यात्राको कष्ट र दुःख भुलाई दिने नारच्याङ ताल


१३ कार्तिक २०७६, बुधबार
tal 4 0852019011923

म्याग्दी, १३ कार्तिक । अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरी हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । वरपर सुक्खा र उजाड पहाड छ ।

अन्नपूर्ण गाउँपालिका–४ अन्नपूर्ण आधार शिविरस्थित पञ्चकुण्ड नारच्याङ तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ताल ओझेलमा परेको नारच्याङका डिलबहादुर गर्बुजाले बताए ।

समुद्री सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकुण्ड नारच्याङ ताल करीब एक किलोमिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको वर्षौँ भए पनि यसको चर्चा खासै छैन ।

हालै अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका पोखराकी तानी थापाले तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाएको बताइन् । ‘ताल र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट बिर्सिएँ’, उनले भनिन्, ‘यहाँको प्राकृतिक सौन्दर्यको बारेमा वर्णन गरिसाध्य छैन ।’

भौगोलिक विकटताका कारण तालसम्म पुग्न व्यवस्थित पदमार्गको अभाव छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचार प्रसार हुनसकेको छैन । न्यून मात्रामा भक्तजन र पर्यटक पुग्ने गरेका नारच्याङका चन्द्रजित पुनले बताए । ‘यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल छन्’, उनले भने, ‘यो तालको धार्मिक महत्वका बारेमा धार्मिक ग्रन्थ पञ्चरामायणमा उल्लेख छ ।’

परापूर्वकालमा कागभुसिन्दा नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालको बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बा समेत निर्माण गरिएको छ ।

चन्द्रजित पुनले व्यक्तिगत लगानीमा सार्वजनिक शौचालय बनाएका छन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोजले पहिलो पटक आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग आठ वर्षअघि मात्र पहिचान भएको थियो । यसअघि मुस्ताङको ताउलुङ हुँदै पाँचदेखि सात दिन लगाएर भिर र जङ्गलको बाटोमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्नु पर्दथ्यो ।

यसअघि यहाँसम्म जाने पदमार्ग नहुँदा आधार शिविर र ताल गुमनाम थियो । निलगिरी हिमाल पनि नजिकै भएकाले यसअघि यसलाई निलगिरि ताल भन्ने गर्दथे । नारच्याङ गाउँदेखि तीन दिनको यात्रापछि आधार शिविर पुग्न सकिन्छ । आधार शिविर र तालको एकीकृत पर्यटन विकासका लागि स्थानीयवासीले पदमार्ग, झोलुङ्गे पुल र आश्रयस्थल निर्माणलाई तीव्रता दिएका छन् ।

पदमार्ग पर्यटक हिंड्नलाई अझै योग्य भइसकेको छैन । स्तरोन्नति गरेर पदमार्ग सञ्चालनको तयारी गरिएको छ । ताल परिसरमा भक्तजन तथा पर्यटकलाई लक्ष्य गरी १५ जना क्षमताको आश्रयस्थल बनाइएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । तालको गहिराइको मापन हुनसकेको छैन । तटबन्ध गरेर तालको गहिराइ तथा क्षेत्रफल बढाउने योजना रहेको नारच्याङका अगुवा सुवास विश्वकर्मा बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७