तिहारको मिठाईले बिगार्ला स्वास्थ्य, कसरी र कति खाने ?


११ कार्तिक २०७६, सोमबार
sweet

काठमाडौं, ११ कार्तिक । चाडपर्वका साथै पूजाआजाका बेला मिठाई तथा सेल रोटीको माग एवं प्रयोग बढी हुन्छ । बजारमा प्रशस्तै मिठाईं पसल देख्न सकिन्छ जहाँ विभिन्न थरीका हेर्दै लोभ लाग्दा, रंगीबिरंगी तथा आकर्षक मिठाईंहरू बेच्न राखिएका हुन्छन् ।

माग बढी हुने भएकाले नाफाका लागि आवश्यकता पूर्ति गर्न कमसल खालका अर्थात् न्यून गुणस्तरका मिठाईं पनि बजारमा उपलब्ध गराइने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सन्ध्या कर्माचार्य बताउँछिन् । मिठाईं नभई काम पूर्ण नहुने भएकाले उपभोक्ताहरू बजारमा उपलब्ध मिठाई तथा रोटी किन्न बाध्य हुन्छन् ।

मौकाको फाइदा उठाउँदै मिठाईं पसलेले मिठाईं बनाउन आवश्यक कच्चापदार्थमा उस्तै देखिने अन्य सस्ता तथा न्यून गुणस्तरका खाद्य वस्तु मिसाउन सक्छन् । मिठाईं बनाउन चाहिने कच्चापदार्थ दूध, पनिर, खुवा, चिनी, मैदा, पिठो, बेसन, घिउ–तेल आदिमा मिसावट हुन सक्छ भने मिठाईलाई आकर्षक बनाउन अनेक किसिमका रंग प्रयोग गरिन्छ जुन स्वास्थ्यका दृष्टिले हानिकारक हुनसक्छन् ।

डाइटिसियन संगीता लामिछानेका अनुसार कुनै पनि खानेकुरामा बाहिरबाट हेर्दा आकर्षक बनाउन प्रयोग गरिने प्राकृतिक वा कृत्रिम रंग नै खाद्य रंग हो । जस्तो कि हामीले तरकारी बनाउँदा बेसार प्रयोग गर्छौं ।

यस्ता किसिमका प्राकृतिक रंग स्वास्थ्यका दृष्टिले हानिकारक हुँदैनन् । बेसारमा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले छालालाई राम्रो बनाउँछ । बेसारमा भिटामिन तथा खनिज प्रशस्त मात्रामा हुन्छ । यसैगरी केशर पनि स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ ।

कृत्रिम खाद्य रंग : विभिन्न रासायनिक पदार्थ मिसाएर तयार पारिएको रंगलाई कृत्रिम रंग भनिन्छ । अखाद्य रंगमा भएका रसायनहरूको सेवनले मानव स्वास्थ्यमा नकारात्मक असर पर्छ । गर्भवती महिलाले अखाद्य रंग मिसाइएको खानेकुरा धेरै खाए जन्मने बच्चा पुड्को तथा लठेब्रो हुनसक्छ । यसैगरी कसै–कसैलाई अखाद्य रंगले एलर्जी हुन्छ । यस्ता अखाद्य रंगले मिर्गाैलामा समस्या सिर्जना गर्नुका साथै क्यान्सरसम्म लाग्न सक्छ । नेपालमा कृत्रिम खाद्य रंग मिसाउँदा नेपाल सरकारले तोकेका रंग र रंगको मात्रा (परिमाण) मा रहेर मिसाउन पाइन्छ ।

कस्तो मिठाईं खाने ?

– मिठाईं भरसक घरमै बनाएर खानुपर्छ ।

– घरमा तयार पारिएका मिठाईं स्वास्थ्यका हिसाबले उपयुक्त मानिन्छन् ।

– घरमै सेल रोटी, लालमोहन, रसबरी, खजुरी, अर्सा, अनरसा, फिनी, निम्की, खजुरी आदि तयार गर्न सकिन्छ ।

– मिठाईं चिल्ला तथा गुलिया हुने भएकाले घरमै बनाइएका भए पनि ठिक्क मात्रामा खानुपर्छ । शरीरलाई आवश्यक क्यालोरीअनुसार मिठाईं खानु उपयुक्त हुन्छ ।

– मधुमेह तथा रक्तचापका बिरामीले भने चिकित्सकको सल्लाहबमोजिम मात्र मिठाईं खानुपर्छ ।

केमा के मिसावट ?

– खुवा तथा छेनामा स्टार्च (पिठो) मिसाइएको हुन्छ ।

– घिउमा वनस्पति घिउ, बोसो तथा डाल्डा ।

बेसन – बेसनमा खेसरीको पिठोको मिसावट तथा अखाद्य रंग मेटानिल एलो (पहेंलो) मिसाइन सक्छ ।

चाँदीको तपक – मिठाईंलाई आकर्षक देखाउन माथिबाट चाँदीको तपक लगाइन्छ । उक्त तपक शुद्ध चाँदीको हुनुपर्छ तर चाँदीको तपक महँगो हुनाले त्यसको सट्टा आल्मुनियमको तपक

वा अखाद्य धातुको वर्क प्रयोग गरिएको हुनसक्छ ।

– मिठाईंलाई आकर्षक देखाउन राखिने चाँदीको लेपमा शुद्ध चाँदीको वर्कको ठाउँमा आल्मुनियम वा अखाद्य धातुको वर्कको प्रयोग ।

साकारिनको प्रयोग – साकारिन चिनीभन्दा धेरै गुलियो हुने भएकाले चिनीको खर्च जोगाउन साकारिन प्रयोग गरिएको हुनसक्छ ।

मिठाईंमा म्याद नाघ्ने मिति स्पष्ट उल्लेख गरिएको हुनुपर्छ । बासी, पुरानो बचेखुचेको मिठाईं नयाँ मिठाईंमा मिसाएर प्रयोग गरिएको हुनसक्छ । पुरानो, बासी एवं बिग्रिएको मिठाईंले स्वास्थ्यमा हानि पुर्‍याउँछ ।

यसका साथै मिठाईं बनाउने ठाउँ, बिक्री गर्ने ठाउँ तथा मिठाईं बनाउने मानिसहरूले सरसफाइमा ध्यान र्पुयाउनुपर्छ । मिसावटयुक्त मिठाईंले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले मिठाईं किन्दा सतर्कता अपनाउनुपर्छ । ब्रान्ड हेरेर गुणस्तर चिन्ह भएको मिठाईं मात्र किन्नुपर्छ ।
नारी मासिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७