सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार

बैतडी, १३ कार्तिक । नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी बैतडीकी एक सुत्केरीको ज्यान बचाएको छ ।
बैतडी सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउदको हेलिकप्टरमा उद्धार गरिएको हो । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो ।
प्रसूति सेवा केन्द्र लेकममा बच्चा जन्माएकी साउदको अत्यधिक रक्तस्राव भएपछि उद्धार गरिएको हो । उनलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन् ।
‘अत्यधिक रक्तस्राव भएको खबर पाएपछि हेलिकप्टरको व्यवस्था गरेका हौं’, उनले भने ।
सुत्केरीको साथमा रहेकी प्रसूति सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार साउदको अवस्था सामान्य रहेको छ ।