‘दाङ्से बुर्हान’ नाटक मञ्चन


१२ कार्तिक २०७६, मंगलवार
natak burhaan 001

कञ्चनपुर, १२ कार्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा तिहारका अवसरमा सखिया नाच युवा क्लबको आयोजनामा ‘दाङ्से बुर्हान’ नामक नाटक मञ्चन गरिएको छ ।

थारू समुदाय थातथलो दाङबाट बुर्हान अर्थात् तराई बसाई सराई गर्नुपर्नाको कारण नाटकमा प्रस्तुत गरिएको छ । तीन दिनसम्म मञ्चन हुने उक्त नाटकमा स्थानीय थारू कलाकारहरुले अभिनय गरेका छन् ।

दाङमा जमिन्दारले जग्गा खोसेपछि कमाइखाने जग्गा र सुरक्षित बासस्थानका लागि तराई झर्नुपरेको र यस क्रममा पैदलयात्रा गरेर आउनु पर्दा धेरै समय लाग्दथ्यो । नाटका निर्देशक चन्द्रबहादुर चौधरीले भने, ‘चौपाया चराउँदै नदी खोलामा माछा मार्ने र जङ्गली जनावरको शिकार गर्दै तराई झरेको कुरालाई दर्शकमाझ नाटकमा देखाउन खोजेका छौं ।’

तराईको पानी भएको खोला नदी किनारामा थारू समुदायले बसोबास गर्न थाले । खोलाबाट माछा मार्ने, जङ्गली जनावरको शिकारले छाक टार्ने गर्दै आएकामा पछि खेतीपाती गर्दै बसोबास गर्न थालिएको कुरा नाटकमा देखाइएको छ ।

‘विगतमा तराईमा बसोवास गर्दा जङ्गली जनावरको आक्रमण झेल्न र बच्ने तरिका नजान्दा महामारीबाट थारू गाउँका गाउँ सखाप भएको कुरा पनि नाटकका माध्यमबाट समुदायलाई देखाउन थालेका छौं’, क्लबका सल्लाहकार विश्राम चौधरीले भने ।

यसै गरी दुई छाक टार्नकै लागि थारू समुदायका विपन्न परिवारले जमिन्दारको घरमा कमैया बस्नु पर्दाको दुःख र त्यसविरुद्ध गर्नुपरेको सङ्घर्ष समेत देखाइएको छ । वन विनासले गर्दा निम्त्याएको विपत्तिबारे समेत नाटकमा वर्णन गरिएको छ ।

युवा क्लबमा आवद्ध युवाले समाजलाई प्रेरणा दिने र जनचेतना फैलाउने किसिमका नाटकहरु तिहारका अवसरमा प्रत्येक वर्ष प्रदर्शन गर्दै आएका र यसबाट समाजलाई सकारात्मक बाटोमा डोर्‍याउन मद्दत पुग्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७