ज्ञानेन्द्र मल्ल बने राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान


१३ कार्तिक २०७६, बुधबार
ganendra malla

काठमाडौं, १३ कातिक । क्रिकेटर ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको नयाँ कप्तान छनोट भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मल्ललाई राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी दिएको हो । लामो समयदेखि क्रिकेट टिमको कप्तानी सम्हाल्दै आएका पारस खड्काको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तानमा मल्ललाई छनोट गरेको हो ।

क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । ‘कप्तानमा फर्किन हामीले गरेको आग्रह पारसले अस्वीकार गरेपछि उहाँको राजीनामा स्वीकृत गरेका छौं, अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएका छौं’, क्रिकेट संघका एक पदाधिकारीले सुनाए ।

पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । पारसको अनुपस्थितिमा उनले नै कप्तानीको भूमिका निभाएका थिए ।

यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिङ्गापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए । यू–१९ टिममा कप्तान रहिसकेका उनले फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेका छन् ।

क्रिकेट संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७