मोबाइल अवरुद्ध, टावरको सामान बाटोमै अलपत्र


१५ कार्तिक २०७६, शुक्रबार
phone

डोल्पा, १५ कार्तिक । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ । दुर्गमको पीडा भुलाउने एक मात्र माध्यम फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन् ।

फोनमा कुरा गर्न अग्ला डाँडापाखा रुखमा चढेर सूचना आदानप्रदान गर्नुपर्ने बाध्यता छ । यहाँका नागरिक घण्टाँं उकालो बीच जङ्गलबाट छिकेकी स्थानीय तह जगदुल्लाको टावर मोबाइलमा सिग्नल खोज्ने गर्छन् ।

मोबाइल घुमाउँदै जाँदा जहाँनेर नेटवर्क टिप्छ त्यहाँबाट बल्लबल्ल सूचना आदानप्रदान गर्ने गर्छन् मुड्केचुलाका स्थानीय । चिनियाँ कम्पनी डिस्याटले सम्झौता अवधि सकिएको भन्दै स्याटलाइट बन्द गरिदिएपछि मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको हो ।

टावरको सामान बाटोमै अलपत्र
गाउँपालिकामा टावर निर्माण गर्ने भनेर ल्याएको सामानबीच बाटोमै अलपत्र परेको छ । मोबाइल टावरका विभिन्न सामग्री रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारमा अलपत्र फालिएको छ । सामान खिया लाग्न थाले पनि त्यहाँबाट उठाउन कसैको ध्यान गएको छैन ।

टावरको सामग्री ढुवानीको जिम्मा भारतीय आयस्था कम्पनीले जिम्मा पाए पनि समयमै सामान ढुवानी नगर्दा बाटोमै अलपत्र परेको मुड्केचुला गाउँपालिकाले जनाएको छ । दुई वर्षदेखि बीचबाटोमै सामान अलपत्र पर्दा गाउँपालिका सञ्चारविहीन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र ठकुल्लाले जानकारी दिए ।

उनका अनुसार आयस्था कम्पनीले स्थानीय सरकारसँग सहकार्य नगरेको र बारम्बार ताकेता गर्दा पनी बेवास्ता गरेकाले अब उक्त कम्पनीसँग स्थानीय सरकारले ठेक्का तोड्ने बताए ।

मुड्केचुलावासीले टेलिफोन टावर नहुँदा भोग्नुपरेको समस्या चाँडै हल हुने गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए । मुड्केचुलावासीले सञ्चार सास्ती खेप्नुपरेको बताउँदै छिट्टै ठेकेदारको खोजी गरेर टावर निर्माणमा लागिपर्ने प्रदेशसभा सांसद वीरबहादुर शाहीले प्रतिबद्धता जनाए ।

‘मोबाइल टावर नभएकै कारण एक ठाउँबाट अर्को ठाउँमा सूचना आदानप्रदान गर्न मान्छे कुदाउनुपर्ने अवस्था छ, जति अग्ला डाँडाकाँडा र रुख चढे पनि राम्रोसँग फोनले काम गर्दैन्’, पूर्णबहादुर शाहीले गुनासो गरे ।

सिङ्गो गाउँपालिका नै सञ्चारविहीन हुँदा समेत स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकाले केही गर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे । गाउँपालिकाले अन्य विकासभन्दा सञ्चार सेवाको विकासमा जोड दिन स्थानीयले आग्रह गरेका छन् । फोन सम्पर्क नभएरै बिरामी कुनै अप्रिय घटना घटिहालेमा मृत्यु कुर्न बाहेकको अरु कुनै विकल्प नभएको स्थानीय बमबहादुर बुढाले दुखेसो पोखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७