कस्तो हुँदैछ अञ्जली दिदीको भाइटीका ?


१२ कार्तिक २०७६, मंगलवार
anjali didi
फाइल फोटो

काठमाडौं, १२ कार्तिक । आज तिहारको पाँचौं दिन अर्थात भाइटीका । तिहारका कारण यतिबेला सबैलाई चटारो छ । टीका लगाई दिने चेलीबेटी र टीका लगाउने दाजुभाइलाई तिहारले व्यस्त बनाएको छ ।

चेली टाढा भएका दाजुभाइ अहिले विभिन्न माध्यमबाट दिदीबहिनीको घर जाने क्रम विहानैदेखि शुरु भइसकेको छ भ। यस्तै चेलीहरुमा पनि दाजुभाइलाई टीका लगाई दिनका लागि तयारी जारी छ । अन्य दिदीबहिनी जस्तै सबैकी दिदी अञ्जली मास्केलाई पनि तिहारको चटारो छ ।

अञ्जली दिदी अर्थात् सबैकी दिदीले यसपालि पनि दुई सय आठ जनालई भाइटीका लगाई दिने तयारी गरेकी छन् । दिदीबहिनी नभएका र भएर पनि आ–आफ्नो घर जान नभ्याएका दाजुभाइको निधार खाली नहोस् भनेर उनले सामुहिक भाइटीका लगाई दिंदै आएकी छन् ।

काष्ठमण्डपमा स्थापित गोरखनाथ मन्दिरमा दैनिक पूजा–प्रार्थनाका लागि पुग्ने अञ्जली दिदीले २०५५ सालदेखि सामुहिक भाइटीका लगाई दिन शुरु गरेकी हुन् । ‘उनै भगवानको कृपाले नै मैले यत्तिका वर्षदेखि यो काम गर्दै आएकी छु । त्यसैले म सबैकी दिदी भनेर चिनिएको छु,’ उनी सुनाउँछिन् ।

२०७२ सालको भूकम्पले काष्ठमण्डप भत्काएपछि वरपरको डबलीमै उनले भाइटीका लगाई दिंंदै आएकी छन् । यस वर्ष पनि उनले नजिकैको डबलीमा भाइटीकाको तयारी गरेको बताइन् । तिहार आएपछि दाजुभाइले उनीसँगै टीका थाप्न आउने वाचासँगै नाम टिपाउँछन् ।

उनले जजङ्का, माला, भाइमसला, सगुन (रक्सी, अण्डा, बारा, दही), मौसमी फलफूल, विविध प्रकारका खानेकुरासहित विधिपूर्वक दाजुभाइलाई सप्तरङ्गी टीका लगाई दिन्छिन् । तोकिएकोभन्दा बढी दाजुभाइ टीका थाप्न आए नरिवल, जजङ्का मात्र भए पनि उनले दिन्छिन् ।

भाइटीका लगाई दिनु भए पनि उनले उपहार भने लिंदिनन् । दाजुभाइको निधार खाली नहोस् भनेर श्रद्धापूर्वक थालेको सामुहिक भाइटीकामा स्वदेशी, विदेशीलगायत सबै जातजाति वर्ग समुदायका दाजुभाइ सहभागी हुन्छन् । उनले भनिन्, ‘उहाँहरूको माया–ममता नै सबैथोक हो । त्यसैले म कुनै उपहार लिन्न ।’

पहिलो वर्ष १०८ जनालाई भाइटीका लगाएर शुरू गरेकी उनले दोस्रो वर्षदेखि भने बर्षेनी दुई सय आठ जनाका लागि तयारी गर्दै आएकी छन् । सामुहिक भाइटीकामा नेता, निजामती कर्मचारी, सेना, प्रहरी, कानुन व्यवसायी, ड्राइभर, रिक्साचालक, पत्रकार र सर्वसाधारणले समेत सहभागिता जनाउँछन् ।

सामुहिक भाइटीकामा आउन नसक्ने दाजुभाइ महिना दिनसम्म पनि उनको घर (ताहाचल, काठमाडौं) मै टीका थाप्न आउँछन् । उनीसँग टीका लगाउने कतिपय दाजुभाइले फोनमार्फत भए पनि कहिलेकाहीं उनलाई सञ्चो बिसञ्चो सोध्ने गर्छन् । त्यसबेला भने दुनियाँभरकै ठूलो खुशी मिल्ने उनी बताउँछन् ।

यस वर्ष दुई दिन भाइटीका लगाउनु पर्ने भएकाले अलि अन्योलमा परेको पनि उनले बताइन् । नेपाल भाषा मङ्का खलःले कात्तिक ११ गते लक्ष्मीपूजा, १२ गते नेपाल संवत् ११४० र म्हःपूजा तथा १३ गते भाइटीका गर्न सबै नेवार समुदायलाई आह्वान गरेको छ ।

तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रोमा भाइटीकाको दिनमा नेपाल संवत् ११४० शुरू हुने दिन उल्लेख छ । नेपाल भाषा मङ्का खलःका सदस्य रमेशमान पियाका अनुसार नेवार समुदायमा म्हःपूजाको दिनमै नेपाल संवत शुरू हुन्छ । नेपाल संवत्को उत्सव मनाएपछि बेलुका म्हःपूजा हुन्छ । १२ गते म्हःपूजा र १३ गते मात्र भाइटीका गर्ने निर्णय गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक १२ गते मङ्गलबार बिहान ११.५५ बजे तोकेको छ । यस कारण १२ गते नेवार समुदायले टीका लगाउँदैनन् र १३ गते अन्य समुदायले लगाउँदैनन् होला । त्यसैले दुवै दिन नै टीका लगाई दिने तयारीमा उनी छिन् । उनलाई यस काममा भतिजी प्रपन्न मास्केले सहयोग गर्दै आएको सुनाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७