फोन गर्न अग्लो डाँडाको रुखको टुप्पोमा चढ्नुपर्ने बाध्यता


१४ कार्तिक २०७६, बिहीबार
phone

जाजरकोट, १४ कार्तिक । जाजरकोटसँग सीमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् ।

तीन घण्टा उकालो हिंडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘म जस्तै यहाँका सबै मानिस फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।’ त्यस्तै मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि सदरमुकामलगायत अन्य ठाउँमा फोन गर्नुपरेमा यही लेकमा पुग्ने गरेको बताउँछन् ।

दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले कोठाना डाँडामा पुग्नु बाध्यता भएको उनको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ । अग्लो हिमाल र अग्ला डाँडामा रहेको ठूला रुखको टुप्पोमा गएपछि त्रिपुराकोटमा रहेको टावरले सामान्य काम गर्ने भएकाले त्यहाँ गएर फोन गर्ने गरिएको नर्कुका सोमराज शाहीले बताए ।

फोन नहुँदा जहाँ पनि हिंडेर गई खबर गर्नुपर्दा निकै दुःख भोग्नुपरेको प्रहरी कार्यालय इलले जनाएको छ । जाजरकोटको सीमानासँग जोडिएको मुड्केचुला गाउँपालिका जुम्लाको सीमानासँग पनि जोडिएको छ । कठिन भूगोल रहेको यस क्षेत्रबाट सदरमुकाम जान दुई दिन लाग्ने गर्दछ ।

मुड्केचुला गाउँपालिकामा सामान्य कभरेज भएको नमस्तेको फोन दूरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि उक्त चिनियाँ कम्पनीले स्याटलाइट बन्द गर्दा मुड्केचुला गाउँपालिका र काइके गाउँपालिकामा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ । असोज २५ गते बन्द भएको नमस्तेको मोबाइल सेवा अझै सञ्चालन हुने कुनै छाँटकाँट देखिएको छैन ।

विगत लामो समयदेखि चिनियाँ स्याटलाइटमार्फत मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार प्राधिकरणले स्याटलाइट बन्द भएपछि सेवा दिन सकेको छैन । सञ्चार सेवा अवरुद्ध भएसँगै यहाँका करीब १५ हजार नागरिक सञ्चारविहीन भएका छन् ।

चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएका कारण बन्द भएको र अब केन्द्रीय कार्यालयको निर्णयानुसार नै सेवा सञ्चालन हुने दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले जानकारी दिए ।

मुड्केचुला गाउँपालिकामा जोड्नका लागि ल्याइएको नेपाल टेलिकमका सामग्रीहरु रुकुमको त्रिवेणीमा करीब दुई वर्षदेखि थन्किएका छन् । भारतीय कम्पनीले जाजरकोटलगायत डोल्पाका अधिकांश ठाउँमा नेपाल टेलिकम टावर निर्माणको जिम्मा लिए पनि काम नगर्दा समस्या हुँदै आएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । जति पटक ताकेता गरे पनि टावर निर्माण कम्पनीले नटेरेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७