उपनिर्वाचन : उम्मेद्वार टुङ्गो लगाउन नेकपा सचिवालय बैठक बस्दै


१६ कार्तिक २०७६, शनिबार
nekapa meeting

काठमाडौं, १६ कार्तिक । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेद्वार टुङ्गो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शनिबार) सचिवालयको बैठक बस्ने भएको छ ।

मंसिर १४ मा हुने उपनिर्वाचनका उम्मेद्वारको टुङ्गो लगाउन बिहान १० बजे सचिवालयको बैठक बोलाइएको नेकपा स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवासमा बस्ने सचिवालय बैठकले जिल्लाबाट आएका नामबाट उम्मेद्वार टुङ्गो लगाउने बताइएको छ ।

पार्टी केन्द्रले तीन जनाको नाम सिफारिस गर्न जिल्ला कमिटीहरूलाई निर्देशन दिएको थियो । कतिपय स्थानबाट तीन जना भन्दा बढी व्यक्तिको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा सदस्य रिक्त रहेको कास्की–२ बाट तीन जनाको नाम केन्द्रमा पठाइएको छ ।

जिल्ला कमिटीले विद्या भट्टराइको नाम सर्वसहमतिमा गरी केन्द्रमा पठाएको थियो । प्रदेश कमिटीले सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङको नाम थपेको थियो । बागलुङमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेद्वारलाई सहयोग गर्ने भएको छ । गत निर्वाचनमा जनमोर्चाका उम्मेद्वार टेकबहादुर घर्ति नेकपाको सहयोगमा निर्वाचित भएका थिए ।

भक्तपुर १ ‘क’ मा जिल्ला कमिटीले केन्द्रको निर्देशन विपरीत ६ जनाको नाम केन्द्रमा पठाएको छ । दाङ– ३ (ख) मा उत्तरकुमार वलीकी श्रीमती विमला वलीलाई टिकट दिने सम्भावना रहेको बताइएको छ । धरान उपमहानगरको मेयर पदमा प्रकाश राई, चोत्लुङ् लिम्बू, वेणु काफ्लेको नाम सिफारिस गरिएको छ ।

यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्षका लागि निर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

मंसिर १४ गते ५३ स्थानमा उपनिर्वाचन हुँदैछ । एक प्रतिनिधिसभा, तीन प्रदेशसभा, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ४३ वडाध्यक्षको लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७