प्रधानमन्त्रीका एडिसी जुवाखालबाट पक्राउ


१६ कार्तिक २०७६, शनिबार
adc

काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन्  ।

नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा छन् ।

उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए । उनीहरू म्यारिज खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीको सुरक्षामा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) को नेतृत्वमा सैनिक टोली खटिएको हुन्छ । मेजर शाही शुक्रबार बिदामा थिए । बिदाको वेला उनी सधैंजसो जुवा खेल्ने गरेको अनुसन्धानमा खुलेको छ । शाहीलाई सैनिक प्रहरीलाई बुझाउने प्रहरी तयारी छ ।

कर्तव्य ज्यान, लागुऔषधलगायत केही गम्भीर किसिमका अपराध बाहेक अन्य अपराधमा संलग्न सैनिकलाई सेनाले नै आन्तरिक कारबाही तथा कैद सजाय गर्ने कानुनी व्यवस्था छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७