान छुटाउनु हुँदैन त ?

फूल र माला

तिहारका लागि अति आवश्यक सामग्रीमा पर्छ- फूल र माला । सयपत्री, गोदावरी र मखमली फूलले तिहारमा विशेष महत्व राख्छ । घर सजाउनेदेखि पूजा–आराधना गर्न समेत यिनै फूल प्रयोग हुन्छन् । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकीले यति बेला फूलमाला तथा झिलिमिली बत्ती प्रयोग गरिन्छ । कुकुर, गाई, गोरु साथै दिदीबहिनी तथा दाजुभाइलाई फूलको माला पर्हियाउने चलन छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भन्ने मान्यताअनुरूप भाइटीकामा यी फूलको माला लगाउने चलन छ ।

रातो माटो

तिहारमा रातोमाटोको विशेष महत्व छ । लक्ष्मीपूजाका दिन रातो माटोले लिपेर त्यसमा लक्ष्मीको पैतालाको प्रतीक बनाई घरमा लक्ष्मी भित्र्याइन्छ । आँगन, तुलसीको मठ, घरको मुलढोका हुँदै भण्डारसम्म रातो माटोले पोत्ने चलन छ । रातो माटोलाई पवित्र मानिने भएकाले भाइटीका वा गोवर्धन पूजा गर्ने बेलामा पनि रातो माटो प्रयोग गरिन्छ ।

सप्तरंगी वा अविर केशरी
बजारमा सप्तरंगी टिका देख्नासाथ तिहारको झझल्को पाइन्छ । तिहारका हरेक दिन पूजा आराधना गर्दा अबिर–केशरीको आवश्यकता पर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको यश, आरोग्य एवं दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाउने चलन छ । अष्टचिरिञ्जीवी तथा लक्ष्मीपूजा गर्दा पनि अबिर–केशरी आवश्यक हुन्छ ।

भाइमसला
तिहारको पूर्व सन्ध्यामा बजारमा भाइमसलाको बिक्री अत्यधिक बढ्छ । किनभने तिहारमा भाइमसला नभै नहुने सामग्री हो । विभिन्न मसला राखेर प्याक गरिएको भाइमसलामा नरिवल, काजु, किसमिस, सुकमेल, ल्वाङ, सुपाडी, छोहारा, दालचिनी आदि हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि यस्ता सामग्री दिने चलन छ ।
चामलको पीठो

तिहारमा सेलरोटी वा मिठाईका परिकार बनाउन चामलको पीठो अनिवार्य मानिन्छ । लक्ष्मीपूजा, म्ह पूजा, गोबद्र्धन पूजा, भाइटीका गर्दा पनि चामलको पीठो आवश्यक हुन्छ । घरको मूलढोकादेखि पूजा कोठासम्म चामलको पीठोबाट लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।
तेल र घिउ
तिहारका पाँचै दिन आवश्यक पर्ने सामग्रीमध्ये तेल र घिउ अग्रस्थानमा आउँछन् । सेलरोटी तथा मिठाई बनाउन तेल र घिउ प्रयोग गरिन्छ । दियो बाल्न र भाइटीकाको दिन दाजुभाइको केशमा लगाउन पनि शुद्ध तोरीको तेल चाहिन्छ ।
मैनबत्ती र धूप
घरआँगनलाई उज्यालो बनाउन र मिठो सुगन्धका लागि तिहारमा मैनबत्ती र धूप आवश्यक मानिन्छ । तिहारका प्रत्येक साँझ र बिहान पूजा आराधना गर्दा मैनबत्ती र धूप बालिन्छ ।

कालो भटमास र मासको गेडा
नेपाल संवत्अनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा म्हस्पुजा गर्ने चलन छ । नेवार समुदायमा परिवारका सबै सदस्य भेला भएर गरिने यो पूजाका अवसरमा कालो भटमास र मासको गेडा अनिवार्य मानिन्छ । हाँस वा कुखुराको फूल सगुन चढाई तान्त्रिक विधिबाट गरिने पुजामा अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाइएको चामलको धूलो आदि प्रयोग गरिन्छ ।
ओखर र विमिरो
तिहारको अन्तिम दिन अर्थात् भाइटीकामा अति आवश्यक पर्ने ओखर र विमिरोको विशेष महत्व छ । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरूप ओखर फुटाउने चलन छ । ओखरले दाजुभाइको कालको बाटो छेक्ने विश्वास गरिन्छ । भाइटीकाकै अवसरमा दियो, कलस, गणेशका साथै विमिराको पनि पूजा गर्ने चलन छ ।
दूबो र कटुस
तिहारका अन्य दिन दूबो र कटुसको खासै प्रयोग नभए पनि भाइटीकाका दिन अनिबार्य मानिन्छ । दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्दै दूबोको टीका वा माला र कटुस प्रयोग गर्ने चलन छ । यो अवसरमा दिदीबहिनीले दाजुभाइको दिर्घायुको कामना गर्दै दूबो लगाई दिन्छन् ।
गाईको गोबर
तिहारमा घरआँगन पवित्र बनाउन गाईको गोबरले लिपपोत गर्ने चलन छ । हिन्दू संस्कार अनुसार शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइने भएकाले पनि गोबर आवश्यक मानिन्छ ।
पाला वा दियो
तिहारमा घर उज्यालो बनाउन पाला वा दियो प्रयोग गरिन्छ । माटोबाट बनेको पालामा तेल राखेर कपासको बात्ती बालिन्छ । लक्ष्मी भित्र्याउन दियोको धेरै महत्व हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७