एसिड प्रहार गर्नेलाई ६ वर्षपछि आफ्नै अगाडि देखेपछि…


१६ कार्तिक २०७६, शनिबार
asid

हेटौंडा, १६ कार्तिक । विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवतीको अनुहारमा एसिड प्रहार गरी फरार रहेका भारतीय नागरिक दिलीपराज केशरीलाई प्रहरीले साढे ६ वर्षपछि पक्राउ गरेको छ । ९ वैशाख ०७० वैशाखमा हेटौँडा २ निवासी विन्ध्यवासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरी केशरी फरार भएका थिए ।

बारा प्रहरीले बिहीबार पक्राउ गरेका उनलाई शुक्रबार मकवानपुर प्रहरीसमक्ष बुझाएको थियो । मकवानपुर प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी किशोरीलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक सागरशमशेर जबराको कमान्डमा खटिएको प्रहरी टोलीले भारत महाराजगन्ज अमरपर्वन–६ निवासी केशरीलाई बाराको जितपुर–सिमरा उपमहानगरपालिका २३ भलोहीबाट पक्राउ गरेको हो । भलोहीमा लुकीछुपी बसिरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन भएको थियो ।

प्रहरीका अनुसार एसिड प्रहार हुँदा कंसाकार २० वर्षकी थिइन् । उनलाई तत्कालीन हेटौंडा नगरपालिका–२ मा रहेको पिपलबोट नजिकै रहेको आफ्नै पसल बसिरहेका वेला केशरीले कंसाकारमाथि एसिड प्रहार गरेका थिए । त्यसअघि केशरीले कंसाकारलाई पटक–पटक विवाहको प्रस्ताव राखेका थिए । तर, कंसाकारले अस्वीकार गर्दै आएकी थिइन् ।

परिवारले माग्यो क्षतिपूर्ति
एसिड प्रहारपछि उपचारमा लाखौँ खर्च भएको भन्दै पीडित परिवारले क्षतिपूर्तिको माग गरेको छ । आरोपी पक्राउ भएपछि क्षतिपूर्ति पनि दिनुपर्ने परिवारले प्रहरीसँग माग गरेको हो । कंसाकारको उपचारका लागि ८० लाख खर्च भएको तर, सरकारको तर्फबाट कुनै सहयोग नपाएको परिवारको गुनासो छ ।

asid

‘फाँसी वा जन्मकैदको सजाय होस्’
एसिडपीडित विन्ध्यवासिनी
पत्रकार सम्मेलनमा प्रहरीले एसिडपीडित विन्ध्यवासिनी कंसाकारलाई पनि उपस्थित गराएको थियो । त्यसक्रममा उनले आफ्नो अनुहारमा एसिड प्रहार गर्ने केशरीलाई फाँसी वा जन्मकैदको माग गरिन् ।

‘केशरीलाई फाँसी वा जन्मकैद भए मात्र आफूले न्याय पाएको अनुभूति हुनेछ,’ उनले भनिन् । आफूलाई जस्तै धेरै युवतीमाथि एसिड प्रहार भइरहेको भन्दै त्यस्ता सबै अपराधीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताइन् ।

‘मैले साढे ६ वर्षदेखि न्यायको लडाइँ लडेकी छु,’ उनले भनिन्, ‘मजस्तै धेरै युवती लडिरहेका छन् । उनीहरूले पनि छिट्टै न्याय पाउनुपर्छ ।’ उनले आफूमाथि एसिड प्रहार गर्नेलाई ६ वर्षपछि आफ्नै अगाडि देख्दा आक्रोशले झम्टिन खोजेकी थिइन् । तर सुरक्षाकर्मीहरुले उनलाई रोकेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७