ब्रिटिस सेनाका निर्मल पुर्जाले बनाए विश्व रेकर्ड, सात महिनामा १४ अग्ला हिमाल आरोहण


१३ कार्तिक २०७६, बुधबार
nirmal

काठमाडौं, १३ कार्तिक । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान रचेका छन् ।

ब्रिटिस सेनामा काम गरिसकेका निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सफल आरोहण गरेपछि यस्तो कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले झण्डै आठ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।

सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध ३६ वर्षीय निर्मल पुर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर (एमबीई) अवार्ड प्रदान गरेकी थिइन् । विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेका छन् । उनले गएको अप्रिलबाट आफ्नो यात्रा शुरु गरेका थिए ।

गएको अप्रिल २३ तारिखमा उनले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । उनले गएको मेमा नै सगरमाथा आरोहण गरेका थिए । प्रोजेक्ट पोसिबल अभियानअन्तर्गत रहेर सगरमाथा आरोहण गरेका पुर्जाले खिचेको तस्बिरले विश्वको ध्यान खिचेको थियो ।

nirmal 1

उनले खिचेको ‘सगरमाथामा आरोहीहरुको भिड’ भएको तस्बिर निकै चर्चित भएको थियो । त्यही तस्बिरका आधारमा विश्वका धेरै सञ्चार माध्यमले ‘सगरमाथामा ट्राफिक जाम’ भन्दै समाचार समेत लेखेका थिए । साथै उनले आरोहणकै क्रममा अरु ४ जना आरोहीहरुको पनि उद्धार गरेका थिए ।

नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि अक्टोबर १५ मा पुर्जाले ८ हजार १३ मिटर उचाइ रहेको शीशापाङ्मा हिमाल आरोहणको अनुमति पाएका थिए ।
यस्ता छन् निर्मल पुर्जाका हिमाल आरोहणको कीर्तिमान
अन्नपूर्ण, नेपाल, अप्रिल २३
धौलागिरी, नेपाल, मे १२
कञ्जनजङ्गा, नेपाल, मे १५
सगरमाथा, नेपाल, मे २०
लोत्से, नेपाल, मे २२
मकालु, नेपाल, मे २४
नाङ्गा पर्वत, पाकिस्तान, जुलाई ३
जी १, पाकिस्तान, जुलाई १५
जी २, पाकिस्तान, जुलाई १८
के २, पाकिस्तान, जुलाई २४
ब्रोड पिक, पाकिस्तान, जुलाई २६
चो यू, चीन, सेप्टेम्बर २३
मनास्लु, नेपाल, सेप्टेम्बर २७
शीशापाङ्मा, चीन, अक्टोबर २९

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७