कुन दिशा फर्केर लगाई दिने भाइटीका ? कति रङ्गको टीका तयार गर्ने ?

भाइटीकाको शुभ साइत ११ः५५ बजे


१२ कार्तिक २०७६, मंगलवार
bhai tik spicel

काठमाडौं, १२ कार्तिक । यम पञ्चकको पाँचौं दिन आज भाइटीका । आजकै दिन घरमा नित्यकर्म गरी शास्त्रीय विधिअनुसार यम, यमुना र अष्ट चीरञ्जीवीको पूजा गरिन्छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको शुभ साइत ११ः५५ बजे छ । आज दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाई दिन्छन् । माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभको नाश गर्न कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाइन्छ ।

त्यसपछि तेलको धाराले परिक्रमा गराई सप्तरंगी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दुबो, सयपत्री आदिको माला लगाई मिष्ठान्न मसला आदि विभिन्न परिकार खुवाउने प्रचलन रहेको छ । यस दिन गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्रादिको पूजा पनि गरिन्छ ।

दाजुभाइले दिदीबहिनीलाई आफ्नो क्षमताअनुसार दक्षिणा, उपहार दिने प्रचलन छ । यमपञ्चकको पाँच दिनमा क्रमशः काग, कुकुर, गौ, लक्ष्मी गोवद्र्धन र भाइपूजा गरी पशुपक्षीलगायत सम्पूर्ण परिवारको दीर्घायु, आरोग्य, ऐश्वर्य, यश, कीर्ति, विजय आदिको कामना गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

हाम्रा पर्व संसारभरि फैलिएका छन् । सुमात्रादेखि हिन्द एसिया ब्रह्मदेश (बर्मा) देखि अजरबैजानको बाकुसम्म ज्योति र फूलैफूलको पर्व, रंगीबिरंगी सप्तरंगी पर्वको रूपमा मनाएर संसारभरि शान्ति, समृद्धि, उन्नति, आपसी, मैत्री करुणाको भावलाई फैलाइएको छ ।

भाइटीका लगाउने र लगाई दिने कता फर्किने ?
भाइटीका लगाउने र लगाई दिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेलका अनुसार टीका लगाउने व्यक्ति उत्तर फर्किनुपर्छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीका लगाउँदा टीका लगाउने व्यक्ति दक्षिण फर्किनुपर्ने भनेको थियो ।
कस्तो हुन्छ भाइटीकाको विधि ?

भाइटीका लगाउँदा केही विधिहरु पूरा गर्नुपर्ने हुन्छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा सबैभन्दा पहिले गर्नुपर्छ । त्यसपछि मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा गर्नुपर्छ ।

त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाई दिनुपर्छ । टीका लगाई दिइसकेपछि मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ । त्यसपछि सँघारमा ओखर फुटाउने चलन छ । ओखर फुटेजस्तै शत्रुहरु पनि टुक्रा टुक्रा भएर नास हुने विश्वास छ ।

सप्तरङ्गी होइन, पञ्चरङ्गी टीका
तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीका पञ्चरंगी हुनुपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ । भाइटीकामा रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँचवटा रंगको टीका लगाउने भनेर शास्त्रमा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७