राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट दीपावली र नेपाल सम्वतको शुभकामना व्यक्त


२०७६ कार्तिक १२ मंगलबार ०८:१५ बजे

काठमाडौं, १२ कार्तिक । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्ष नेताले दीपावली एवं नेपाल संवतको नयाँ वर्ष ११४० को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक संवतको रूपमा रहेको नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेकी छन् ।

दीपावली र नेपाल संवतको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उज्यालो र उल्लासको पर्वको रूपमा मनाइने दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदै गर्दा नेपालको मौलिक संवत् नेपाल संवतको नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा भएको भन्दै उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाएको बताएका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् । उनले शुभकामना सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको पनि बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रूपमा रहेका सबैखाले अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् । सभापति देउवाले नेपाल संवत् ११४० को समेत शुभकामना दिएका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले ९३७ साल (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवत शुरुवात गराएको मानिन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धर बताउँछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७