नौं बुँदे समझदारीले नेपाल-म्यान्मा साँस्कृतिक सम्बन्ध अझै झाँगिने विश्वास

फाइल फोटो

काठमाडौं, १६ कार्तिक । नेपाल र म्यान्माले दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्न संस्कृति र कलाका क्षेत्रमा आपसी सहयोगलाई प्रवर्धन गर्ने उद्देश्य राखेका छन् ।

दुई देशको सांस्कृतिक सम्बन्ध र सहयोगलाई विकास गर्न र बढावा दिनका लागि गरिएको नौ बुँदे समझदारीमा संस्कृति र कलाका लागि मानव संसाधन विकासलाई प्रवर्धन गरिने, दुवै देशको आपसी समझदारीलाई प्रवद्र्धन गरिने तथा जनतालाई सहयोग गरिने, ऐतिहासिक, कलात्मक तथा सांस्कृतिक सम्पदाको संरक्षणका क्षेत्रमा आपसी सहयोगको सम्बन्धलाई विकास गरिने, सरकारी अधिकृत तथा सर्वसाधारणलाई एकार्काे देशमा भ्रमणका लागि प्रोत्साहत गरिने तथा संस्कृति क्षेत्रमा प्राप्त अनुभवलाई प्रवर्धन गरिने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको गत असोज २९ देखि यही कात्तिक ३ गतेसम्म म्यान्मामा भएको राजकीय भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र म्यान्माका स्टेट काउन्सिलरको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्माका सङ्घीय धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा उ आले असोज ३० गते पाँच वर्षका लागि सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा करीब ४० वर्षपछि नेपाली राष्ट्राध्यक्षको म्यान्मामा राजकीय भ्रमण भएको थियो ।

राजधानी नेपितस्थित प्रिसिडेन्सियल प्यालेसमा आदानप्रदान भएको समझदारीपत्रमा अनुसन्धान र विकास, शिक्षा र तालीम, सांस्कृतिक तथा कला प्रवद्र्धन एवं संवाद, सांस्कृतिक तथा सम्पदा व्यवस्थापन, सांस्कृतिक आदानप्रदान तथा भ्रमण आदि सहयोगका क्षेत्र तोकिएका छन् ।

नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र म्यान्माको धार्मिक मन्त्रालयले यी काम गर्ने छन् । सरकारी सांस्कृतिक प्रतिनिधिमण्डल वर्षमा एकपल्ट ननघाई एकअर्काे मुलुकमा एक हप्ता बस्ने गरी पाँचदेखि सात जनासम्मको हुन सक्ने छ ।

विज्ञान, कला, साहित्य, आनुवंशिक स्रोत, परम्परागत ज्ञान र लोकसाहित्यका क्षेत्रमा प्राप्त परिणामको संयुक्त प्रतिलिपिअधिकार हुन सक्ने सम्झौता पनि दुवै पक्षले गरेका छन् ।

भ्रमणका अवसरमा दुवै देशबीच पर्यटनको विकासका लागि पनि अर्काे छुट्टै समझदारी गरिएको थियो । पाँच वर्षे सो समझदारीपत्रमा पर्यटन प्रवर्धनका लागि दुवै देशका जनतालाई एकअर्काे देशमा भ्रमणका लागि आवश्यक विधिमा सरलता ल्याइने जनाइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली र म्यान्माका सङ्घीय अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तिनले हस्ताक्षर गरेको सो समझदारीपत्रमा पर्यटन क्षेत्रमा एकार्काका विशेषज्ञता र सूचना आदानप्रदान गरिने, एक अर्काे देशका बढीभन्दा बढी पर्यटक आफ्ना मुलुकमा भित्र्याउनका लागि टुर कम्पनी तथा अपरेटरलाई प्रोत्साहन गरिने, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाको प्रचारप्रसारमा सहयोग गरिने पर्यटन व्यवसायको सङ्गठन, व्यवस्थापन र सञ्चालनका लागि विशेषज्ञताको आदानप्रदान गर्न प्रोत्साहन गरिने तथा पर्यटन कर्मचारीहरुलाई तालीम दिन सहयोग गरिने उल्लेख छ ।
नेपाल भ्रमण गर्न आह्वान
राजधानी नेपित भ्रमणका अवसरमा नेपाली प्रतिनिधिमण्डलले पुराना पत्थर तथा रत्नहरुको सङ्ग्रहालय तथा त्यहाँको मौलिक कठपुतली नाचसहितको सांस्कृतिक प्रस्तुति अवलोकन गरेको थियो । त्यस्तै पिन ओ लिन शहरमा दुर्गा मन्दिर र नेशनल कान्दगी पार्क (वनस्पति उद्यान) भ्रमण गरिएको थियो जसमा नेपालको पुतलीसहित रहेको भनिएको आकर्षक पुतली सङ्ग्रहालय पनि रहेको छ ।

प्रवासी नेपालीहरुद्वारा सञ्चालित दुर्गा मन्दिर नेपालीहरुले सन् १९६१ (विसं २०१८तिर) देखि सञ्चालन गरेका हुन् । मन्दिरमा राष्ट्रपतिलाई नेपाली मूलका म्यान्माली पुजारी जगन्नाथ गौतम र खडानन्द खनालले स्वागत गरी पूजाआजा गराएका थिए । उनले त्यहाँस्थित पञ्चमुखी शिवको पनि दर्शन गरी पूजाआजा गरेका थिए ।

सो मन्दिरमा रहेको शिवको मूर्ति तत्कालीन राजा महेन्द्र र पशुपतिनाथको प्रतिमा राजा वीरेन्द्रले आआफ्ना म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम पाण्डेले बताए ।

नेपाली मूलका म्यान्मालीको संस्था अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घले पिन ऊ लिन शहरमा राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डललाई स्वागत गरेको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न र भ्रमण वर्षबारे म्यान्मामा व्यापक प्रचारप्रसार गर्न म्यान्मामा रहेका नेपाली मूलका बर्मेलीलाई आग्रह गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सर्वोच्च शिखर सगरमाथाको प्रचारप्रसार गर्न आह्वान गरेका थिए ।

म्यान्मामा रहेका प्रवासी नेपालीले नेपाली भाषा, संस्कृति र वेशभूषाको संरक्षण गरेकामा र म्यान्मासँगको नेपालको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले म्यान्मासँग नेपालको व्यापार, लगानी, पर्यटन र संस्कृति विषयको प्रवर्धन गर्न म्यान्माली नेपालीभाषीलाई आग्रह गरिन् ।

उनले आफ्ना पूर्वज जस्तै उद्यमी र परिश्रमी बन्न उनीहरुलाई आग्रह गर्दै भनेकी थिइन्, ‘दुई देशबीच सम्बन्ध प्रगाढ बनाउनका लागि भूमिका खेल्नुहोस् , नेपाललाई मनमा राखी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुहोेस् ।’

सो अवसरमा म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले भारतीय नेपालीपछि म्यान्माली नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिको बढी संरक्षण गरेको बताए । उनले विश्वयुद्धमा करीब ३०० नेपालीले म्यान्मामा वीरत्व प्राप्त गरेको र शुभबहादुर राईलगायतले बेलायतको भिसीसरह पदक प्राप्त गरेको बताउँदै शहादतप्राप्त नेपालीको सम्मानमा राजदूतावासको आयोजनामा वर्षेनी श्रद्धाञ्जलि कार्यक्रम राख्ने गरिएको जानकारी दिएका थिए ।

धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेले करीब डेढ लाख नेपालीभाषीले म्यान्मामा आनन्द र शान्तिपूर्वक जीवनयापन गरिरहेको बताउँदै आफूहरुले २५० पाठशाला चलाई आफ्ना छोराछोरीलाई नेपाली भाषा साहित्यबारे अध्यापन गरिरहेको जानकारी दिएका थिए । उनले सन् २०२०मा नेपाल भ्रमण वर्ष सफल पार्न सङ्घले नेपाल भ्रमण अभियान चलाउने भएको पनि बताए ।

सङ्घका संरक्षक मणिलाल पौडेलले राष्ट्रपतिको म्यान्मा भ्रमणका क्रममा नेपालीभाषीहरुसँग भएको भेटले आफूहरु निकै भाग्यमानी भएको बताउँदै नेपालीहरु सधैँ मिलेर बसून् भन्ने कामना गरे । उनले भने, ‘हामीहरुलाई आज नेपाल माताको दर्शन गरेसरह नै भएको छ, हामी नेपाल आमाको काखमा नै छौँ भन्ने अनुभूति भएको छ ।’

उनले नेपाल भ्रमण गर्दा म्यान्मालीलाई प्रवेशाज्ञा निः शुल्क गरियोस् भन्ने माग पनि गरे । पिन ऊ लिनमा करीब १५ हजार नेपाली रुवी (मणि), दुग्ध, खनिज, फोटो तथा खेतीबारी आदि व्यवसाय गरेर बसेका छन् । यहाँ नेपालीहरुले दशैँ, तिहार, तीज आदि चाडपर्व मनाउने गरेका छन् ।

प्रतिनिधिमण्डलले म्यान्माको प्रसिद्ध बगान शहर र त्यहाँको आनन्द टेम्पल तथा इँटाबाट निर्मित थुप्रै चैत्यको पनि अवलोकन गरेको थियो । माण्डले क्षेत्रमा रहेको १०४ वर्ग किमीमा फैलिएको प्राचीन बगान शहरमा थुप्रै बौद्ध मन्दिर, गुम्बा तथा विहार छन् जुन शहर युनेस्कोको विश्व सम्पदा सूचीमा राखिएको छ ।

नवौंदेखि १३ औं शताब्दीसम्म यो बगान अधिराज्यको राजधानी रहेको थियो । बगानले नै विभिन्न इलाकाहरु जिती पछि आधुनिक म्यान्मा निर्माण गरेको हो । हरियालीपूर्ण बगानमा ११ औंदेखि १३ औं शताब्दीसम्म चार हजार ४४६ बौद्ध मन्दिर, चैत्य र गुम्बा बनेकामा तीन हजार ८२२ अझै रहेका छन् । धेरै पटकको भूकम्पबाट क्षतिग्रस्त भए पनि समय समयमा पुनर्निर्माण भएका छन् र ती अन्तर्राष्ट्रिय पर्यटकको आकर्षक बनेका छन् ।

त्यहाँको आनन्द मन्दिरमा बुद्धका विशाल चार धातुका मूर्ति राखिएको छ जसको पुनर्निर्माण चीनबाट भइरहेको जनाइएको छ । म्यान्माका राष्ट्रपति मिन्तले असोज ३० गते नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको राजकीय भोजमा पनि बगान र यङ्गोनको श्वेदागोन चैत्यको भ्रमणबाट नेपाल र म्यान्माका बौद्ध तीर्थस्थललाई जोड्न नयाँ विचार आउन सक्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिनिधिमण्डलले यङ्गोनास्थित बोग्योक आङ सन सङ्ग्रहालयको अवलोकन गरेको थियो । म्यान्माका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको सङ्ग्रहालयमा उनका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरु राखिएका छन् । आधुनिक म्यान्माका राष्ट्रपिता तथा स्वतन्त्रता सेनानी सन म्यान्माका वर्तमान स्टेट काउन्सिलर आङ सान सु चीका पिता हुन् ।

भ्रमण दलले धम्मरक्षित हिलस्थित महाविजय चैत्यको पनि अवलोकन गरेको थियो । सबै जनताको चन्दाबाट निर्मित चैत्यमा गौतमबुद्धका आठ मुद्राका मूर्ति छन् जहाँ तत्कालीन राजा वीरेन्द्रले आफ्नो विसं २०३६ को म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको सानो बुद्धको मूर्ति (नगसिभारा पतपतिमा) पनि राखिएको छ ।
३० मुद्राका बुद्ध मूर्ति
भ्रमणकै क्रममा यङ्गोनस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान ग¥यो । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति भण्डारी, परराष्ट्रमन्त्री ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गरेका थिए ।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त (म्यान्मा) को योगदान भुल्न नसकिने बताउँदै ती मूर्ति नेपाल म्यान्मा दिगो सम्बन्धको प्रतीक भएको स्पष्ट गरे । बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त अझै सान्दर्भिक भएको बताउँदै उनले नेपाल भ्रमण वर्षमा नेपाल र खासगरी लुम्बिनी आउन म्यान्मालीलाई आग्रह गरे ।

म्यान्माका धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा आङ कोले बुद्धका मूर्ति नेपाल म्यान्मा सम्बन्धका प्रतीक हुने बताए । प्रतिष्ठानका संस्थापक भिक्षु सायदले बुद्धले बुद्धत्व प्राप्त गरेपछि विभिन्न ठाउँमा बौद्ध धर्मको प्रचारप्रसारका लागि बुद्ध जान नसकेका स्थानहरुमा बुद्धका मूर्ति लगिएको र ती मूर्तिका प्रतिकृति फिर्ता गरी पुनः नेपाललाई दिने काम भएको जानकारी दिए । कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यले बुद्धका ती मूर्ति लुम्बिनीस्थित सङ्ग्रहालयमा संरक्षण गरी राखिने प्रतिबद्धता व्यक्त गरे ।
पूर्वीय दर्शनबाट एशियाको विकास गर्न जोड
म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित ‘म्यान्मा नेपाल मैत्री र व्यवसायका अवसर’ विषयको विचार गोष्ठीमा परराष्ट्रमन्त्री ज्ञवालीले एशियाका मुलुकहरुले पूर्वीय दर्शनका मूल्यमान्यतामा आधारित रहेर मिलेर काम गरी पूरै एशियाको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताइन् ।

उनले म्यान्मा र नेपालले तिनीहरुले संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन, जी ७७ जस्ता सङ्गठन र समूहमा रहेर समसामयिक विश्वको चुनौतीको सामना गरी न्यायपूर्ण, निष्पक्ष र विधिमा आधारित अन्तर्राष्ट्रिय विश्व प्रणालीको सुनिश्चिता गर्नुपर्नेमा जोड दिइन् ।

उनले एकै वर्षमा व्यापार, लगानी, पर्यटन र संस्कृतिका क्षेत्रमा भएको समझदारीले दुवै देशको आर्थिक एवं सांस्कृतिक सम्बन्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् । उनले म्यान्माले लुम्बिनीमा बनाएको चैत्य बौद्ध तीर्थयात्राका लागि महत्वपूर्ण आकर्षण बनेको बताउँदै लुम्बिनीका लागि राष्ट्र सङ्घका महासचिव ऊ थान्त(म्यान्मा) ले अन्तर्राष्ट्रिय सहयोग जुटाउन गरेको कामको सराहना गरिन् ।

नेपाल र म्यान्मा दुवै विकासोन्मुख मुलुक भएको र दुवैमा गरी करीब आठ करोड जनसंख्या रहेको बताउँदै उनले दुवै राष्ट्र ठूलो बजार हुन सक्ने औंल्याइन् । नेपालका आर्थिक तथा व्यावसायिक नीतिहरु उदार रहेको र प्रवेशाज्ञा प्रणाली पनि सरल भएकाले म्यान्माका उद्योगी व्यवसायीलाई म्यान्मामा लगानी गर्न आग्रह गरिन् ।

नेपालले प्रायः सबै क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि ढोका खुला राखेको बताउँदै उनले विकासोन्मुख मुलुक भएकाले केही अन्तर्राष्ट्रिय बजारमा केही विशेष सुविधा पाइएको पनि जानकारी दिइन् । सहभागीको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीको कर समस्या समाधान गर्न संयन्त्र निर्माण गर्ने, प्रवेशाज्ञा प्रणालीलाई सरल बनाउने र गौतम बुद्ध विमानस्थल छिटो निर्माण गरी म्यान्मा नेपाल हवाइ उडान मिलाउन सकिने बताए ।

सो अवसरमा उ थान्तका नाति डा थान मिन्तले दुवै देशका सम्पदा र संस्कृति संरक्षण गर्न मिलेर काम गर्न सकिने बताउँदै नेपाल म्यान्मा सीधा हवाई उडान गर्नुपर्नेमा पनि जोड दिए । उनले विद्यालयहरुमा इतिहास विषय अध्ययनअध्यापन हुनुपर्ने र अन्य धेरै क्षेत्रमा आदानप्रदान गर्नुुपर्ने पनि बताए ।
श्वेदागोन चैत्य म्यान्माको मुख्य आकर्षण
राष्ट्रपति भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले यङ्गोनस्थित श्वेगादोन चैत्य क्षेत्रको अवलोकन ग¥यो । दुई हजार पाँच सय वर्ष पुरानो सो चैत्य क्षेत्रमा राष्ट्रपति भण्डारीले बुद्धपूजा पनि गरिन् । सुनौला चैत्य, गुम्बा र विहारहरु रहेको सो पेगोडामा बुद्धका केश रहेको बताइन्छ ।

एक सय पाँच मिटर अग्लो स्तूपको माथिल्लो टुप्पा चार हजारभन्दा बढी हीरा जडित छ जसमा सबभन्दा ठूलो ७२ क्यारेटको छ । वास्तुकला, मूर्तिकला र कलामा अद्भुत मानिने सो चैत्य क्षेत्र भ्रमण नगरी म्यान्मा भ्रमण पूरा भएको मानिँदैन ।

सोही पेगोडामा लुम्बिनी विकास कोषले आयोजना गरेको ३५ चित्र तथा उत्खननबाट भेटिएको बुद्ध महाभिनिष्क्रमणको मूर्तिको प्रतिकृति पनि राखिएको चित्रकला प्रदर्शनीको पनिराष्ट्रपति भण्डारीले उद्घाटन गरेकी थिइन् ।

प्रदर्शनीमा लुम्बिनी, कपिलवस्तु र रामग्रामसँग सम्बन्धित चित्र राखिएका थिए । कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले वर्षेनी २५ हजार म्यान्मालीले शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने बताउँदै नेपाल भ्रमण वर्षमा नेपाल खासगरी लुम्बिनी भ्रमण गर्न म्यान्मालीलाई आग्रह गरिन् । उनले युनेस्को, दुरहाम विश्वविद्यालय र पुरातत्व विभागबाट लुम्बिनी र कपिलवस्तुको उत्खनन भइरहेको जानकारी दिइन् ।

म्यान्मा बुद्धले प्रवद्र्धन गरेको विपश्यना ध्यानको भूमि पनि मानिन्छ जहाँ नेपालका धम्मवती गुरुमाँ, अश्वघोषलगायतले बौद्धदर्शनलाई अझ प्रवर्धन गरेका थिए । प्रजातन्त्रवादी नेतृ सु ची धम्मावती गुरुमाँकै शिष्या हुन् । ४० वर्षपछि नेपालको राष्ट्राध्यक्ष तहको म्यान्मा भ्रमणले दुई देशबीचको ऐतिहासिक, कूटनीतिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई नवीकरण गर्नाका साथै आगामी दिनमा पर्यटन तथा संस्कृतिका माध्यमबाट दुवै देश अझ नजीकिने विश्वास गर्न सकिन्छ ।

राष्ट्रपति भण्डारीले म्यान्माली राष्ट्रपति मिन्तले आयोजना गरेको राजकीय भोजमा प्रत्युत्तर सम्बोधन गर्दै बुद्धका अनन्य उपदेशले दुवै देशका जनताको जीवनपद्धतिलाई मार्गदर्शन गरेको बताउँदै विकासका लक्ष्य प्राप्तिका लागि दुई देशबीच असल अभ्यासको आदानप्रदान हुनुपर्नेमा जोड दिनुले पनि दुई मुलुकबीच आउँदा दिनमा अझै सहकार्य हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्